कान्तिपुर संवाददाता
जनकपुर, कार्तिक ९ - सांस्कृतिक तथा चेतनामूलक नाटकमार्फत् मिथिलानगरीमा आमनागरिकलाई स्वच्छ तथा शिक्षाप्रद मनोरञ्जनको अभियान सुरु भएको छ ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले शनिबार यहाँ नियमित नाटक शृंखला सुरु गर्यो । पहिलो चरणमा मिनापले मिथिलाञ्चलको लोपोन्मुख 'डोमकछ' लोकनाट्यको प्रदर्शन थालेको छ । केटाको विवाहमा टोलभरिका पुरुष जन्ती गएका बेला घरलाई चोरडाँकाबाट जोगाउने उद्देश्यले महिलाहरू नै अभिनेत्री र दर्शक रहने 'डोमकछ' लाई मिनापले नयाँ स्वरूप दिएको छ ।
लोकगीतको चास्नीमा तयार पारिएको उक्त लोकनाट्यमा महिला गर्भवती भएदेखि विवाहसम्मका सम्पूर्ण उपक्रमहरू रोचक पाराले प्रस्तुत गरिएका छन् । कथा उद्देश्यप्रधान छ, हास्यविनोद, आकर्षक नृत्य र सुमधुर संगीतको समायोजन छ ।
'डोमकछ कम्प्िलट ड्रामा हो,' परिकल्पनाकार एवं निर्देशक रमेशरञ्जन झाले भने । उक्त नाटक सह-निर्देशक परमेश झा छन् भने संगीत सुनिल मल्लिकले दिएका छन् । रञ्जु झा, रिना रिमाल, सपना श्रेष्ठ, अनिता रानी मण्डल, परमेश झा, मदन ठाकुर, रामनारायण ठाकुर, रवीन्द्र झा, मुकेश, सन्नी, गंगाकान्त झासहित २० जनाले यसमा अभिनय गरेका छन् ।
नाटय शृंखला उद्घाटनमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर राय, मिनाप अध्यक्ष सुनिल मल्लिक, साहित्यकार डा. रेवतीरमण लाल कर्ण तथा प्रा. परमेश्वर कापडीलगायत उपस्थित थिए ।
'आमजनको आग्रहमा नाट्य शृंखला थालेका हौं,' मिनाप अध्यक्ष मल्लिकले भने, 'यो नाटकमार्फत प्रस्तावित नाटकघर निर्माणका लागि सहयोग संकलनसमेत गर्नेछौं ।' अहिले नै भने नियमित नाटक प्रदर्शनका लागि रामचौकस्थित मिनाप प्रांगणमा बाँस र प्लास्टिकबाट अस्थायी घरमा बनाइएको छ, जहाँ सय दर्शक अटाउँछन् ।
मल्लिकका अनुसार नाटक शृंखलाका अतिरिक्त कात्तिक ९ देखि कलेज विद्यार्थीका लागि शिक्षामूलक कचहरी नाटकसमेत प्रदर्शन गरिनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks