Loving nepal news

Saturday, September 4, 2010

आज छैटौं चुनाव


कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २० - छैटौंपल्ट आइतबार हुने चुनावबाट पनि मुलुकले प्रधानमन्त्री पाउने सम्भावना न्यून छ ।एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीका प्रत्यासीहरू पुष्पकमल दाहाल र रामचन्द्र पौडेलमध्ये कसैलाई समर्थन दिने निर्णय गरिनसकेकाले यो निर्वाचन पनि व्यर्थ हुने देखिएको हो । 'अहिलेसम्म दलहरूबीच परिणाममुखी वार्ता भएका छैनन्,' माओवादी स्थायी समिति सदस्य देव गुरुङले कान्तिपुरसँग भने,'हामी आइतबारै यो प्रक्रिया टुंगियोस् भन्ने चाहन्छौं ।'

यसबीचमा मधेसी मोर्चासँग माओवादीको अनौपचारिक कुराकानी भए पनि कुनै परिणाम आइसकेको छैन । पटक-पटकको चुनावबाट पनि प्रधानमन्त्री चयन हुन नसकेपछि माओवादीमा निर्वाचन प्रक्रियाबारे पुनर्विचार गर्ने छलफल भएको छ । त्यसका लागि कांग्रेसले उम्मेदवारी फिर्ता लिनुपर्ने उसको भनाइ छ । अध्यक्ष पुष्पकमल दाहालले 'पार्टीले बलिदान गरेर भए पनि मुलुकलाई चक्रव्यूहबाट मुक्त गर्न चाहेको' बुधबार बताएका थिए ।

'राजनीतिक निकासका लागि माओवादी पुनर्विचार गर्न तयार छ,' नेता गुरुङले भने, 'तर कांग्रेसले उम्मेदवारी फिर्ता नलिएसम्म सहमति हुँदैन ।' माओवादीकै सचिव सीपी गजुरेलले छैटौं निर्वाचनपछि बस्ने केन्द्रीय समिति बैठकले पुनर्विचारबारे निर्णय गर्न सक्ने जनाए ।

एमाले महासचिव ईश्वर पोखरेलले बहुमतीय सरकार बनाउन एमालेले कसैलाई सहयोग नगर्ने दोहोर्‍याएका छन् भने नेता केपी ओलीले सातांै निर्वाचनमा पार्टी तटस्थ नबस्ने बताएका छन् ।

कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले आइतबारको निर्वाचनमा परिणाम आउने सम्भावना नभएको बताए । उनले भने, 'शान्ति प्रक्रियामा गरिएको प्रतिबद्धता र लोकतान्त्रिक संविधान बनाउन सहमत भए हरेक विकल्पमा कांग्रेस तयार रहन्छ ।' मुलुकलाई सरकारविहीन राख्न नदिन एमाले स्पष्ट हुनुपर्ने उनले बताए । लोकतन्त्रमा तटस्थ बस्दा सर्वसत्तावादलाई बल पुग्ने उनको धारणा छ । 'एकथरी लडिरहने अर्कोथरी रमिते बनिरहने ठीक होइन,' उनले भने ।

साउन ५, ७, १७, २१ र भदौ ७ गते भएका प्रधानमन्त्री निर्वाचनमा दाहाल र पौडेल दुवै बहुमत ल्याउन असफल भएका थिए । माओवादीलाई मोर्चाले समर्थन गरे बहुमत पुग्छ भने कांग्रेसलाई एमाले र मोर्चाको समर्थन आवश्यक पर्छ ।

मोर्चाको आइतबार बस्ने बैठकले मतदान गर्ने/नगर्ने निर्णय लिने सदभावनाका अध्यक्ष राजेन्द्र महतोले बताए । मोर्चाको एकता नटुट्ने दाबी गर्दै उनले भने, 'मोर्चाले सार्वजनिक गरेको आधारपत्रमा कुनै प्रगति नभएकाले के गर्ने भन्ने निर्णय बैठकले गर्नेछ ।' सद्भावनाका सहमहासचिव मनीष सुमनले भने, 'हाम्रो माग कसैले नस्विकारेकाले कुनै पनि हालतमा मतदान गर्दैनौं ।'

मोर्चाकै अर्का सशक्त नेताले आइतबार पनि तटस्थै बस्ने निर्णय लिइने जनाए । 'लोकतन्त्रको मामिलामा जबसम्म माओवादीको धारणा स्पष्ट हुँदैन तबसम्म हामी केही गर्न सक्दैनौं,' उनले भने । ८२ सभासद रहेको मोर्चामा फोरम लोकतान्त्रिक, फोरम, तमलोपा र सदभावना छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks