Loving nepal news

Saturday, October 16, 2010

नेपालीहरूको महान् चाड विजयादशमी आज

कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन ३१ - नेपालीहरूको महान् चाड बडादशैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

विजयादशमीका दिन आज बिहान ७ :२३ बजे देवी विसर्जन र बिहान १० :४३ बजे टीका लगाउनका लागि शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराई बताउनुहुन्छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

आज नौदिनसम्म दसैंघरमा दुर्गा भवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टीका लगाउने प्रचलन छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा बिसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिइन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks