Loving nepal news

Friday, October 29, 2010

साउदी अर्बपतिको नेपाल भ्रमण * 'लगानी सम्भावना उच्च रहने’


कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक १२ - साउदी अर्बपति व्यवसायी अल वालिद बिन तलालले नेपाल भ्रमण गर्ने भएका छन् । साउदी राजा अबदुल्लाका नातेदार अल वालिद कात्तिक २८ काठमाडौं आउने बताइएको छ । उनको तीनदिने भ्रमणमा लगानीको सम्भावनाबारे छलफल हुने अनुमान छ । लामो समयपछि साउदी राजपरिवारबाट यस्तो भ्रमण हुन लागेको हो ।

अरेबियन वारेन बफेटका रूपमा चर्चा पाएका अल वालिदलाई विश्वका धनीको सूची प्रकाशन गर्ने पत्रिका फोब्र्सले १९ औं स्थानमा राखेको छ । फोब्र्सका अनुसार उनको सम्पत्ति १९ अर्ब ४० करोड अमेरिकी डलर छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमण 'औपचारिक र व्यावसायिक' जस्तै हुनेछ । ३६ जनाको टोलीले दुई वटा हवाईजहाजमार्फत भ्रमण गर्नेछ । भ्रमणको समयमा अल वालिदले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल र अन्य सरकारी अधिकारीसँग भेट गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी चार्टर गरिएको बोइङ ४७४ मार्फत नेपाल अवतरण गर्नेछन् । अन्य सदस्य भने एच२ डब्लुटी ७ जहाजमार्फत आउनेछन् । साउदी अरबमा रहेको नेपाली नियोगले परराष्ट्र मन्त्रालयलाई अन्तरिक परिपत्र जारी गर्दै अल वालिदको भ्रमणले नेपाली पर्यटन क्षेत्रमा नयाँ आयाम ल्याउन सक्ने जनाएको छ । अल वालिद किंडम होल्डिङ कम्पनी -केएचसी) का अध्यक्ष हुन् । यो विश्वभर ठूला र फरक क्षेत्रमा लगानी गर्ने इन्भेस्टमेन्ट कम्पनी हो । मुख्य रूपमा केएचसीले सिटीग्रुप, न्युज कर्पोरेसन, टाइम वार्नर, इबेलगायत कम्पनीमा लगानी गरेको छ ।

अल वालिद र केएचसीको सिटी ग्रुपमा ३ दशमलव ५ प्रतिशत लगानी छ । उनी बैंकको सबैभन्दा ठूला व्यक्तिगत लगानीकर्ता हुन् । केएचसीको फोर सिजन्स र फेयरमोन्ट होटल व्यवस्थापन समूहमा पनि लगानी छ ।

अल वालिदको दरबार र जग्गाको मूल्य ३ अर्ब डलरभन्दा बढीको छ । यसका साथै उनीसँग रहेका गरगहनाको मूल्य ७३ करोड डलरभन्दा बढी रहेको बताइन्छ । व्यक्तिगत सम्पत्तिकै रूपमा उनीसँग एयर बस ए ३८० सँगै चार वटा हवाईजहाज छन् ।

उनकै कम्पनी केएचसी संसारभर ठूला होटलको प्रमुख लगानीकर्ता र होटल व्यवस्थापन कम्पनीमा लगानी गर्ने संस्था हो । कम्पनीले बैंकिङ, होटल, व्यवस्थापन र घरजग्गा गरी प्रमुख चार क्षेत्रमा लगानी गर्ने गरेको छ ।

भ्रमणलाई औपचारिक र व्यापारिक भनिए पनि उनले लगानी गर्ने क्षेत्रबारे भने केही खुलेको छैन । दुई देशबीचको व्यापार सम्भावना पहिल्याउन स्थानीय व्यवसायीसँग छलफल हुने अनुमान गरिएको छ । 'उनी व्यवसायी भएकाले यहाँ पनि लगानी गर्न छलफल हुन सक्छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'यहाँका व्यवसायीले इच्छा देखाए छलफलको काम अघि बढाउन सजिलो हुन्छ ।'

नेपाल रहने अवधिमा उनले दरबार क्षेत्रका साथै माउन्टेन फ्लाइट गर्ने योजना छ । गोर्खा इन्काउन्टर्सले उनको भ्रमण प्रबन्ध मिलाएको छ । १९७८ मा नेपालले दूतावास खोलेपछि दुई देशबीच सम्बन्ध विस्तार भएको हो । दुई देशबीचको व्यापारमा साउदी अरबलाई फाइदा रहेको छ । नेपालले आर्थिक वर्ष ०६५/०६६ मा ११ करोड २० लाख डलर बरारबरको सामान निर्यात गरेको थियो । साउदीबाट ८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks