होम कार्की
काठमाडौ, आश्विन ८ - साउदी अरबले गैरकानुनी रूपमा रहेका आप्रवासीलाई बिनासजाय स्वदेश र्फकने मौका दिएको छ । ८० औं राष्ट्रिय दिवसमा बिहीबार राजा अब्दुल्लाहले अवैध आप्रवासीलाई 'र्फकने अवसर' घोषणा गरेका हुन् ।
साउदीमा करिब ८० हजार गैरकानुनी नेपाली कामदार छन् । घोषणा अनुसार ६ महिनासम्म गैरकानुनी आप्रवासीले स्वदेश फिर्ने मौका पाउनेछन् । जेलमा रहेकाले समेत बिनाजरिवाना फर्किन पाउनेछन् । साउदी जेलमा करिब २ हजार नेपाली छन् ।
'साउदीले १५ वर्षपछि यस्तो घोषणा गरेको हो, यसबाट अलपत्र नेपालीले राहत पाएका छन्,' साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले कान्तिपुरलाई फोनमा भने, 'यो खुसियालीमा नेपाल सरकारका तर्फबाट धन्यवाद दिन आइतबार साउदीका राजाको कार्यालय जाँदै छु ।' साउदीको गृह मन्त्रालयले २५ सेटेम्बरदेखि मार्च २३ भित्र आफ्नो देशका दूतावासमा निवेदन दिएर स्वदेश फिर्न सबै गैरकानुनी आप्रवासीलाई अनुरोध गरेको छ ।
राजदूत अन्सारीले नेपालीको ठूलो मुख्य चाडका बेला आएको यो घोषणाले कामदार र तिनका परिवारमा खुसी ल्याउने बताए । 'अब उनीहरू जेल बस्ने र जरिवाना तिर्नुपर्ने अवस्थाबाट मुक्त भए,' उनले भने । गैरकानुनी आप्रवासीले देश फिर्न चाहेमा कम्तीमा तीन महिना जेल बस्नुपर्ने प्रावधान साउदीमा छ । तर प्रहरीले अरू देशका नागरिकको तुलनामा नेपाली निष्ठावान् भएको बताउँदै हत्तपत्त पक्राउ गर्दैन । पक्राउ पर्ने दिन कुरेर ती कामदार रियाद, जेद्दा र दमाम लगायत ठूला सहरका सार्वजनिक स्थल तथा पुलमुनि बसिरहेका हुन्छन् । 'पक्राउ नभएपछि उल्टै ट्याक्सी चालक र प्रहरीलाई पैसा खुवाएर जेल जानुपर्ने अवस्था छ,' उनले भने । झापाका राजमणि दाहालले प्रहरीले पक्राउ नगरेपछि ८ सय रियाल अर्थात् १६ हजार तिरेर पक्राउ गर्न लगाएका थिए ।
अन्सारीका अनुसार जेलमा बसिरहेका झन्डै दुई हजार नेपालीले तुरुन्तै स्वदेश फिर्न पाउनेछन् । 'यो मौकाले निकै खुसी छु,' ३५ महिनाभन्दा बढी जेलमै बसेका काभ्रेका हीराराम तामाङले फोनमा भने, 'बल्ल घर जान पाइएला जस्तो छ ।'
साउदी समाचार एजेन्सीका अनुसार यो मौका प्रयोग नगरेमा गैरकानुनी नागरिक र उसलाई संरक्षण दिने दुवैलाई कडा सजाय गरिनेछ । जरिवाना लिने, जेल सजाय दिने, सम्पत्ति जफत गरिने छ । दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालका अनुसार साउदीमा हाल करिब चार लाख पचास हजार नेपाली कार्यरत छन् । त्यहाँको परराष्ट्र मन्त्रालयबाट दूतावासमा हरेक महिना १४ सय थानको हाराहारीमा भागेर अन्य कम्पनीमा जाने कामदारको राहदानी प्राप्त हुन्छ । डिपोर्टेसन सेन्टरमा रहेकालाई ट्राभल डकुमेन्टमा बहिर्गमन भिसा लागेका ६ सय कामदार प्रत्येक महिना आफ्नै खर्चमा स्वदेश र्फकने गरेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks