दोब्बर उत्पादन हुन्छ भन्दै दात्री निकायले धानको बीउ बाँड्दा बैतडी, बझाङ, डोटी र दार्चुलाका किसान खुसी र उत्साही थिए । तर, त्यो धानले बालै नलाउँदा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् ।
डडेलधुरा/बैतडी-, कार्तिक ७ - दोब्बर उब्जाउ हुने भन्दै वितरित 'उन्नत जात' का धानको बीउबाट लगाइएको बालीमा बाला नलागेपछि सुदूरपश्चिमका पहाडी जिल्लाका किसानको बिल्लीबाठ भएको छ । खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले दातामार्फत हजारौं रोपनीमा बीउ बाँडेको थियो ।
खाद्य संकट रहेका बैतडी, बझाङ, डोटी र दार्चुलाका ७२ भन्दा बढी गाविसमा राष्ट्रसंघअन्तर्गत खाद्य तथा कृषि संगठन -एफएओ) ले जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी सावित्री र राधाटार धानको बीउ बाँडेको थियो ।
बैतडीका खाद्य संकट भएका ३७ गाविसका २५ हजार किसानलाई बाँडिएको एक करोड बीस लाखभन्दा बढी मूल्यको सावित्री जातको बीउबाट उमि्रएको धानको बोट घाँसका रूपमा प्रयोग गर्न किसान बाध्य भएका छन् । पाटन गाविसका अगुवा किसान रामबहादुर चन्दले २० रोपनीमा लगाएको सावित्री जातको बीउबाट एक किलो पनि धान नफलेको बताए । 'बीउ बाँड्ने बेलामा दोब्बर उब्जनी हुन्छ भन्ने कृषि विकासका कर्मचारीले गुनासो समेत सुनिदिएनन्,' चन्दले दुखेसो व्यक्त गरे ।
सिलंगा गाविस थलकुडाका अगुवा किसान जयदेव पन्तले पनि १२ एक रोपनी जग्गामा लगाएको सावित्री धान फल्दै नफलेको
बताए । दात्री निकायले कृषि विकास कार्यालयको गल्ती देखाएको छ भने कृषि विकासले भने दाताले सिफारिस बिना बाँडेको आरोप लगाएको छ ।
बैतडी कटौजपानीका कृषक हीरा महराले १२ रोपनी खेतमा लगाएको धान पल्दैफलेन ।
'बीउ दिए तर त्यसपछि फर्केर कोही आएनन्,' उनले गुनासो गरे, 'धान रोपिसकेपछि एक दिन पनि सम्बन्धित निकायले अनुगमन नगर्दा दोब्बर फल्ने दाबी गरिएको धानले भोकमरी निम्त्यायो ।' उन्नत जातको दोब्बर धान फल्ने बीउ बताएपछि किसानले एफएओले बाँडेको सावित्री जातको बीउ खोजी-खोजी लगाए पनि कसैको धान नफलेको उनले बताए ।
बैतडीको पुर्चौडी क्षेत्रका १२, तल्लो स्वराड क्षेत्रका १० र सदरमुकाम क्षेत्रका १५ गाविस गरी धान फल्ने ११ हजार ५ सय हेक्टर जमिनमा लगाएको धानको बोट मात्र भयो, बाला लाग्दै लागेनन् ।
'आकस्मिक खाद्य सुरक्षाका नाममा जथाभावी बीउ बाँडिएको परिणाम हो यो,' जिल्ला कृषि विकास कार्यालय बैतडीका वरिष्ठ अधिकृत रामलखन मण्डलले भने, 'हामीले त खुमल चार वितरण गर्न सिफारिस गरेको हो तर जीटीजेड र एफएओले पाँच सय मिटर उचाइमा तराईमा फल्ने धानको बीउ वितरण गरे ।' उनले पटक-पटक दात्री निकायसँग आग्रह गर्दासमेत बेवास्ता गरिएको गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी मुरारिप्रसाद शर्माले गम्भीर त्रुटिका विषयमा खाद्य सुरक्षा समितिको बैठकपछि मात्र केही भन्न सकिने बताए । 'धान नफलेका कारण सम्भावित खाद्य समस्याबारे रिपोर्ट आएको छ,' उनले भने, 'यति ठूलो मात्रामा जथाभावी धानको बीउ बाँडिएको जानकारी थिएन ।'
बझाङमा पनि बैतडीकै हाल छ । संकटग्रस्त दसवटा गाविसमा बाँडिएको राधाटार धानको बीउबाट किसानले प्रतिफल पाएनन् । 'यसै पनि खाद्य समस्या थियो,' बझाङ भैरवकोट गाविसमा बस्ने अधिवक्ता नरेन्द्र रोकायाले भने, 'तराईमा फल्ने धानको बीउ उच्च पहाडी भेकमा बाँड्दा किसानको बिचल्ली भयो ।' ३२ देखि ४० डिग्री तापक्रम हुने ठाउँमा फल्ने धानको बीउ पहाडमा ल्याएर बाँडिएको गुनासो उनले गरे । पिखेत गाउँका किसान नरबहादुर रोकाले उक्त कार्यक्रमले दिएको मकैको बीउ पनि नफलेको बताए । सात रोपनी खेतमा राधाटार धान लगाएका रोकाले एक किलो उत्पादन पाएनन् । कृषि विकास बझाङका प्राविधिक सहायक कुम्भराज जोशीले दात्री निकायलाई उच्च भागमा उक्त बीउ बाँड्न नदिएको बताए । 'हिमाली भेकमा पनि त्यही धानको बीउ बाँड्ने तयारी थियो, कार्यालयले रोकेको हो,' उनले भने ।
मण्डलका अनुसार हिउँदेबाली गहुँको बीउ वितरणमा पनि गम्भीर त्रुटि भएको छ । कार्यालयले डब्लू १२०४ र अन्नपूर्ण जातको गहुँको बीउ वितरण गर्न सिफारिस गरे पनि एफएओले गौतम जातको पाँच सय मिटर उचाइमा फल्ने बीउ वितरण गरिरहेको छ ।
दार्चुलामा भने केही गाविसमा धान फलेको छ, केही गाविसमा बैतडीकै नियति छ । दार्चुलाका वरिष्ठ कृषि विकास अधिकारी राजेन्द्र मिश्रले बिनासर्वेक्षण र परीक्षण बीउ बाँडिएकाले समस्या आएको बताए । 'किसान बिचल्लीमा परेका छन्, स्थिति गम्भीर छ,' मिश्रले भने, 'आकस्मिक खाद्य सुरक्षा कार्यक्रम भएका कारण धेरै अनुसन्धान गर्न सकेनौं ।' कृषि विकास कार्यालयले स्थानीय जातको धानलाई नै नयाँ प्रविधिले लगाउने र अधिक फलाउने उपाय खोज्न सिफारिस गरेको दाबी गरेको छ ।
दाताका स्थानीय अधिकारीले भने प्रतिक्रिया दिन अस्वीकार
गरे । 'हामीले केन्द्रमा कुरा राखेका छौं,' एफएओका एक अधिकारीले कान्तिपुरसँग भने । एउटा जिल्लामा त्रुटि हुनु स्वाभाविक भए पनि चारवटै जिल्लामा धान उत्पादन हुन नसक्नुलाई गम्भीर रूपमा लिनुपर्ने कृषिका अधिकारीहरूले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks