Loving nepal news

Wednesday, September 22, 2010

अनमिन बहिर्गमनतर्फ केन्द्रित हुने * लनग्रेनले भनिन्-क्यान्टोन्मेन्टका लडाकु गणना छिट्टै * -सरकारको वैधानिकतामाथि प्रश्न उठाएको ह

कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन ७ - राष्ट्रसंघीय मिसन अनमिनले थपिएको समयावधिमा शान्ति प्रक्रिया समापनका लागि सहयोग पुर्‍याउँदै व्यवस्थित बहिर्गमनको योजना तर्जुमामा केन्दि्रत रहने जनाएको छ । अनमिन प्रमुख करिन लनग्रेनले बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय सुरक्षा परिषद् कार्यादेशको अवधि लचिलो नहुने उल्लेख गर्दै चार महिनापछि र्फकने सन्देश दिइन् ।

'सुरक्षा परिषदले तोकेको कार्यादेश अवधि लचिलो नहुने भएकाले अवधि सकिनेबित्तिकै अनमिनले आफ्नो कार्यादेशमा तोकिएको समग्र कामलाई रोक्नुपर्ने हुन्छ,' लनग्रेनले भनिन्, 'अन्तिमपटक थपिएको कार्यादेशअनुसार आगामी माघ ८ सम्म पक्षहरूको अनुरोधबमोजिम शान्ति प्रक्रियाको समापनमा उपयुक्त सहयोग पुर्‍याउन र आफ्नो व्यवस्थित बहिर्गमनको योजना तर्जुमा गर्न अनमिन केन्दि्रत रहनेछ ।'

प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भदौ २८ गते ४ बुँदे सहमति भएपछि सरकारले भदौ २९ गते अनमिनको म्याद अन्तिमपटक चार महिनाका लागि थप्न आग्रह गर्दै राष्ट्रसंघलाई पत्र पठाएको थियो । सरकारको पत्रको आधारमा सुरक्षा परिषद्ले भदौ ३० गते अनमिनको म्याद अन्तिमपटक थपेको हो ।

लनग्रेनले 'जेन्टलमेन एगि्रमेन्ट' भनिएको उक्त चारबुँदे सहमति र विशेष समितिले आफ्नो काम पुनः गरेको अवस्थाप्रति खुसी व्यक्त गरेकी छन् । उनले अनमिनको समयावधिबारे सुरक्षा परिषद्को निर्णयलाई ध्यान दिँदै दलहरूले द्रुतगतिमा काम गर्ने आशा जगाएको पनि बताइन् ।

समयतालिका र मापदण्डसहित माओवादी लडाकु समायोजन र पुनःस्थापनासम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि सुरक्षा परिषद्ले सरकार र माओवादीलाई पुनः आग्रह गरेको बताउँदै लेनग्रेनले भनिन्, 'प्राविधिक समितिले हालै सुरु गरेको योजना र तयारीको कामलाई हामी प्रोत्साहन गर्न चाहन्छौं र यो नै नयाँ सचिवालयको मुख्य हिस्सा हुनेछ ।'

उनले क्यान्टोन्मेन्टमा रहेका लडाकु गणना पनि छिट्टै सुरु गर्ने बताइन् । उनका अनुसार त्यस विषयमा माओवादीसँग छलफल चलिरहेको छ । अनमिन र माओवादीबीच लडाकु संख्या गन्ने सहमति यसअघि नै भए पनि लनग्रेनले त्यसको औपचारिक खुलासा सुरक्षा परिषद्को बि्रफिङमा मात्र गरेकी थिइन् । सरकारले उक्त सहमतिका विषयमा जानकारी नदिएको भन्दै अनमिनको आलोचना गरेको थियो ।

लनग्रेनले 'नयाँ विधिवत गठित सरकार' को सन्दर्भ निकालेर वर्तमान सरकारको वैधानिकतामा प्रश्न नउठाएको दाबी गरिन् । 'नयाँ विधिवत गठित सरकारको सन्दर्भले सरकारको वैधानिकतामाथि प्रश्न नउठाएको र यथार्थमा चालू निर्वाचनको सन्दर्भमा यथासमयमा गठन हुने नयाँ सरकारलाई मात्रि इंगित गरेको बताउन चाहन्छु,' उनले भनिन् । राष्ट्रसंघीय महासचिव बान कि मुनको प्रतिवेदनमा अनमिनको समयावधिका विषयमा नयाँ विधिवत गठन हुने सरकारसँग छलफल गरी निक्र्योल गर्नुपर्ने उल्लेख छ ।

चासो

यसैबीच अनमिनले माओवादी लडाकु संलग्न भएको आरोप लागेको दुई घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । अनमिनको विज्ञप्तिअनुसार सिन्धुलीको थोत्री गाउँमा गत भदौ ३१ गते भएको गाउँलेहरूसँगको झडप र गुल्मीस्थित ग्वाघा गाउँमा भदौ ८ गते भएको डकैतीमा माओवादी लडाकु संलग्न भएको आरोपप्रति ध्यानाकर्षण गराउँदै अनमिन हतियार अनुगमन कार्यवाहक प्रमुखले माओवादी सेनाका कमान्डर नन्दकिशोर पुनलाई पत्राचार गरेको छ । उक्त पत्राचार मंगलबार गरिएको हो ।

उक्त घटनाका विषयमा हतियार तथा सेना व्यवस्थापन अनुगमनसम्बन्धी सम्झौताको पालना भएको नभएको विषयमा संयुक्त अनुगमन समन्वय समितिको आउँदो बैठकमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

अनमिनले यी घटनामाथि छानबिनका लागि प्रहरीलाई सहयोग गर्न माओवादी र सिन्धुली र नवलपरासीस्थित माओवादी लडाकुका दोस्रो र तेस्रो शिविरका कमान्डरलाई आह्वान गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks