Loving nepal news

Thursday, October 14, 2010

कानुनी शासन कि कानुनद्वारा शासन

केशरबहादुर भण्डारी

आश्विन २९ - हात्तीको ढोईले २ वटा छावा जन्माइसक्दा पनि हामीकहाँको संक्रमणकाल सकिएको छैन । यही संक्रमणकालको फाइदा लिएर सामाजिक, आर्थिक, राजनीतिक र सर्वव्यापी अराजकताले पूरै राज्यलाई गाँजेको छ । यस्तो अवस्थालाई राजनीतीशास्त्रका विद्वान्ले भन्ने गरेझैं संक्रमणकालमा बेहोर्नुपर्ने कुरा यस्तै हुन् भनेर सहज ग्रहण गर्ने कि यसलाई छिटोभन्दा छिटो बिराम दिई प्रजातन्त्रलाई चाँडोभन्दा चाँडो संस्थागत गर्न आवश्यक उपचारको विकल्प खोज्ने ? बहसको विषय भएको छ ।

प्रजातन्त्र स्थापित हुन अमेरिकामा यति सय वर्ष लाग्यो, ६ दशकभन्दा बढीको प्रजातान्त्रिक अभ्यासपछि पनि भारतमा पूर्ण प्रजातन्त्र स्थापित हुन सकेको छैन भन्ने आदि उदाहरण दिएर मनोगत सन्तुष्टि लिनुभन्दा त्यहाँ भएका राम्रा अभ्यासहरू 'गुड प्राक्टिसेज' बाट सिकेर हामीकहाँ किन लागू नगर्ने ? प्रजातन्त्रमा 'कानुनी शासन' स्थापित हुन्छ । प्रजातन्त्रमा कानुनसम्मत ढंगबाट स्वतन्त्र बाँच्न, व्यवहार गर्न, अरूसँग सम्बन्ध राख्न, जिम्मेवार तथा सभ्य नागरिक हुन, अधिकार कर्तव्यको प्रयोग गर्न, उन्नति गर्न, स्वतन्त्रताको अभ्यास गर्न तथा राज्यव्यवस्था सञ्चालन गर्नेदेखि लिएर जनहितकारी कार्य गर्न छुट हुन्छ अर्थात् हरेक कार्यमा 'कानुनी शासन' को पालना अनिवार्य हुन्छ तर हामीकहाँको लोकतान्त्रिक अभ्यासको छोटो अवधिमा केकति राम्रा, खराब र कुरूप 'गुड, ब्याड एन्ड अग्ली' कुरा भए यसको फेहरिस्त दिन गाह्रो छ ।

'कानुनी शासन' र स्वअनुशासनबीच गहिरो अन्तरसम्बन्ध छ । जब देशका अत्यधिक क्षेत्रमा स्वअनुशासन धराशयी हुन्छ, तब हल्का अराजकतादेखि लिएर साङ्घातिक तहसम्मका अराजकता फस्टाउँछन् र नागरिक हित तथा सुरक्षाका विषय ओझेलमा पर्छन् । नागरिकको स्वतन्त्र ढंगबाट बाँच्न पाउने प्रजातान्त्रिक अधिकार कुण्ठित हुन्छ र सभ्य समाजको परिकल्पना ध्वस्त हुन पुग्छ ।

समाजमा नागरिक चेतना र सभ्यताको एउटा स्तर पुगेपछि मात्र त्यहाँ 'कानुनी शासन' द्वारा प्रजातन्त्रलाई अभ्यासमा ल्याउन सकिन्छ । नागरिक चेतना र सभ्यताको स्तर नपुगेको अवस्था वा बिग्रंदो अवस्थामा सो प्राप्ति वा स्थापित गर्न 'कानुनी शासन' को सट्टा 'कानुनद्वारा शासन' को जरुरी पर्छ । 'कानुनी शासन' र 'कानुनद्वारा शासन' को मर्म भावना र उद्देश्य एउटै हो र हेर्दा अर्थ पनि एउटै जस्तो देखिए पनि कार्यान्वयन शैली भने फरक हुन्छ । 'कानुनी शासन' असफल वा प्रभावकारी नभएको अवस्थामा -अहिले हामीकहाँ भएजस्तो) यसलाई कायम गर्न सशक्त ढंगबाट लागू गर्ने वा इन्फोर्स गर्ने भनेको नै 'कानुनद्वारा शासन' भन्ने बुझिन्छ । देशको नागरिकले कानुनप्रति सभ्य व्यवहार नगरेमा उसलाई कडाइसाथ कानुनसम्मत व्यवहार गर्न सिकाउने वा लगाउने कार्य नै 'कानुनद्वारा शासन' हो । यो शासक र शासित दुवैलाई समान लागू हुन्छ ताकि सबैमा जिम्मेवारीपन र गल्ती गर्नेले उत्तरदायी हुनुपर्ने संस्कारको विकास होस् ।

सिंगापुर र दक्षिण कोरिया र मलेसियाजस्ता मुलुकले छोटो समयमा गरेको उदाहरणीय र चमत्कारी विकास पछाडिको खुला रहस्य भन्नु नै 'कानुनद्वारा शासन' को प्रतिफल हो । उक्त मुलुकमा अझै पनि उदार प्रकृतिको 'वेनिभोलेन्ट' कानुनद्वारा शासित प्रजातन्त्र कायम छ । अमेरिका, बेलायत, प|mान्स तथा नर्डिक मुलुकहरूमा भएजस्तो प्रजातान्त्रिक अभ्यास अत्यधिक मुलुकमा लागू हुन धेरै समय लाग्छ भने विभिन्न मुलुकको संस्कार, मूल्यमान्यता र परिवेशका कारण त्यस्तो प्रजातान्तिक अभ्यास जरुरी नहुन पनि सक्छ । यसै सन्दर्भमा केही वर्षअगाडि युगान्डाका राष्ट्रपति मुसेभीनीले प्रजातन्त्रका बारे गरेको टिप्पणी उल्लेख गर्नु सान्दर्भिक हुन्छ, 'युगान्डालीहरू अमेरिकीजस्ता पनि देखिँदैनन् र कुनै कुरा अमेरिकासँग मिल्दो वा समान पनि छैनन् भने प्रजातन्त्र मात्र किन अमेरिकाको जस्तो हुने ? युगान्डाको हावापानी, माटोलाई सुहाउँदिलो प्रजातन्त्र आफैं किन नबनाउने ?' यही कुरा हामीकहाँ पनि लागू हुन सक्छ ।

नेपालमा 'कानुनी शासन' प्रायः असफल भइसकेको अवस्थामा देशलाई सही ट्रयाकमा ल्याउनका लागि केही वर्ष 'कानुनद्वारा शासन' गर्ने गरी प्रजातन्त्रको अभ्यास किन नगर्ने ? अहिले 'कानुनी शासन' वा 'कानुनद्वारा शासन' बीचमा विकल्प रोज्नुपर्‍यो भने हाम्रो प्राथमिकता 'कानुनद्वारा शासन' नै हुनुपर्छ र देशलाई सही मार्गमा ल्याउन त करिब एक दशकका लागि यही नै उपयुक्त विकल्प हुन

सक्छ । यसरी 'कानुनद्वारा शासन' को अभ्यास गर्दा यसको प्रजातान्त्रिक उद्देश्यलाई दिगो राख्न चेतनामूलक कार्यक्रमलाई पनि सँगै अभियानस्वरूप जोडतोडसाथ लागू गर्नु पनि अनिवार्य हुन्छ ।

संसारमा अनेक ठूलाठूला परिवर्तन एउटा व्यक्तिविषेशले ल्याएका उदाहरण धेरै छन् भने एसिया महाद्वीपमा पनि देश विकासका लागि ली क्वान यु, पाक चुङ्ग ही र मोहम्मद महाथीरले गरेको उदाहरणीय कार्यलाई नमुनाको रूपमा हेर्न सकिन्छ । देङ स्याओ पिङको भिजनलाई 'कानुनद्वारा शासन' को सशक्त अभ्यासले आज चीन विश्वको आर्थिक र सैनिक शक्ति बन्न सफल भयो । नरसिंह रावको नेतृत्वमा मनमोहन सिंह -हाल प्रधानमन्त्री) र चितांबरम -हाल गृहमन्त्री) को भिजन र कार्यकारी प्रभावकारिताका कारण भारत आज दु्रत गतिको आर्थिक विकास गर्ने देशको श्रेणीमा पुग्न सफल भयो । यिनै उदाहरणद्वारा एक व्यक्ति विषेश र उसको टोलीले कसरी देशको भाग्य बदल्न सक्छ भन्ने कुरा प्रमाणित हुन्छ । यिनै उदाहरणबाट हामीमा पनि प्रेरणा जागोस् ता कि हामीले पनि कुनै त्यस्तो व्यक्तित्व वा टोलीको

खोजी गरी कम्तीमा पनि एक दशकका लागि देश हाँक्ने जिम्मा दिन सकियोस् ।

हामीकहाँ पनि क्षमतावान्, त्यागी र प्रतिभाशाली व्यक्तिहरू नभएका होइनन् मात्र खाँचो त उनीहरूको पहिचान गरी स्थापित गर्ने कुरा मात्र हो । आशा गरौं समय र पस्थितिले चाँडै नै त्यस्तो अद्वितीय क्षमता भएको 'क्यारिसमेटिक' व्यक्तित्वलाई अगाडि ल्याउनेछ । यसका लागि हामीले आशावादीे मानसिकताबाट माथि उठी मार्गप्रशस्त गर्ने प्रयासमा जुट्नु पनि जरुरी हुन्छ । निकटको विगतलाई हेर्दा पनि हामीकहाँ राजा महेन्द्र र वीपी कोइरालाजस्ता व्यक्तित्व नजन्मेका पनि होइनन् र अवसर नपाएका पनि होइनन् । दुर्भाग्यको कुरा यी दुई व्यक्तिले बृहत् राष्ट्रिय हितका लागि मिलेर काम गर्न नसक्नु मात्र हो । यो त एउटा गुमेको ठूलो अवसर थियो । यही समयकालमा नेपालमा एकजना अचम्म र अद्वितीय प्रतिभा भएको चन्द्रबहादुर थापा नाम गरेका निजामती कर्मचारी पनि थिए जो कडा समय अनुशासन र न्याय पालना गराउने कार्यका लागि चर्चित थिए ।

राणाशासनपछिको पहिलो मुख्य सचिव भएका चन्द्रबहादुरले सिंहदरबारको मूल ढोका बिहान १० बजेपछि बन्द गर्ने गरेका कारण त्यसबेला यो कुरा 'चन्द्र घन्टी' को नामले प्रख्यातै भयो । राणाकालमा समेत प्रहरी प्रमुख भई राम्रो काम गरेकाले राजा त्रिभुवनले उनलाई बि्रगेडियर जर्नेलको पदवी दिएर सम्मान नै गरे । चन्द्रबहादुर जर्नेलको नामले प्रख्यात उनी 'कानुनी शासन' नमान्नेलाई 'कानुनद्वारा शासन' को उपचार गर्ने भएकाले सहरमा बिराम गर्नेका लागि उनी त्रास सरह नै थिए । बीपी कोइरालाले पनि उनको तारिफ गरेको पाइन्छ । उनले विरोध नगरेका भए धेरै वर्षअगाडि नै आजको 'भूगोलपार्क' मा नगरपालिकाको व्यावसायिक कम्प्लेक्स बनिसक्ने थियो । यस्तै व्यक्तित्वले चुनौतीको समयमा सकारात्मक फरक पार्न सक्छन् ।

अहिलेको संकटको घडीमा राष्ट्रलाई सही दिशा र निकास दिन प्रजातान्त्रिक मूल्य र मान्यतालाई जनहितकारी ढंगबाट संवर्धन गर्दै कडाइसाथ 'कानुनद्वारा शासन' को सिद्धान्तअनुरूप देश हाँक्ने नेतृत्वको खोजीमा राष्ट्र गुजि्ररहेको छ । संसारमै प्रमाणित उदाहरणलाई हेर्दा पनि राज्यव्यवस्था सही ढंगबाट सञ्चालन गर्न र देशलाई सही दिशा दिन धेरै मान्छेको जरुरी पर्दैन । चाहिने भनेको देश हाँक्न सक्ने 'क्यारिस्मेटिक' नेतृत्व र उसलाई सहयोग गर्न देश परिस्थिति बुझेको, विभिन्न क्षेत्रमा सही व्यक्तिको चयन गर्न सक्ने, नेपालको महत्त्वपूर्ण राज्यशक्तिको आधारलाई चिनेर सही प्रयोग र परिचालन गर्ने सक्ने क्षमता भएको केही त्यागी र प्रखर व्यक्तिहरू नै हुन् ।

यस्तो अवस्थामा एउटा व्यवहार कुशल, विलक्षण प्रतिभा भएको नेतृत्व -जुनसुकै पार्टी वा क्षेत्रबाट किन नहोस्) ले जोखिम मोली अगाडि आउन सकेको खण्डमा उसले सबैको समर्थन पाउने पक्का छ । यस्तो नेतृत्वलाई सहयोग गर्न र सघाउनका लागि हरेक क्षेत्र- निजामती कर्मचारी, व्यापारी, व्यवसायी, प्राविधिक, पेसेवर, सञ्चार क्षेत्र, नागरिक समाज, सामाजिक कार्यकर्ता, स्वतन्त्र नागरिक र सुरक्षा अंगलगायत गैरआवासीय नेपालीबाट समेत क्षमतावान् र त्यागी व्यक्तिको कमी भने हुनेछैन ।

यसैले नेतृत्व गर्न सक्ने व्यक्ति वा समूहले देश सञ्चालन गर्न सक्षम र विश्वासिला व्यक्ति तथा नयाँ प्रतिभाको पहिचान र संजाल विस्तार गरी अगाडि आउने बेला हो यो । प्रख्यात विद्वान् शिव खेराले भन्ने गरेझैं 'कुनै घटना हुन्छ भनेर कुर्नुभन्दा आफले घटना घटाउन

्रसक्नुपर्छ ।' हामीले पनि केही होेला भनेर कुर्नुभन्दा पनि केही राम्रा र सृजनात्मक कुरा गराउन वा घटाउन सक्नुपर्छ ।

-लेखक पूर्वसहायक रथी तथा नेपाल इन्स्िटच्युट फर स्ट्राटेजिक स्टडिजका निर्देशक हुन् ।)

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks