Loving nepal news

Friday, September 17, 2010

उदघाटन गर्न दुई नेताबीच हानाथाप


कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन २ - महाधिवेशन उद्घाटन गर्ने सबाललाई लिएर सभापतिका प्रमुख दुई प्रत्यासी कार्यवाहक सभापति सुशील कोइराला र शेरबहादुर देउवाबीच विवाद उत्पन्न भयो । कांग्रेस परम्पराअनुसार महाधिवेशनको उद्घाटन र झन्डोत्तोलन पार्टी सभापति या कार्यवाहक सभापतिले गर्ने परम्परा भए पनि देउवाले आफू सबभन्दा वरिष्ठ नेता भएकाले ती दुवै कार्य आफैंले गर्न पाउनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको हो ।

देउवाले आफू सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टीमा सबभन्दा वरिष्ठ नेता भएको नाताले महाधिवेशनको उद्घाटन र झन्डोत्तोलन आफैंले गर्न पाउनुपर्ने अडान राखेका थिए । तर संस्थापन पक्षले २०४९ सालमा सबभन्दा वरिष्ठ नेता गणेशमान सिंह हुँदाहुँदै तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले कांग्रेसको आठौं महाधिवेशनको उद्घाटन र झन्डोत्तोलन गरेको उदाहरण दिँदै ती दुवै कार्य कांग्रेस परम्पराअनुसार कोइरालाले गर्न पाउनुपर्ने जिकिर गरेको थियो ।

देउवा पक्षले भने अन्तिममा कांग्रेसको दसौं महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको र झन्डोत्तोलन उहाँभन्दा वरिष्ठ नेता पूर्वसभापति कृष्णप्रसाद भट्टराईले गरेको उदाहरण दिँदै वरिष्ठ नेता शेरबहादुरले नै झन्डोत्तोलन भने पनि गर्न पाउनुपर्ने अडान लिए । त्यसमा संस्थापन पक्ष सहमत थिएन । तर विवाद सार्वजनिक हुन नपाओस् भनेर संस्थापन पक्षले उद्घाटन कोइरालाले गर्ने र झन्डोत्तोलन दुवै नेताले गर्न सहमति भएको हो ।

उद्घाटन समारोहमा भने विवाद बाहिर नजाओस् भनेर कार्यक्रम सञ्चालकलाई पार्टी कार्यकर्ता, शुभेच्छुक र देशभर पार्टी एकताको सन्देश दिन झन्डोत्तोलन दुवै नेताले गरेको भन्न लगाइएको थियो ।

महाधिवेशन उद्घाटन कार्यक्रममा पार्टीका एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराई कांग्रेस गणतान्त्रिक राजनीतिक धारमा गएकामा रोष प्रकट गर्दै अनुपस्थित भए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks