Loving nepal news

Thursday, October 14, 2010

मलमा दशैँ किनमेल


आशिष लुइटेल

काठमाडौ, आश्विन २९ - किन दशैमा किनमेल गर्नेको भिड लाग्छ ? तन्नेरी के किन्न चाहन्छन् र 'त्यही' नै किन किन्छन् ? उत्तर खोज्न भनेर गएको सप्ताहन्त कान्तिपुरको तिनकुनेस्थित अफिसबाट सहकर्मी फोटोग्राफर सुन्दर श्रेष्ठ र म किनमेलका लागि व्यस्त मानिने राजधानीका केही सपिङ मलतिर हान्नियौं ।

सिटी सेन्टर पुगियो । इलेक्ट्रोनिक सामानदेखि पहिरनसम्म छानी छानी किन्न पाइने यो मल कमलपोखरीमा छ । 'त्यही माथि बिग सिनेमा पनि भएकाले धेरै (ग्राहक) आउँछन्,' पहिलो तल्लामा क्यामेरा पसल गर्ने सुमन दाहालको १ वर्षे अनुभव छ, 'किन्ने, मुभी हेर्ने र खाने सबै प्याकेज (एकैठाउँमा) भएपछि यस्तो भएको होला ।' तपाई मलबाहिर सपिङ गर्न निस्कनुभयो भने अव्यवस्थित पार्किङ, मान्छेको किचलो, पसलेको धपेडीले हैरान हुन सक्नुहुन्छ । त्यहीमाथि भनेको बेला खाने र दिसापिसाब गर्ने ठाउँ ठ्याक्कै नभेटिन सक्छ । 'यी सबैको समाधान मल हो,' सुमन थप्छन्, '(मल) आएपछि ढुक्क ।' पाँच तले यो विल्डिङको पहिलो तल्ला पुगेका हामी अब माथि उक्लन खोज्दैछौं ।

'ओ हो, खुट्टा टेक्ने ठाउ छैन,' लिफ्ट कुरेर बसेका भन्दैछन् । केहीबेर कुर्नुपर्ने भयो । कुर्ने क्रममा वरिपरि आँखा डुलाएँ । नजिकै रहेको गग पसलमा किन्नेको भिड छ । अलिक पर्तिरको घडि पसल समेत उस्तै । लुगा पो नयाँ लाउनु, गग, घडि जस्ता ग्याजेट पनि दशैमै किन फेरिहाल्नु ?

लिफ्ट हामी भएको ठाउँमा आएर घद्र्याक्क खुल्यो । तर माथि जानेको ठेलमठेल । यस्तोमा के छिर्नु ? 'कस्तो ठेलेको हौ ?' गह्रुङ्गो ब्याग बोकेकी एक युवती बाहिँरिदै गर्दा कड्कीइन् । ठेल्ने ठिटो कपाल कन्याएझै गर्दै लिफ्ट भित्र छिर्‍यो, आफ्नो साथीलाई कानेखुसी गर्‍यो । त्यसपछि दुवै गलल हाँसे । ठिटी गजक्क परिन् र फटाफट हिँडिन् । हामीले उनैलाई पछ्यायौं । 'के के किन्नु भो त ?' गेट नजिकै पुगेपछि परिचय दिँदै सोधेँ । 'सबैथोक,' मैतिदेविकी २१ वषिर्या इच्छा कार्कीले भनिन्, 'मंमीलाई, आमालाई, भाइलाई अनि मलाई !' घरका सबैलाई आफुले किन्दिएर चित्त बुझ्ला त ? 'समर सपिङ मंमीले गरिसिन्छ,' हाँस्दै भनिन्, 'दशै चाहिँ मैले । हाम्रो घरमा सबै काम भाग लगाएर गरिन्छ क्या !' इच्छा सँगै हामी पनि बाहिरियौँ ।

र, लाग्यौँ काठमाण्डु मलतिर । सिटी सेन्टर खुल्नुअघि यो मल निकै भिडभाड देखिन्थ्यो । अहिले सिटी सेन्टरको जस्तो चहलपहल देखिएन । तर ग्राहकको त के कमी हुन्थ्यो । सुन्धाराको टेम्पो पार्क अघिल्तिर उभिएर मल अगाडि राखिएको ठूलो स्क्रिनमा भिडियो हेर्ने पनि निकै थिए । उक्लिने बित्तिकै हामीले अघिल्तिर भित्र छिर्दै गरेको एउटा समूहलाई देख्यौं । ल यिनीहरुलाई नै पछ्याऔँ ।

दोस्रो तलामा छिरे । 'दाइ यसको कति ?' कालो जिन्सले आफ्नो कम्मर नाप्दै एउटाले सोध्यो । 'सत्र सय,' सेल्सम्यानले थपे, 'पन्ध्र पर्सेन्ट छुट छ ।' २०-२२ उमेरका ४ जना ती ठिटाले अर्को सर्ट ताने । 'दाइ यसको चाहिँ कति ?' सेल्सम्यानले फेरि मूल्य बतायो । त्यो पनि किनेनन् । उनीहरुले बरु जुत्तातिर आँखा लगाए । यी केटाले त किन्ने छँाट-काँट नै देखाएनन् है ? 'मान्छे हेर्दै चिनिन्छ,' आरके फ्यान्सीका प्रोपाइटर विजय श्रेष्ठले भने, 'यस्ता अल्लारेले मोल मात्रै सोध्ने हुन्, त्यही भएर हाम्रा भाइ (सेल्सम्यान) ले वास्ता गर्दैनन् ।' कतै हामीले गलत समूहलाई त पछ्याइरहेका छैनौं ? शंका गर्न नपाउँदै तिनले केही पसल चहारे, हामी पछि पछि गइरह्यौँ । 'ह्या यहाँ भएन' भन्दै केही नकिनीकन ती बाहिरिए । हामी जिल्ल पर्‍यौँ ।

अब कता लाग्ने ? भिड छिचोल्दै हामी अर्को मलतिर हुइकियौं, वल्र्ड ट्रेड सेन्टर । 'किन ढिलो ?' दुई ठिटीले एउटा केटोलाई हकारेझै गरे । हामीले गेटदेखि नै तिनलाई पछ्याउन थाल्यौं । ती तेस्रो तल्लाको रोजारिनी शो रुमममा छिरे । 'ऊ त्यो हेर त क्या राम्रो छ,' कर्ली कपालवालीले भनिन्, 'मलाई मन पर्‍यो ।' हरियो वानपिस नै उनले किन मन पराइन् ?

'मलाई गि्रन मन पर्छ,' परिचय साटासाट भएपछि विद्या जोशीले भनिन्, 'फेरि यो दशैमा वान पिस किन्ने -मेरो) पहिल्यैदेखिको प्लान ।' ४ हजार ७ सय पर्ने त्यो लुगा ब्राण्डेड भएको विक्रेता छिरिङ वाइबाले बताइन् । 'धेरैले रोजेका छन्,' दशै नजिकिएसँगै तन्नेरी ग्राहक बढेका उनले जनाइन् । 'अरुबेला खासै बिक्री हुन्न थियो,' थपिन्, 'तर दशै भनेर हामीले थप सामान मगाउनु परिरहेको छ ।'

विद्यालाइ एउटामात्रै लुगा किनेर धित मर्दैन रे ! 'दशै पो हो त,' २२ वषिर्या हाँसिन्, 'मज्जाले किन्ने हो ।' दशैमा नै किन किन्नुपर्ने होला ? अरुबेला किन्दा चाहिँ नहुने ? सोधेँ । 'रमाइलो नि,' उनीसंगै आएकी विकिना क्षेत्री बोलिन्, 'बहाना पनि त हो नि !' विद्याले सही थापिन्, 'घरबाट पैसा माग्न सजिलो हुन्छ क्या ।' समग्रमा दशैमा किनमेल गर्नु आवश्यक भएको उनको ठहर रह्यो । 'उत्सव न हो,' अर्का २४ वषिर्य आर्जन पराजुलीले आफ्नो धारणा सुनाए, 'मज्जाले सेलिब्रेट गर्नलाई नयाँ -नयाँ लुगा त चाहिहाल्यो नि !'

अब उनीहरु अर्को पसलमा छिर्ने भए, लाइफ स्टाइलमा । 'ओई यो किन्,' विद्याले आर्जनलाई सुझाइन्,'तलाई क्या म्याच गर्छ ।' निलो जिन्स पाइन्टलाई आर्जनले हातमा लिए, आफुलाई ठिक हुने/नहुने जाँचे । 'किनौ त ?' सोधे । 'हो हो, किन् किन्,' बिकिनाले उक्साइन् । 'ल यो लाने,' उनले निधो गरे । 'साथीलाई मन पर्ने बित्तिकै किनिहाल्ने ?' जिस्क्याएँ, 'भरे घर लगेर मंमीले नराम्रो भन्नुभो भने ?' लजालु आर्जन हासे र थपे, 'यिनेरले हो मैले लगाको हेर्ने, मंमीले त एकछिन् त हो ।' जोसँग धेरै समय बिताइन्छ, उसले भनेको किन्ने बानी परेको उनले बताए । 'ओई तँ यो लैजा,' उनले विद्यालाई सुझाए ।

झण्डै १० वटा पसल चहारेपछि उनीहरुको सपिङ सकियो । 'न्यु पिन्च,' एकले अर्कोलाई चिमोटे । 'थ्याङ्क यु !' एकअर्कालाई फर्काए ।

झण्डै ३ घण्टाको किनमेल सकिएपछि मैले सोधेँ, 'अब अर्को सपिङ कहिले ?'

'हँ ?' विद्याले आँखीभौ तनक्क तन्काइन् र भनिन्, 'पकेट भरिएपछि, हिहिहि ।'

'म त,' बिकिनाले सपिङ ब्यागतिर आँखा लगिन्, 'यत्ति धेरै कहिले लाइसकिन्छ, तहिले ।'

यी दुईको गफ सुनिबसेका आर्जन मुसुक्क हाँसे, 'पकेट अनुसार ।' ह्याप्पी सपिङ ! ह्याप्पी दशैँ !

३ वटा मुख्य मल घुमेपछि हाम्रो निष्कर्ष :

के किन्न चाहन्छन् ?

बजारमा चलेको फेसन ।

आफुलाई मनपर्ने फिल्मी कलाकारले लगाएको ।

मिल्ने साथीले मन पराएको ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks