Loving nepal news

Sunday, October 3, 2010

द्वन्द्वको घाउ बोकेर दसैंद्वन्द्वको घाउ बोकेर दसैं

जितेन्द्र साह

काठमाडौ, आश्विन १८ - दोलखा मालु-५ का शिवहरि पोखरेलले गाउँ (घर) मा दसैं नमनाएको एक दशक भयो । सदरमुकाम चरिकोटबाट करिब ३८ किमि दक्षिण गाउँका उनी द्वन्द्वको घाउ बोकेर राजधानी छिरे । फर्किने 'वातावरण अनुकूल नभए' पछि काठमाडौ गोठाटार-७ काँडाघारीमा बसेर श्रीमती र नातिनीसँगै दसैं मनाउँदै आएका छन् । 'त्यतिबेला मन विरक्तिएर आउँछ,' ५७ वर्षेले खेतीपाती गरेर मनाएको गाउँले दसैं सम्झे ।
द्वन्द्वका बेला माओवादीविरुद्ध सुराकी गरेको आरोप उनलाई लाग्यो । ०५६ फागुनमा पोखरेलले हात, खुट्टा र करङ भाँच्चिने गरी यातना पाए । उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएका उनी फेरि गाउँ फिर्न सकेनन् । 'अरू सपरिवार घरमा खसी काटेर दसैं मनाएको देख्दा मन दुख्छ नि', पोखरेल भन्छन्- 'सहरिया छिमेकी र यहीं बसेका आफन्तले बोलाउँदा पनि मन खिन्न हुन्छ ।'
केही समय राज्यबाट मासिक सय रुपैयाँ भत्ता पाएका उनलाई सहरको महँगीमा बाँच्न धौधौ छ । 'खसीबोका किन्ने रकम जुटाउन गाह्रो छ, जहाँ बस्यौं, सरकारले त्यहींबाट लखेट्छ,' उनी भन्छन् । सर्लाही रानीगन्ज बस्ने जेठी छोरी रोशनी गुरागाइर्ंले पठाउने मासिक खर्चले उनले दसैं मान्नुपर्ने छ । गाउँ फर्केर दसैं मनाउने इच्छा पूरा गर्न उनले सकेका छैनन् ।
माओवादीपीडित राष्ट्रिय संघर्ष समितिका अनुसार पोखरेलजस्ता झण्डै ३ हजार निम्नस्तरका नागरिक उपत्यका आसपासमा छन् । समितिका अध्यक्ष भोजराज तिमिल्सैनाका अनुसार करिब ३६ हजार घरमूली समितिमा आबद्ध छन् । तीमध्ये अधिकांश ज्याला मजदुरी, होटेल र चिया पसल गरेर बसेको उनले बताए ।
आठ वर्षदेखि स्वयम्भू क्षेत्रमा चिया पसल गरेर बसेकी ४७ वषर्ीया मीना तिवारी तिनैमध्येकी अर्की हुन् । उनको जीवनमा दसैं-तिहारको कुनै रौनक छैन । 'मैले चाँडपर्व भनेको बिर्सिसकंे,' नवलपरासी अग्यौली-९, सातघरेकी उनी भन्छिन् ।
उनको जीउमा द्वन्द्वका बेला माओवादीबाट लागेका गोलीका निशान छन् । आरोप थियो सुराकी । २०५७ माघ २ मा सामान्य पानी विवादमा मीनाको कान्छो छोरा नलिनबाबुको दाहिने हात माओवादीले काटिदिए । गोरखा जौबारी गाविस सचिव श्रीमान्ले २०५८ देखि जागिर छाडेर बेपत्ता छन् । २०५९ भदौ ३० मा दिदी संगीतालाई नवलपरासी मैनाघाट-६, डुवाकुन घरमा छोड्न गएका बेला माओवादीले सारा गाउँलेका अगाडि दिएको यातनाबाट जेठा छोरा रविनबाबुको मृत्यु भयो ।
२०६० पुस १० मा राजमार्गमै रहेको तेह्र कोठाको घरमा आगजनी, लुटपाट र विस्फोट भएपछि उनी घरबारविहीन भइन् । प्रहरी चौकी र सेनाको ब्यारेकमा शरण लिंदै चिया पसल गरेर बसेकी तिवारीमाथि २०६० वैशाख १२ मा नवलपरासी कावासोती शिव मन्दिर-३ बजारमा गोली प्रहार भयो । भरतपुर मेडिकल कलेजमा तीन महिनाको उपचारपछि बचेकी उनको जीवन भने 'मरेतुल्य' भयो । 'दिसा पिसाब हुन्न, बोल्यो भने घाँटी पोल्छ,' एकछिन नबोल्दै पानी खाइरहेकी उनले भनिन्- 'बाँच्नलाई दैनिक सय रुपैयाँको औषधि खानुपर्छ, खुसी कहाँबाट आउनु ?' तिवारीका अनुसार २०५० मा ११ वर्षकी बालिकाको बलात्कारमा संलग्नलाई कारबाही गर्न भूमिका निर्वाह गरेको र तीमध्ये केही पछि माओवादीमा लागेपछि झूठो सुराकीको आरोप लगाउँदै लगातार सारा परिवार 'बर्बाद' पारेको उनको आरोप छ । उनी तात्कालीन मिलिजुली महिला सामुदायिक वनकी अध्यक्षसमेत थिइन् ।
पीडितको हक, हित र अधिकारका लागि गठित समितिले २०५६ देखि चन्दा संकलन गरेर हरेक वर्ष दसैंमा वनकाली, तीनकुने वा रत्नपार्कमा सामुदायिक भोजन आयोजना गर्दै आएको छ । 'यसपाली भने फरक किसिमले मनाउने हो,' समितिका अध्यक्ष तिमिल्सैनाले भने, 'हाम्रो अधिकारको ठेक्कापट्टा लिएर बसेका नेता, सभासद् र मन्त्रीको घर/घरमा गई फूल हातमा थमाउँदै शुभकामना दिने हो ।' उनले यसमा गान्धीगिरीको झंै व्यंग्य हुने औंल्याउँदै भने, 'पीडितको जे गति भए पनि दुर्गा भवानीले हाम्रा नेताहरूको फलिफाप गरून् ।'
राज्यद्वारा बेपता योद्धा परिवार समाजका अध्यक्ष र माओवादी सभासद् एकराज भण्डारीले आफ्नो पार्टीको गाउँसम्म संगठन भएकाले केही अपवाद बाहेक राज्यद्वारा पीडित राजधानीमै बसेर दसैं मनाउनुपर्ने अवस्था नरहेको बताए । त्यतिखेर विस्थापित भएका प्रायः संगठनकै नेता तथा कार्यकर्ता भएकाले आ-आफनो स्तर, शैली र गच्छेअनुसार दसैं मनाउने गरेको उनले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks