Loving nepal news

Thursday, September 2, 2010

मानसरोवरले भारतीय पर्यटक ३५ प्रतिशतले बढे

शिला पाण्डे

काठमाडौ, भाद्र १८ - पर्यटनका लागि बेमौसमी भए पनि अगस्ट (साउन/भदौ) महिना पर्यटन उद्योगका लागि पर्यटक आगमन निकै उत्साहजनक रहेको छ । मानसरोवर घुम्न आउने भारतीय पर्यटकका कारण वृद्धिदर उच्च भएको हो । भारतीय नगारिकहरूले पवित्र तीर्थस्थल मान्ने मानसरोवर जान आएका छिमेकी पाहुनाहरूका कारण यसपाला राजधानीका होटलले पनि राम्रो व्यापार गर्न सफल भएका छन् ।

विगतमा पनि मानसरोवर जाने गरे पनि यसपालि हवाई सेवाको समेत विस्तार भएकाले पर्यटक बढेको व्यवसायीहरू बताउँछन् । 'यसपालि भारतीय पर्यटक आगमन वृद्धिदर ३५ प्रतिशतभन्दा माथि पुगेको छ,' मानसरोवरका लागि भ्रमण प्याकेज सञ्चालन गर्ने हेरिटेज टुर्स एन्ड ट्राभलका नरेन्द्र भट्टले भने । उपत्यकाभित्र मानसरोवरका लागि भ्रमण प्याकेज सञ्चालन गर्नेको संख्या एक दर्जनभन्दा बढी छ । बेमौसममा समेत पर्यटक बढेकाले आउँदो मुख्य मौसम अझै उत्साहजनक हुने आशा गरिएको छ ।

'अहिलेको पर्यटक आगमनले सेप्टेम्बरमा पनि यो वृद्धिदर कायम रहने सम्भावना देखाएको छ,' उनले भने । भट्टले मात्र अगस्तमा मानसरोवरका लागि ३ सयभन्दा बढी प्याकेज बिक्री गरे । विशेषगरी भारतीय पर्यटक बस्ने द्वारिका, वैशालीलगायत होटलमा कोठाको अभावसमेत सिर्जना भएको थियो । कोठाको मागसँगै मूल्य समेत बढेको छ । 'पर्यटकको चापले पाहुनालाई राख्न साधारण रेटभन्दा बढी पैसा तिर्नुपर्‍यो,' प्रेसिडेन्ट टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक भोला थापाले भने, 'बेमौसमी समयमा अधिकतम ६० डलर तिर्ने गरिन्थ्यो । यसपटक १ सय ४० डलर तिर्नुपर्‍यो ।'

यस क्षेत्रमा जानेले प्रतिव्यक्ति १ लाख ६० हजार रुपैयाँभन्दा बढी खर्च गर्छन् । ठूला व्यवसायी र धनाढ्य आउने भएकाले आर्थिक संकलन पनि निकै राम्रो हुने नाटाका उपाध्यक्ष पवित्र कार्कीले बताए । मानसरोवर कोदारी र हुम्लाको सिमीकोट गरी दुईतिरबाट जान सकिन्छ । सिमकोटबाट हेलिकप्टर सेवा पनि सञ्चालनमा छ ।

चार महिनाअघि २ दशमलव ६ प्रतिशतले घटेका भारतीय पर्यटक यो महिना ३५ दशमलव १ प्रतिशतले बढेका छन् । यो महिना नेपाल आउने भारतीयको संख्या ९ हजार ६ सय ५१ रहेको छ ।

त्यस्तै जुन र जुलाईमा यो वृद्धिदर २० दशमलव ९ र २६ दशमलव ५ थियो ।

भारतीय पर्यटक बढ्नुको मुख्य कारण काठमाडौं र भारतीय सहरबीच बढेको हवाई सेवा पनि हो । गत वर्ष दैनिक ४ उडान मात्र हुने गरेकामा यस वर्ष काठमाडौं र दिल्लीका लागि दैनिक ७ उडान भइरहेको छ ।

यो महिना भारतीय पाहुना बढे पनि नेपाल आउने पर्यटकको कुल संख्यामा छिमेकी पाहुनाको हिस्सा घटिरहेको छ । वृद्धिदर अन्य मुलुकमा बढी भएकाले यस्तो भएको हो । केही समयअघि यहाँ आउने कुल पर्यटकमध्ये भारतीयको हिस्सा ३३ प्रतिशत थियो, जुन अहिले घटेर २८ प्रतिशत छ,' भट्टले भने ।

भारतलगायत दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा भएको उत्साहजनक वृद्धिसँगै यो महिना नेपाल भ्रमण गर्ने पर्यटक संख्या ३४ हजार ४ सय १५ पुगेको छ । जुन गत वर्षको त्यसै अवधिभन्दा २४ दशमलव ३ प्रतिशतले बढी हो । बंगलादेश र श्रीलंकाबाट आउनेको संख्या क्रमशः ५१ दशमलव ६ र ५७ प्रतिशतले बढेको छ । पाकिस्तानबाट आउने २० प्रतिशतले घटे पनि सार्क मुलुकको कुल वृद्धिदरलाई खासै फरक परेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्ययागमन कार्यालयका अनुसार मलेसियाबाट ८५ दशमलव ७ प्रतिशत, दक्षिण कोरियाबाट २८ दशमलव ६ प्रतिशतले बढेका छन् । यो महिना जापान, सिंगापुर र थाइल्यान्डका पर्यटक संख्या भने ऋणात्मक छ ।

त्यस्तै युरोपेली मुलुक बेल्जियम, प|mान्स, जर्मनी, इटली, रुस, स्विट्जरल्यान्ड, स्पेन र स्विडेनका पनि क्रमशः २ दशमलव ६, २२ दशमलव ३, १८ दशमलव १, ४१ प्रतिशत, १०१ दशमलव ३, १ सय ६, १५ प्रतिशत र ७१ प्रतिशतले बढेका छन् । बेलायती पर्यटकको संख्या पनि गत वर्षको यही महिनाको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढेर १ हजार ८ सय ९१ पुगेको छ ।

अस्ट्रेलियाबाट १६ दशमलव ८ र न्युजिल्यान्डबाट २८ दशमलव १ प्रतिशत बढी पर्यटक आएको अध्यागमन कार्यालयको तथ्यांकमा छ । नेपाल आउने अमेरिकीको संख्या १ हजार ८ सय ६८ छ, यो गत वर्षको भन्दा १६ प्रतिशत बढी हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks