काठमाडौ, आश्विन २७ - प्रधानमन्त्री माधवकुमार नेपालले सञ्चारक्षेत्रमा रहेको दण्डहीनताको अन्त्यका लागि भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघलाई सल्लाह दिएका छन् । बुधबार प्रेस स्वतन्त्रताको पछिल्लो अबस्था बारे जानकारी गराउन पुगेका महासंघसहित पत्रकारहरुलाई प्रधानमन्त्रीले भने, 'नराम्रो काम गर्नेले सजाय पाएन भने राम्रो काम गर्नेलाई प्रोत्साहन मिल्दैन ।'
महासंघका अध्यक्ष धर्मेन्द्र झाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री नेपाललाई धरान र मुस्ताङमा सुरक्षाकर्मी र प्रशासनबाटै सञ्चारकर्मीमाथि असहयोग र दूर्व्यवहार भएको बताएका थिए ।
त्यसैगरी फर्जी इमेलको बढोत्तरी भएबाट कैलाली, कास्की र काठमाडौँमा समेत सञ्चारकर्मी नै पीडित बनेको भन्दै इमेल र इन्टरनेटको प्रयोगलाई व्यवस्थित तुल्याउन प्रधानमन्त्रीसँग माग गरेका थिए ।
प्रधानमन्त्री नेपालले लोकतन्त्रको स्थापनापछि मुलुकमा पत्रकारिता र सञ्चारक्षेत्र फस्टाएको बताउँदै प्रेस स्वतन्त्रताको पक्षमा आफू सचेत रहेको उल्लेख गरेका थिए ।
'समाजका नराम्रा पक्षलाई बाहिर ल्याउने पत्रकारको रक्षा जुनसुकै सरकारले पनि गर्नुपर्छ' उनले भने, 'अपराधी र माफियाविरुद्ध जुध्ने पहिलो काम पत्रकारबाटै हुने गरेको छ ।' सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले गएको डेढवर्षमा पत्रकारिता गरेकै कारण मारिनेक्रम रोकिएको उल्लेख गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks