Loving nepal news

Saturday, October 23, 2010

महिनैपिच्छे शिक्षकको हत्या

अनमोलमणि पौडेल

काठमाडौ, कार्तिक ७ - तराई र केही पहाडी जिल्लामा पछिल्लो छ महिनामा शिक्षकमाथिको आक्रमण बढेको छ । शिक्षक संघ/संगठनका अनुसार यस वर्षको वैशाखपछिको छ महिनामा पाँच शिक्षकको हत्या भएको छ भने केही घाइते र करिब एक दर्जन जिल्ला छाडेर विस्थापित भएका छन् ।

पछिल्लोपल्ट असोज २८ गते धनुषास्थित शंकर निमाविका शिक्षक हीरालाल महत्तोको हत्या गरेपछि तराईका शिक्षकको त्रास झन् बढेको हो । अज्ञात समूहले साँझको समय घरमा बसिरहेका महत्तोमाथि गोली प्रहार गरेको थियो । हत्याको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले समेत हत्याराको पहिचान गर्न सकेको छैन ।

आक्रमण बढेपछि शिक्षक संघ/संगठनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शिक्षक संघ र एजुकेसन इन्टरनेसनल -ईआई) को एउटा समूह घटनाको अध्ययनका लागि धनुषा जाने भएको छ । ईआईको पछिल्लो प्रतिवेदनले नेपाल र कम्बोडिया शिक्षक हत्या हुने प्रमुख देशका रूपमा चित्रित गरेको छ ।

'शिक्षकमाथिको आक्रमण चेतनामाथिको आक्रमण हो, यसले आतंक फैलाउन सकिन्छ भन्ने मानसिकता आपराधिक समूहमा देखिन्छ,' नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले भने । राजनीतिक दल र सरकार कमजोर भएकैले आपराधिक समूहले त्यसको फाइदा लिएको उनले बताए ।ईआईकी एसिया प्यासिफिक सदस्य इन्दिरा सापकोटाले तराईका जिल्लामा शिक्षक हत्या, अपहरण र धम्कीका घटना धेरै पाइएको बताइन् । 'सुरक्षा निकाय र स्थानीय प्रशासनको कमजोरीले पनि आक्रमण बढेको हो', उनले भनिन् ।

नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले गृह र शिक्षा मन्त्रालयलाई शिक्षक सुरक्षाका लागि पटक-पटक गरेको अनुरोध सरकारले बेवास्ता गरेकाले समस्या नघटेको जनाए । उनले भने, 'शिक्षक नियमित विद्यालय जाने भएकाले उनीहरूलाई त्रास सिर्जना गर्न सके गाउँ कमजोर हुने आपराधिक समूहको सोच देखिन्छ ।'

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले विकृतिविरुद्ध बोल्ने शिक्षकमाथि बढी आक्रमण भएको बताए । 'जातीय नाममा गठित सशस्त्र समूहले तिनैलाई तारो बनाएका छन्,' उनले भने । सशस्त्र द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट करिब ३ सय शिक्षकको हत्या भएको थियो ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks