Loving nepal news

Saturday, September 4, 2010

कसलाई कति दिए बैंकले

गोकर्ण अवस्थी

काठमाडौ, भाद्र १९ - वाणिज्य बैंकहरूले आफू सम्बद्धलाई करिब ३१ अर्ब ७० करोड रुपैयाँ प्रतिफल दिएका छन् । देशभर सञ्चालित २७ वाणिज्य बैंकले सेयरधनीलाई नाफा, कर्मचारीलाई तलब र बोनस एवं सरकारलाई करबापत यो रकम दिएका हुन् ।

बैंकले आर्थिक वर्ष २०६६/६७ मा १४ अर्ब ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यो कर्मचारीको बोनस र कर कट्टी गरेपछिको रकम हो । यो रकम लगानीकर्ताले पाउने नाफा हो । कानुनी व्यवस्थाअनुसार खुद नाफाको २० प्रतिशत रिजर्भ (जगेडा कोष) मा राखेर बाँकी साधारणसभाले नगद लाभांश र बोनस सेयरका रूपमा सेयरधनीलाई वितरण गर्न सकिन्छ । 'बैंकको अम्दानीबाट कम्पनीले रिजर्भ, सरकारले कर, लगानीकर्ताले नाफा र कर्मचारीले तलबभत्ता पाउँछन्,' बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भण्डारीले भने ।

धेरै नाफा गर्ने क्षेत्रका रूपमा चिनिएका वाणिज्य बैंकको नाफा गत वर्षभन्दा १७ करोड रुपैयाँ मात्र बढेको छ । 'चुक्ता पुँजी र रिजर्भसँग नाफाको तुलना गर्दा गत वर्षभन्दा यस वर्ष कम नाफा भएको छ,' संघका अध्यक्ष ससिन जोशीले भने । कुल सेयरधनी कोष (सेयर होल्डर्स इक्युटी) को तुलनामा नाफा (रिटर्न अन इक्युटी) करिब २० प्रतिशतको हाराहारीमा छ । जगेडा कोष (रिजर्भ) नाफाबाट कम्पनीमै लगानी हुने रकम हो । साधारणतया चुक्ता पुँजी, जगेडा कोष र सेयर पि्रमियमलाई सेयरधनीको कोष भनिन्छ । नाफा धेरै भए पनि कुल लगानीसँग तुलना गरी निकालिने रिटर्न अन इक्युटीले लगानीकर्ताले पाउने वास्तविक प्रतिफल देखाउने विज्ञहरू बताउँछन् ।

गत वर्षको पहिलो ६ महिनामा अन्धाधुन्ध लगानी गरेका वाणिज्य बैंकहरूलाई तरलता अभाव भएपछि पछिल्लो समयमा रोक लगाइँदा नाफामा असर परेको विज्ञहरू बताउँछन् । तरलता अभाव चुलिँदै गएपछि पुसयता वाणिज्य बैंकले लगानी करिब करिब बन्दै गरेका छन् । पहिलो ६ महिनामा करिब ७० अर्ब कर्जा लगानी गरेका बैंकहरूले पछिल्लो समय बन्द गर्दा ठूलै प्रभाव भने नपरेको हो ।

वाणिज्य बैंकहरूले गत वर्ष ५ अर्ब ८ करोड रुपैयाँ राजस्व बुझाएका छन् । राष्ट्र बैंकले प्रकाशन गरेको बैंकहरूको गत वर्षको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार अघिल्लो वर्षभन्दा झन्डै १ अर्ब रुपैयाँ बढी करका लागि व्यवस्था गरिएको छ । गत वर्ष बैंकहरूले ४ अर्ब ५ करोड रुपैयाँ करका लागि व्यवस्था गरेका थिए ।

गत वर्ष सबैभन्दा धेरै कर बुझाउने १० कम्पनीमध्ये आधा वाणिज्य बैंक छन् । इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेस्ट बैंक उत्कृष्ट १० कम्पनीको सूचीमा परेका छन् ।

बैंकका अर्का सरोकारवाला कर्मचारीहरूले करिब १२ अर्ब ३० करोड रुपैयाँ तलब र बोनसबापत पाएका छन् । गत वर्ष बैंकहरूले कर्मचारी खर्च भनेर १० अर्ब ४५ करोड रुपैयाँ छुट्याएका छन् । यसैगरी बैंकहरूले १ अर्ब ८५ करोड रुपैयाँ बोनस पाएका छन् । वाणिज्य बैंकहरूमा करिब १५ हजार ५ सय जनाले रोजगारी पाएका छन् । तीन सरकारी बैंकमा मात्रै झन्डै ९ हजार ५ सय कर्मचारी कार्यरत छन् ।

नाफासँगै कर्मचारीको सुविधामा पनि बैंकहरूले सामान्य वृद्धि गरेका छन् । गत वर्षको भन्दा करिब २३ प्रतिशत तलब खर्च बढेको छ । बैंकहरूको शाखा र कर्मचारी संख्या बढेकाले यो वृद्धि भएको जानकारहरू बताउँछन् । यता बोनसमा भने ७ प्रतिशत वृद्धि भएको छ ।

हालै सञ्चालनमा आएको मेगा बैंकलाई यसमा समावेश गरिएको छैन । हाल मेगासहित २८ वाणिज्य बैंकले सेवा दिइरहेका छन् । यसै साता कमर्ज एन्ड ट्रस्ट बैंकले पनि सञ्चालन अनुमति पाएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks