Loving nepal news

Saturday, October 23, 2010

माओवादी हतियार र लडाकु अर्को चुनावसम्म राख्न चाहन्छः संचारमन्त्री पोखरेल * बजेट रोके आर्थिक संकट अब पनि बजेट ल्याउन नदिनु भनेको मुलुकलाई


जनक नेपाल

नेपालगन्ज, कार्तिक ६ -

सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री शंकर पोखरेलले माओवादी हतियार र लडाकु अर्को चुनावसम्म राख्न चाहेकाले शान्ति प्रक्रियामा ढिलाई भईरहेको बताएका छन् ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेबारे माओवादी अस्पष्ट रहेको उनको आरोप छ । 'माओवादीका तीन फरक प्रस्तावमध्ये कुनैमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने प्राथमितामा छैन'- गृहजिल्ला दाङ जाने क्रममा शनिवार नेपालगन्ज विमानस्थलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा संचारमन्त्री पोखरलले भने,- हतियार र लडाकु अर्को चुनावसम्म राख्ने चाहना देखिन्छ, जुन संभव छैन ।

माओवादी शान्ति प्रक्रियाको अर्को चरणमा प्रवेश गर्न हिच्किचाएकाले शान्ति प्रक्रिया लम्बिएको उनले बताए ।

मन्त्री पोखरेलले सरकार कामचलाउ नै भए पनि बजेट ल्याउने बताएका छन् । 'अब पनि बजेट ल्याउन नदिनु भनेको मुलुकलाई आर्थिक संकटमा धकेल्नु हो'-उनले भने, प्रतिपक्षले विरोध गर्नुको अर्थ रहन्न । बजेट पारित गर्नसक्ने बहुमत सरकारले सहजै जुटाउन सक्छ ।

बजेट ल्याएपछि अहिलेकै सरकारले निरन्तरता पाउने माओवादी आशंका रहेको टिप्पणी गर्दै उनले राज्य खर्चविहिन ढंगले चल्न नसक्ने भएकाले भद्र सहमतिमा आउनमा माओवादीलाई आग्रह गरे ।

मुख्य दलहरुबिच शान्ति प्रक्रिया र संविधान निर्माणमा विवाद रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भने,-आम चर्चा भएझै प्रधानमन्त्री को हुने मात्र विवादको विषय हैन । संविधान निर्माण र माओवादी लडाकु व्यवस्थापनका असहमतिले राजनीतिक गतिरोध उत्पन्न भएको उनले बताए । तर, जतिसुकै विवाद रहे पनि संवाद जारी रहेकाले छिट्टै सहमतिमा पुग्ने आशा लिनुपर्ने पोखरेलको भनाई छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks