Loving nepal news

Monday, October 25, 2010

लडाकुको चीन भ्रमणबारे सरकारले अनमिनसँग जवाफ माग्यो * जवाफ हेरेर के गर्ने निर्णय लिइनेछः शान्तिमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौं, कार्तिक ८ - सरकारले नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) सँग माओवादी लडाकुका कमाण्डरहरुको हालै भएको चीन भ्रमणबारे जवाफ माग गरेको छ ।

सरकारले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमार्फत् सोमबार लडाकुको चीन भ्रमणबारे अनमिनसँग जवाफ मागेको हो । 'हामीले लडाकुको भ्रमणबारे जानकारी मागेका छौ । कस्तो जवाफ आउँछ, त्यो हेरेर के गर्ने निर्णय लिइनेछ,' शान्तिमन्त्री रकम चेम्जोङले भने । अनमिनका प्रवक्ता कसमस विश्वकर्माले सोमबार मात्रै सरकारी पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसको जवाफ दिइने जानकारी दिए ।

सरकारले खासगरी माओवादी लडाकुका तीन वटा मुख्य शिविरका कमाण्डरको चीन भ्रमणबारे अनमिनलाई जानकारी भए नभएको विषयमा केन्दि्रत रही पत्र पठाएको स्रोतले बतायो । माओवादी सेनाका तीन जना डिभिजन कमाण्डरहरु सुकबहादुर रोका मगर, तेजबहादुर ओली र महेन्द्र शाही असोज २९ गते चीन भ्रमणमा गएका थिए । मगर दोस्रो, ओली चौथो र शाही छैठौं डिभिजनका कमाण्डर हुन् ।

सरकारी पत्रमा तीन जनाको नाम नै किटेर 'माओवादीका तीन जना कमाण्डरहरु चीन भ्रमणमा गएको कुरा सन्चारमाध्यममा आएको छ । यसबारे अनमिनसँग जानकारी छ, छैन वा बिदा लिए, नलिएकोबारे जानकारी पाऊँ' भन्ने व्यहोरा उल्लेख भएको मन्त्रालयस्रोतले जनायो । लडाकु र हतियारको अनुगमनका साथै उनीहरुको बिदाबारे हेर्ने जिम्मेवारी अनमिनको हो ।

शान्ति सम्झौतामा एकपटकमा १२ प्रतिशतभन्दा बढी लडाकु बिदामा बस्न नपाइने प्रावधान छ । सरकारले माओवादी लडाकु नीतिगत रुपमा विशेष समितिमातहत आइसकेकाले यसको अनुमतिबिना विदेश भ्रमण गर्नु अनुचित भएको बताएको छ । माओवादी स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनले १२ प्रतिशत बिदा बस्न पाउने प्रावधान भएकाले बिदामा लडाकु जहाँ गए पनि त्यसमा आपत्ति जनाउनु र अनमिनसंग स्पष्टिकरण सोध्नु औचित्यहीन भएको बताए ।

ती तीन कमाण्डर माओवादी नेता पुन, विशेष समिति तथा माओवादी पोलिटब्युरो सदस्य सदस्य जनार्दन शर्मा, अर्का पोलिटब्युरो सदस्य तथा माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल, पुनपत्नी तथा सभाषद् ओनसरी घर्तीसंगै साताव्यापी चीन भ्रमणमा गएका हुन् । उनीहरु बिहीबार स्वदेश फर्केका थिए । लडाकुको चीन भ्रमणलाई रहस्यका रुपमा हेरिएको छ ।

माओवादीले भने दसैंको बिदा पारेर एक आइएनजीओको निमन्त्रणमा विशुद्ध रुपमा घुम्न गएको बताएको छ । भ्रमणका क्रममा चीन तिब्बतको ल्हासा, छेन्दु, चीनको प्रमुख व्यापारिक केन्द्र सांघाइ, राजधानी बेइजिङ, गोन्झओ, हुनानलगायतका क्षेत्र घुमेको नेता पुनले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks