काठमाडौं, आश्विन ३१ - राष्ट्रपति डा रामवरण यादवले नेपालीहरूको महानपर्व विजयादशमी-२०६७ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमी पर्वको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति डा यादवले नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी मुलुकमा विधिको शासन सुनिश्चित गर्नका निम्ति संविधानसभाको साढेसात महिनाको बाँकी अवधिभित्रै शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउनु र लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प छैन भनेका छन् ।
"हाम्रो खास गन्तव्य आर्थिक र सामाजिकरूपले समुन्नत नेपाल हो, त्यस निम्ति पनि जतिसक्दो चाँडो संविधान निर्माण गरिनुपर्नेमा सबैको सचेतता जरुरी छ, यसमा विशेषतः संविधानसभा र राजनीतिक दलहरूले आफ्नो जिम्मेवारीबोध गर्नेछन् भन्ने विश्वास लिएको छु," राष्ट्रपति डा यादवले भनेका छन् ।
उनले विस. २०६२/६३ को जनआन्दोलनपछिका दिनहरूमा मुलुकले उल्लेख्य मात्रामा राजनीतिक सामाजिक उपलब्धीहरू हासिल गरेको र राज्यलाई धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी तुल्याउने हाम्रो राष्ट्रिय सङ्कल्प एउटा ऐतिहासिक उपलब्धी मात्र नभएर समुन्नत नेपाल निर्माणको निम्ति मार्ग निर्देशन पनि हो भन्नुभएको छ ।
सन्देशमा उनले जातीय सद्भाव, धार्मिक र साँस्कृतिक सहिष्णुता, सामाजिक एकता, भौगोलिक अखण्डताले परिपोषित नेपाली राष्ट्रियता हाम्रो गौरव हो भन्दै यसै राष्ट्रिय गौरवको रक्षा गर्न श्री दुर्गा भवानीले हामी सबैलाई शक्ति प्रदान गरुन् भन्ने कामना गरेका छन् ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरूको महत्वपूर्ण चाड बडादसैँको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमीको उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री नेपालले दसैँ नेपाली जनताको ठूलो चाडका साथसाथै आपसमा सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि गर्ने अवसर भएको बताएका छन् ।
मनोमालिन्य, द्वेष र कलहलाई परित्याग गरी मेलमिलाप र मित्रतालाई थप सुदृढ पार्ने मौकाका रूपमा पनि विजयादशमीलाई लिन सकिन्छ भन्दै उनले अभिभावक र वरिष्ठहरूबाट सुख, समृद्धि तथा दीर्घायूको कामना र आशिष ग्रहण गर्ने एउटा विशिष्ट पर्व भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्- त्यसैले स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई दसैँले इष्र्या र अविश्वासबाट मुक्त भएर प्रेम, सद्भाव र विश्वासको दिशामा अग्रसर हुन पे्ररित गर्ने आशा मैले गरेको छु ।
शान्तिप्रक्रियालाई इमान्दारीका साथ पूरा गर्ने र संविधान निर्माणको कामलाई थपिएको समयसीमाभित्रै सक्नुपर्ने अभिभारा सबैको काँधमा रहेकाले ती कार्यलाई आपसी एकता, सहकार्य र दूरदर्शिताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यो कार्यलाई पूरा गर्ने अभियानमा यो विजयादशमीले सबैलाई विजयी बनाउन सकोस् भन्ने हार्दिक कामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री नेपालले समस्त नेपालीमाझ यो दसैँले हर्ष, उल्लास, सुख र समृद्धिका साथै एकता, मेलमिलाप, सहकार्य, संयम र सहिष्णुतालाई अझ बढाउन पे्ररित गरोस् भनी शुभकामना समेत व्यक्त गरेका छन् ।
कोइरालाको शुभकामना
काँग्रेस सभापति सुशील कोइरालाले विजयादशमीको पावन दिनमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना अर्पण गरेका छन् ।
विजयादशमीका अवसरमा आज दिएको शुभकामना सन्देशमा सभापति कोइरालाले नेपालमा मनाइने सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र साँस्कृतिक सौहादर््रताका धरोहरहरू हुन् भन्दै यी चाडपर्वले सामुहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताएका छन् ।
सन्देशमा आज हाम्रो देश दिगो शान्ति कायम गर्ने र लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधानको निर्माण गर्ने गुरुत्तर जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ भन्दै इतिहासले सुम्पेको यो जिम्मेवारीप्रति सचेत भएर हामीले त्यसलाई पूरा गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न सकिने उल्लेख छ ।
यसैबीच, नेपाल चेम्बर अफ कमर्सले हिन्दूहरूको महान चाड विजयादशमी-२०६७ को सुअवसरमा समस्त देशवासीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।
चेम्बरले असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइने यस पर्वले विद्यमान अन्यौल र विकृतिहरूको अन्त्य गरी मुलुकलाई आपसी सहमति र सद्भावका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा समेत प्रकट गरेको छ ।
नेता पौडेल शुभकामना
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
नेता पौडेलले आज एक शुभकामना वक्तव्य जारी गरी बडादसैँको यस पावन घडीमा नवदुर्गा भवानीले मुलुकमा दीगो शान्ति स्थापना र लोकतान्त्रिक संविधान लेखनको लागि शक्ति प्रदान गरुन् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूबीच सहमति, एकता र समझदारीको आवश्यकता रहेको पनि नेता पौडेलले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks