सरोजराज अधिकारी
काठमाडौ, आश्विन १५ - राजनीतिक अन्योलले सुरक्षामा गम्भीर प्रभाव परेकाले सेनाले अझ बढी उच्च सतर्कता अपनाउनुपर्ने सैनिक अधिकृतहरूले बताएका छन् ।सैनिक मुख्यालयमा बिहीबार सुरु उच्च सैनिक अधिकृतहरूको समन्वयात्मक बैठकमा अधिकांश अधिकृतले यस्तो धारणा राखेका हुन् । 'राजनीतिक अन्योल बढ्दो छ, सरकार बन्न सकेको छैन । त्यसमाथि बजेट नआएकाले अर्थतन्त्र डामाडोल बन्दै छ,' एक अधिकृतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'यसले सुरक्षामा गम्भीर प्रभाव पारेको छ । सेनाले यसलाई गम्भीरतासाथ लिँदै सतर्कता बढाउनुपर्छ ।'
लामो समयदेखि गोलीगठ्ठा, हतियार आयात गर्न नपाउँदा अपरेसनल क्षमतामा ह्रास आएकाले सेनाले अन्य अवस्थाभन्दा बढी सतर्कता अपनाउनुपर्ने सैनिक अधिकृतहरूको भनाइ थियो ।
सरकार कामचलाउ भएकाले सेनाका केही प्रशासनिक कार्यलाई समेत बाधा पारेको अधिकृतहरूले जनाएका छन् । समयमै बजेट नआए सैनिक व्यक्तिको तलबमा समेत नकारात्मक प्रभाव पार्ने र अन्य पूर्वाधार विकासका काम त ठप्प नै हुने अधिकृतहरूको भनाइ छ । यसले यसै आर्थिक वर्षभित्र दुई तिहाइ सैनिक अधिकृतलाई आवास पुर्याउने प्रधानसेनापति गुरुङको योजनालाई समेत प्रभाव पार्ने पृतनापतिहरूले जनाएका थिए ।
प्रधानसेनापति गुरुङले गत वर्ष आफू नियुक्त हुनासाथ तालिम वर्षका रूपमा मनाउने निर्णय गरेका थिए । यो वर्षलाई पनि सेनाले तालिम वर्षका रूपमा मनाउने निर्णय गरिसकेको छ । 'तालिमबाट नै सेनाको व्यावसायिकता र क्षमता अभिवृद्धि गर्न सकिन्छ,' एक उपरथीले भने, 'सैनिक प्रशिक्षण विद्यालयमा विदेशी सैनिकलाई समेत सामेल गर्दै ज्ञान आदान प्रदान गर्ने नीतिलाई अझ बढावा दिने हाम्रो सोच छ ।'
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति छत्रमानसिंह गुरुङको प्रमुख आतिथ्यमा शुक्रबारसम्म चल्ने बैठकमा
(पि्रन्सिपल स्टाफ अफिसर्स), पृतनापति तथा विभागीय निर्देशकको जिम्मेवारी सम्हालिरहेका अधिकृतको सहभागिता छ । निर्देशनालय प्रमुख तथा सैनिक प्रवक्ता रमीन्द्र छेत्रीका अनुसार ६ जना पृतनापतिले आ-आफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण, वस्तुस्थिति, विद्यमान समस्या तथा भविष्यमा गरिने कार्ययोजनाबारे आफ्नो राय सुझावहरू प्रस्तुत गरिसकेका छन् ।
'सैनिक व्यक्तिको रासनमा निकै सुधार भएको र कुनै गुनासो नरहेको कुरा आएको छ,' उनले भने, 'यसैगरी यस वर्षभित्र दुईतिहाइ सैनिकलाई आवासको व्यवस्था गर्ने लक्ष्यबमोजिम गत वर्षदेखि नै सुरु भएको पूर्वाधार निर्माणको कार्य तीव्र रूपमा अघि बढेको जानकारी आएको छ ।' भौतिक पूर्वाधारको अभावमा झन्डै ५१ प्रतिशत सैनिक अहिले पनि बंकरमा बसोबास गर्दै आएको सेनाको भनाइ छ ।
प्रवक्ता छेत्रीका अनुसार सैनिक जवानहरूसँग सम्बन्धित कल्याणकारी योजनालाई अझ व्यापक र विस्तार गर्ने सेनाको योजना छ । शुक्रबार विभिन्न विभागसँग सम्बन्धित विविध विषयवस्तुबारे छलफल हुने निर्देशनालयले जनाएको छ । सेनामा आवश्यक अवस्थाबाहेक नियमित रूपमा वर्षको एकपटक यस्तो बैठक बस्दै आएको छ । बैठकमा भाग लिन पूर्व, मध्य, पश्चिम, मध्पश्चिम र सुदूरपश्चिम गरी पाँचवटै क्षेत्रीय पृतनाका प्रमुख उपरथीहरू राजधानीमा भेला भएका छन् । यसबाहेक उपत्यका पृतनापति, मुख्यालयअन्तर्गत रहेका निर्देशनालय र महत्त्वपूर्ण विभागका प्रमुखहरूको बैठकमा उपस्थिति रहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks