Loving nepal news

Saturday, October 9, 2010

पूर्वराजाले उदघाटन गरे बुहारीको संस्था

काठमाडौ, आश्विन २३ - ज्ञानेन्द्र शाह उतिबेला राजा छँदा जुनसुकै महत्त्वपूर्ण काम शुक्रबार गर्न रुचाउँथे । राजाबाट हटेर नागरिक भएको ३ वर्ष ४ महिना ७ दिनपछि शुक्रबारै घटस्थापनाको साइत पारेर उनले नयाँ काम गरे, बुहारी हिमानीको नामको 'ट्रस्ट' उदघाटन ।

आफू राजा भएपछि दसैं छेका पारेर छोरा पारसलाई युवराज घोषणाको विवादास्पद निर्णय गराएका ज्ञानेन्द्रले यतिबेला दसैंकै समयमा बुहारीलाई सक्रिय गराउँदा संस्था सुरुवात गराएका छन् । शुक्रबार स्थापित 'हिमानी कोष' मा पूर्वराजपरिवारका पाँच महिला सदस्यसहित आठ जनाको कार्यसमिति छ ।

संस्थामा हिमानीकी नन्द प्रेरणा सिंह उपाध्यक्ष छिन् । त्यस्तै कोषाध्यक्षमा स्वर्गीष् धीरेन्द्र शाहकी माइली छोरी शिताष्मा, सदस्यमा जेठी छोरी पूजा शाही र कान्छी दिलासा राणा छन् । त्यस्तै शाही परिवारकै पावना शाह सचिव र सामाजिक कार्यमा संलग्न अर्चना शर्मा सदस्य छन् । सोल्टी होटलमा गरिएको उदघाटन समारोहमा ज्ञानेन्द्रकी दिदी केतकी चेस्टर पनि सहभागी थिइन् । अध्यक्ष हिमानीका पति पारस भने गएनन् ।

कार्यक्रममा हिमानीले समाजसेवाबारे अत्यधिक रुचि भएकाले कोष स्थापना गरेको बताइन् । संवाददाताले समाजसेवामार्फत राजनीतिमा लाग्नु भएको हो ? भनी सोध्दा उनले भनिन्, 'कृपया समाजसेवालाई राजनीतिमा नजोडिदिनुहोला । यो पवित्र कार्यबाट दुःखी नेपालीको आँखाको आँसु पुच्छ्न र अनुहारमा मुस्कान ल्याउन चाहन्छु ।' १० दिनअघि काठमाडौं प्रशासनमा दर्ता गरिएको संस्थामा महिलामात्रै रहनेछन् । यो संस्था ५० लाख कोषबाट सुरु गरिएको हिमानीले बताइन् । पारदर्शिता अपनाई कुनै व्यक्ति वा संस्थाले आर्थिक लगायतका सहयोग गरे स्वीकारिने उनले जानकारी दिइन् । मुख्य कार्यालय आफ्नै शीतल निवास महाराजगन्ज राखिएको कोषको कार्यालय तिहारपछि सहरमा सारिने छ । हाल दोलखालाई नमुना गाउँका रूपमा छनोट गरेको कोषले शिक्षा, स्वास्थ्य, बालबालिका, वृद्धवद्धा र युवाका लागि काम गर्ने घोषणा गरेको छ ।

यसको कार्यक्षेत्र नेपालभर रहने बताइएको छ । पूर्वरानी कोमल संरक्षक रहेको कोष उद्घाटनमा हिमानीले पहिलोपटक फोरमबाट बोल्दै ससुरा र सासूलाई 'श्री ५' ले सम्बोधन गरिन् । त्यस्तै ज्ञानेन्द्र पुत्री प्रेरणाले स्वागत भाषणमा आमा-बुवालाई 'श्री ५' जोडिन् । संस्थाको परिचय पुस्तिकामा लेखिएको पदाधिकारीको नाममा पनि संरक्षक कोमललाई 'बडामहारानी' विशेषण दिइएको छ ।

विभिन्न कारणले देश पिछडिँदै गइरहेको अवस्थालाई मनन गर्दै कोष स्थापना गरिएको हिमानीले बताइन् । 'सानो प्रयासबाट महत्त्वपूर्ण योगदान पुगोस् भन्ने अभिप्रायले कोष स्थापना गरिएको हो,' सामाजिक सेवाको क्षेत्रमा विशेष अभिरुचि

भएको उल्लेख गर्दै उनले भनिन्, 'स्थानीय स्रोत र साधन उपयोग र स्थानीय निकायहरूसँग समन्वय गरी काम गर्नेछौं ।'

कोष स्थापना गर्नुको कारण खुलाउँदै ३४ वर्षीया पूर्वयुवराज्ञीले भनिन्, 'राजधानीबाट नजिक हुँदाहुँदै दोलखाका बासिन्दाले सामाजिक समस्या भोगिरहेकाले त्यहाँ काम गर्न इच्छुक भएकी हँ ।' पत्रकारसहित राजपरिवारका शुभेच्छुक र सामाजिक प्रतिष्ठा बनाएका व्यक्तिहरू समेत सहभागी समारोहमा उनले हौसला, सहयोग र सल्लाहको अपेक्षा राखिन् ।

स्वागत मन्तव्यको जिम्मा उपाध्यक्ष प्रेरणाको थियो । उनले फोनका माध्यमबाट बोलाइएका सबैलाई धन्यवादसहित दसंै र तिहारको शुभकामना दिइन् । 'जागरुक समाज उज्जवल भविष्य' नारा दिइएको संस्थाको उदघाटनमा व्यापारी, चिकित्सक, कानुनविद्, कलाकार, खेलाडी, उद्योगपतिसहित करिब ४ सय थिए । उक्त कार्यक्रमलाई निजी टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेका थिए । २२ मिनेटको उदघाटनपछि हिमानीले करिब २ घन्टा शुभेच्छुकसँग बिताइन् । समारोहमा राजपरिवारका सदस्यले आपसमा संवाद गर्दा अंग्रेजी भाषाको प्रयोग बढी गरिएको थियो । प्रमुख अतिथि बनेका ज्ञानेन्द्र सोल्टी पुगेपछि पे्ररणाले स्वागत मन्त्व्य दिएकी थिइन् । त्यसपछि पूर्वराजाले पानसमा बत्ती बालेर उद््घाटन गरेका थिए । त्यस्तै सचिव पावनाले संस्थाको उद्देश्य र कार्यक्षेत्रबारे मन्तव्य दिएकी थिइन् । उनको मन्तव्यसाथ प्रोजेक्टरमा दोलखाका तस्बिर र वृत्तचित्र पनि देखाइएको थियो । कार्यक्रम सकिएपछि बलिउड नायिका मनीषा कोइराला पति सम्राट् दाहालका साथ सोल्टी पुगेकी थिइन तर त्यसबेला हल करिब रित्तिइसकेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks