काठमाडौं, भाद्र १७ - यो हप्ता नेपालबाट अमेरिका प्रस्थान गर्ने भुटानी शरणार्थीको सङ्ख्या तीसहजार पुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
अमेरिका समेतका पश्चिमी मुलुकमा पुनर्स्थापित हुने भुटानी शरणार्थीको सङ्ख्या यो समेत ३५ हजार पुग्नेछ । राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डिलिसीको भनाइ उद्धृत गर्दै भनिएको छ, "हाम्रा साझेदारसँग मिलेर हामीले यी व्यक्तिका दुर्भाग्यपूर्ण तथा प्रायः दुःखदायी अवस्थालाई आशापूर्ण अवस्थामा परिणत गर्न सहयोग पुर्याउन पाएकोमा हामी सन्तुष्ट छौं ।"
अमेरिकाले राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय, अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र अष्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड्स, डेनमार्क, नर्वे, न्यूजिल्याण्ड र बेलायतको सहकार्यमा सन् २००८ को सुरुदेखि भुटानी शरणार्थीको पुनर्स्थापन प्रक्रिया सुरु गरेको थियो ।
अमेरिकाले प्रत्येक वर्ष विश्वभरिबाट करिब ७५ हजार शरणार्थीलाई आवास प्रदान गरिरहेको राजदूतावासले जनाएको छ । भुटानी पुनर्स्थापना कार्यक्रम हाल अमेरिकाको तेस्रो ठूलो पुनर्स्थापना कार्यक्रम रहेको जनाइएको छ ।
भुटानी शरणार्थी अमेरिकाका ५० वटै राज्यमा पुनस्र्थापित गरिएका र उनीहरूले अमेरिकी सङ्घीय तथा राज्यस्तरीय सरकारका साथसाथै गैरसरकारी संस्थाको सहयोग प्राप्त गरिरहेका छन् । अझै ७५ हजार भुटानी शरणार्थी झापा र मोरङका शिविरमा आश्रय लिएर बसिरहेका छन् ।
अमेरिकाले भूटान सरकारलाई स्वदेश फर्कन चाहने योग्य व्यक्तिलाई अनुमति प्रदान गर्न निरन्तर आग्रह गर्दै आएको र नेपालमा रहेका सम्पूर्ण भुटानी शरणार्थीका लागि स्थायी समाधानको अर्को एउटा महत्वपूर्ण अङ्गको रुपमा पनि यसलाई अगाडि बढाउँदै लैजाने प्रतिवद्धता राजदूतावासले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks