काठमाडौ, आश्विन १० - प्रधानमन्त्री चयनका लागि आइतबार संसद्मा हुने आठौं चरणको चुनाव पनि व्यर्थको हुने भएको छ । माओवादी र एमालेले बिहीबार सभामुखलाई भेटी निर्वाचनमा सहभागी नहुने लिखित जानकारी गराउँदै नयाँ प्रक्रियाका लागि आग्रह गरेका थिए । त्यस्तै तीन मधेसवादी दलले तटस्थ बस्ने पुरानो निर्णयलाई निरन्तरता दिएका छन् ।
कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले फिर्ता नलिएकाले चुनाव भने हुनेछ । उनी मैदानमै भएकाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी झिक्ने घोषणालाई औपचारिकता दिएका छैनन् ।
माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले पार्टीले राजनीतिक रूपमा उम्मेदवारी फिर्ता गरिसकेको र एकजना मात्र उम्मेदवार रहन नपाउने कानुनी प्रावधान भए औपचारिकता दिन तयार भएको जनाए । यसका लागि सभामुखले कानुनी प्रावधानबारे स्पष्ट पार्न जरुरी भएको उनले बताए । सभामुख सुवास नेम्वाङले निर्वाचन र माओवादी उम्मेदवारी फिर्ताका सम्बन्धमा छलफल गर्न आइतबार बिहान कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।
श्रेष्ठले आइतबार हुने निर्वाचनमा माओवादी सहभागी नहुने बताए । 'बहुमत सभासद संख्याले निर्वाचनमा भाग नलिने भएपछि निर्वाचन जारी राख्नुको अर्थ छैन,' उनले भने । माओवादी र एमालेले भाग नलिएपछि अरू सबै मिलेर जतिपटक निर्वाचन भए पनि बहुमत पुग्दैन । दुवै पार्टीले कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिसकेका छन् ।
संसद्को बैठकमा सहभागी भएर प्रक्रिया सुरु हुनेबित्तिकै माओवादी र एमालेले बहिष्कार गर्ने भएका छन् ।
'सात पटक असफल प्रधामन्त्रीको दौडमा लाग्नुको अर्थ छैन,' राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले भने, 'राष्ट्रिय सहमतिका लागि साझा धारणा आवश्यक छ ।'
यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो सहमति र सहभागिताबिना राष्ट्रिय सहमति नहुने बताएको छ । 'लोकतान्त्रिक मधेसी मोर्चाको सहमति र सहभागिताबिना हुने कुनै पनि सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा हामी पुनः सार्वजनिक गर्न चाहन्छौं,' शनिबार बैठक बसेर तीन पार्टीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभाना अध्यक्ष राजेन्द्र महतोले बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको उल्लेख छ । मधेसी जनअधिकार फोरमका नेताहरू भने बैठकमा सहभागी थिएनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks