Loving nepal news

Tuesday, October 19, 2010

ठूला अपराधमा संलग्न अभियुक्त खोजिएनन्

प्रतिमा बाँस्कोटा

काठमाडौ, कार्तिक ३ - पछिल्लो वर्षमा भएका ठूला हत्या र अपहरणमा संलग्न अभियुक्तहरू देश बाहिर पुगेको प्रहरीले निष्कर्ष निकालेको छ । ती अभियुक्तको खोजीमा भने प्रहरीले तत्परता देखाएको छैन ।

सञ्चार उद्यमी जमिम शाहको हत्यारा र भरतपुरका चिकित्सक भक्तमान श्रेष्ठको अपहरणका मुख्य अभियुक्तहरू भारतीय नागरिक भएको प्रहरी ठहर छ । उनीहरू हालसम्म प्रहरी नियन्त्रणमा आउन सकेका छ्रैनन् ।

प्रहरीको अनुसन्धानले उनीहरूले देश छाडिसकेको देखाएको छ । यस्ता अपराधीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीको संगठन -इन्टरपोल) मार्फत खोजी गर्न सक्छ । अदालतले पक्राउ पुर्जी जारी गरेकाको खोजी गर्न इन्टरपोलले 'रेड नोटिस' जारी गर्न सक्छ । इन्टरपोल विश्वका धेरै अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन हो ।

अपराधी छिमेकी मुलुकमा भाग्न सक्ने भएकाले

उसलाई इन्टरपोलमार्फत खोजी गरेर पक्राउ गरिन्छ । सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा १ सय ८८ देश आबद्ध छन् ।

सञ्चार उद्यमी शाह हत्याका मुख्य अभियुक्त बब्बु भनिने दीपक शाही भारतीय नागरिक हुन् । उनले त्यतिबेला नै राजधानी छाडिसकेको निष्कर्ष प्रहरीले निकालेको थियो । तर ९ महिना बित्दासमेत प्रहरीले उनको इन्टरपोलमार्फत खोजी गरेको छैन । बब्बुसँग नियमित फोन सम्पर्कमा रहेका भनिएका पूर्वडीएसपी जगदीश चन्द फरार छन् ।

प्रहरीले जमिम हत्यामा संलग्न भएका अन्य नुवाकोटका किशोर खड्का र श्रीकृष्ण पौडेल तथा प्रहरी नायब निरीक्षक प्रकाश छेत्रीलाई मात्र पक्राउ गरेको छ । घटना पुरानो हुँदै गएपछि प्रहरी सक्रियता पनि निष्त्रिmय हुने प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् । 'बढी दबाब हुँदा काम गरे जस्तो सक्रियता देखाउँछन्, घटना पुरानो भएपछि बिर्सिन थाल्छन्,' एक अधिकृतले भने, 'अनुसन्धान गर्ने निकायले आफूले अनुसन्धान गरिरहेको घटनाका अभियुक्त फरार भए इन्टरपोलमार्फत खोजी पाउँ भनेर निवेदन दिएपछि मात्रै यताबाट प्रक्रिया अघि बढ्छ ।' सञ्चार उद्यमी शाहको गत माघ २४ गते राजधानीको लाजिम्पाटमा गोली हानी हत्या गरिएको थियो । दरबार मार्गस्थित याक एन्ड यति होटलमा नियमित नुहाएर घर फर्किने क्रममा उनीमाथि गोली हानिएको थियो । उनका चालक मथुरामान मालाकारको बायाँ तिघ्रामा गोली लागेको थियो ।

भरतपुर मेडिकल कलेजका चिकित्सक श्रेष्ठलाई जेठ ४ गते अपहरण गर्ने समूहका मुख्य नाइकेले पनि देश छाडेको प्रहरी निष्कर्ष छ । घटनाका मुख्य योजनाकार नुवाकोटका भीमसेन पण्डित र भारतका रोहित पालिवालले नेपाल छाडिसकेको निष्कर्ष प्रहरीले निकालेको हो । उनीहरूलाई पनि इन्टरपोलमार्फत खोजी गरिएको छैन । श्रेष्ठलाई अपहरणकारीले १९ दिनसम्म नियन्त्रणमा लिएको थियो । श्रेष्ठलाई मुक्त गरेपछि उक्त घटनामा संलग्न तीन मतियार नुवाकोटका बद्रीप्रसाद ढुंगाना, काठमाडौंका सुनिल श्रेष्ठ र भारत दार्जिलिङका नवीन छेत्रीलाई मात्र प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

गएको फागुनमा जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको गोली हानी भएको हत्याको दोषीलाई पनि प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks