काठमाडौ, आश्विन ९ - कांग्रेस नेतृत्वका लागि 'मत विभाजन' सँगै 'मन' पनि नराम्ररी विभाजित भएको छ, कोही हारको पीडामा छन् त कोही विजयको उल्लासमा । महाधिवेशनमा गुटबन्दीको राजनीतिले चर्को रूप लियो जसले धेरैको मनमा शंका उमारिदिएको छ, 'नयाँ नेतृत्वले पार्टी सन्तुलित ढंगले हाँक्न सक्छ कि सक्दैन ?'
कांग्रेस नेता अर्जुननरसिंह केसी 'नवनिर्वाचित सभापति सुशील कोइरालामा सन्तुलन गर्ने स्वभाव पर्याप्त भएको' ठान्छन् । भन्छन्, 'एउटा कांग्रेसको अपमानमा अर्को कांग्रेसले सम्मान देख्दैन । पराजितले विजेतालाई सहयोग गर्नुपर्छ, पराजितलाई विजेताले हरेक निर्णयमा सहभागी गराउनुपर्छ ।'
महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाबीच व्यक्तित्वको राम्रै टकराव भयो । कोइरालाले ५४ र देउवाले ४३ प्रतिशतको हाराहारीमा मत पाए । तेस्रो धारले २.५४ प्रतिशत मत पायो । महाधिवेशन प्रतिनिधिले प्रतिद्वन्द्वी देउवालाई पनि निकट राखेका छन् । कांग्रेसको आन्तरिक राजनीतिमा प्रतिद्वन्द्वी मतको कसरी 'समायोजन' हुन्छ ? धेरैको चासो अहिले यसकै उत्तर खोज्नमा छ ।
सभापति कोइरालाको प्रस्तावमा अब निर्वाचित कार्यसमितिबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन हुनेछन् । त्यस अतिरिक्त २१ जना केन्द्रीय सदस्य मनोनीत हुनेछन् ।
महत्त्वपूर्ण तीन पदका निम्ति कोइराला समूहमै धेरै दाबेदार छन्, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, सुजाता कोइराला, कृष्ण सिटौला । त्यस अतिरिक्त शेखर र शशांक कोइराला पनि पदाधिकारीका आकांक्षीमै पछर््रन् । पौडेलले खुलेर कोइरालालाई सहयोग गरेकाले उनले उपसभापतिको आकांक्षा राखेका छन् । केसी, महत, कोइराला र सिटौला महामन्त्रीका आकांक्षी हुन् । यिनको समायोजन गर्न पनि कोइरालालाई हम्मेहम्मे छ भने देउवा समूहको कसरी चित्त बुझाउन सक्लान्, आफैं कौतूहलको विषय बनेको छ ।
देउवा पक्षका नेता गोपालमान श्रेष्ठ 'पार्टीलाई एकढिक्का राख्ने हो भने ४४ प्रतिशत मत ल्याउने पक्षको चित्त बुझाउनुपर्ने' बताउँछन् । उनी भन्छन्, 'उपसभापति या महामन्त्रीमध्ये एक पद देउवा पक्षलाई दिनुपर्छ । त्यसले मात्र पार्टीलाई सन्तुलित तुल्याउँछ ।'
पदाधिकारीमध्ये देउवा पक्षबाट कोषाध्यक्षमा चित्रलेखा यादव विजयी भएकी छन् । मनोनीत पदहरूमा भएका नियुक्ति केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्छ । बाह्रौं महाधिवेशनसँगै कांग्रेस सभापतीय पद्धतिबाट 'सामूहिक नेतृृत्व पद्धति' मा गएको छ । सभापतिले केन्द्रीय समितिलाई चित्त बुझाएर मात्र निर्णय लिनुपर्ने हुन्छ ।
सुशील कोइराला बीपी कोइरालाको प्रखर अनुयायी भएको हुँदा असहमत पक्षलाई पनि समन्वय गर्नेमा श्रेष्ठ विश्वस्त देखिन्छन् । उनी भन्छन्, 'बीपीले आफूसँग असहमत नेताहरू मिलाउँदै पार्टी एकढिक्का राख्नुभयो, पार्टीलाई एकढिक्का राख्ने मामिलामा सुशीलबाट पनि निर्भीकता प्रदर्शन हुने अपेक्षा राखेका छौं ।'
तर कांग्रेसका कतिपय नेता कोइराला र उनका निकट सहयोगीहरूमा आन्तरिक सन्तुलन मिलाउन सक्ने शैली भएका पात्रहरूको अभाव देख्छन् । ती नेताका अनुसार उनीकहाँ देउवा र नयाँ वैचारिक धारमा पार्टीलाई लानबाट टाढै राख्न चाहनेहरूको जमात छ । २०५९ मा जसरी पार्टी विभाजन गराउन कोइरालालाई उचालेका थिए, तिनीहरूले फेरि पार्टीलाई अप्ठ्यारो पार्न सक्ने खतरा यथावत् छ । २०५९ मा देउवालाई रोक्नेभन्दा बाहिर्याउने रणनीतिका कारण पार्टी विभाजन हुन पुग्यो । कोइरालाले हतारमा स्पष्टीकरण सोध्ने र निष्कासन गर्ने निर्णयले पार्टी विभाजन भयो । देउवानिकट श्रेष्ठ भन्छन्, 'अब महत्त्वपूर्ण जिम्मेवारी प्राप्तिपछि पनि उहाँ आफ्नो समूहको घेराउमा पर्नुहुन्छ कि पर्नुहुन्न हेर्न बाँकी छ ।'
महाधिवेशनसँगै तेस्रो धार पनि जन्मिएको छ, जसले आफूलाई वैचारिक पक्षमा सबल रहेको दाबी गर्दै आएको छ । त्यो धारमा भीमबहादुर तामाङ, नरहरि आचार्य, चक्रप्रसाद बाँस्तोला र सुप्रभा घिमिरे छन् ।
बाह्य सभा, समारोहमा कम्ती बोल्ने कोइरालामाथि सधैंभरि सानो समूहको प्रभावमा रम्ने गरेको आरोप लाग्दै आएको छ । उनी धेरैजसो निर्णय अन्तरंग सहकर्मीहरूकै सुझाव र सल्लाहमा चल्ने गर्छन् । 'पहिला समूहबाट प्राप्त सुझावलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाबाट निर्णय गराउँथे, अपजस पनि निर्णयकर्तामै जान्थ्यो,' कांग्रेसका एक नेता भन्छन्, 'अब त अन्तिम निर्णयकर्ता आफैं भएपछि जस आफैंले लिनुपर्ने हुन्छ । उनको त्यो पुरानो बानीमा सुधार नभए कांग्रेसमा फेरि संकट आउन सक्छ ।'
कोइरालाका अन्तरंग सहयोगी पनि परिवर्तन भइरहने गर्छन् । यतिखेर अन्तरंग सहयोगीमा पुरुषोत्तम बस्नेत, दिलबहादुर घर्ती, फर्मुल्ला मन्सुर, पद्मनारायण चौधरी र गोपाल पहाडी छन् । निकट सहयोगी बलदेव मजगैयाँ राजनीतिभन्दा धर्मकर्मतिर लागेपछि उनी कहिलेकाहीं मात्रै आउने गर्छन् । मजगैयाँ कांग्रेसका इमान्दार र पुराना राजनीतिकर्मी मानिन्छन् ।
महाधिवेशन राजनीतिसँगै शशांक कोइराला पनि नजिकिएका छन् । महाधिवेशनसँगै रामचन्द्र पौडेल, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, शेखर कोइराला सुशीलको पक्षमा सक्रिय भएका थिए । केही समययता सुजाता कोइराला पनि हरेक मिटिङमा सामेल छिन् । महामन्त्रीको प्रत्यासी बन्न चाहेकी सुजातालाई रोकिएको थियो । कोइरालानिकट स्रोतका अनुसार महामन्त्रीको उम्मेदवारी फिर्तामा उनको सर्त, मनोनीत उपसभापति हुनुपर्छ भन्ने हो ।
तर त्यतिबेला सुशील कोइरालाले 'साथीहरूको सल्लाहमा पछि निर्णय गरौंला' भनी थामथुम पारेका थिए ।
कांग्रेस राजनीतिक घराना गणेशमान सिंहका छोरा प्रकाशमान कोइराला परिवारका परम्परागतविरोधी मानिन्थे । अहिले उनी पनि कोइरालानजिक पुगेका छन् । एक वर्षअघि संसदीय दलको चुनावमा रामचन्द्र पौडेलको पक्षमा उभिएयता उनी देउवाबाट पर भए । अहिले सिंह आफूलाई कोइरालाको 'दाहिने हात' ठान्छन् र कोइराला परिवारका राजनीतिक आकांक्षीहरूले उनलाई सधैंभरि 'दाहिने हात' रहन दिन्छन्, धेरैजसो यसमा शंका गर्छन् ।
गन्तव्य कतै नभएपछि महाधिवेशनकै बेला अलमलमा परेको 'जोशी/गुरुङ' धार पनि कोइरालानजिक पुग्यो । गोविन्दराज जोशी, केबी गुरुङ, सुनिल भण्डारी, लक्ष्मण घिमिरे पुरानै कित्तामा र्फकेका छन्, सुजाता कोइरालाको ढोका हुँदै । यिनीहरू कुनै बेला कोइराला परिवारकै नजिक थिए ।
देउवा क्याम्पका बलबहादुर केसी, चिरञ्जीवी वाग्ले, डा. नारायण खड्का, दीपकुमार उपाध्याय पनि कोइरालासँगै घुलमिल हुन खोज्दै
छन् । देउवाले महाधिवेशनअघि यिनीहरूलाई फर्काउने निकै प्रयास गरेका थिए । उनी खुमबहादुर खड्का, प्रदीप गिरी र पूर्णबहादुर खड्कालाई फर्काउन सफल भए । देउवा कोइराला परिवारसँगै राजनीतिक र पारिवारिक सम्बन्ध भएकी अम्बिका बस्नेतलाई भने आफूतिर ल्याउन सफल भएका छन् । बस्नेत नेपाल महिला संघकी अध्यक्ष हुन् र बस्नेतलाई आफ्नो पक्षमा ल्याउँदा अर्की महिला नेतृ उमा रेग्मी उछिट्टिएर कोइरालाको पक्षमा पुगिन् । सभापति विजयी सुशील कोइरालालाई धेरै कांग्रेसी नेता- कार्यकर्ताले २०४८ पछि चिनेका हुन्, नचिन्नु पनि स्वाभाविक हो । कोइरालाले १९ वर्ष ६ महिना भारतमा प्रवासी जीवन बिताए भने ६ वर्ष जेल । उनलाई गिरिजाप्रसादका राजनीतिक सहयोगीका रूपमा मात्र लिने गरिन्थ्यो । प्रवासमा रहँदा उनले बीपीसँगै दिनहरू बिताएका थिए, त्यसपछि गिरिजाप्रसादसँग । २०४८ मा कोइराला प्रधानमन्त्री हुँदै उनी बालुवाटारमै बसेका थिए ।
'वास्तवमा सुशीलको राजनीतिक पृष्ठभूमिबारे धेरैलाई थाहा छैन,' कांग्रेसका एक नेता भन्छन्, उनीमाथि लामो समय 'कोठे राजनीति' मा रम्ने राजनीतिक पात्रको रूपमा चित्रित गरिएको थियो । हुन पनि २०४८ र २०५६ प्रतिनिधिसभामा निर्वाचित कोइरालाले बिरलै मात्र बोले ।
उनी प्रतिनिधिसभामा अन्तिम बेञ्चमा आफ्ना अति निकट सहयोगीका साथ बस्थे । संयोग नै मान्नुपर्छ, उनकै लहरको विपक्षी दीर्घामा अर्का दाह्रीवाल बस्थे, हृदयेश त्रिपाठी । दुई दाह्रीवालको प्रसंग बेलाबखत जोडिन्थ्यो । त्रिपाठी जो हरेक सबालमा नियमापत्ति जनाएर आफूतिर सबैको ध्यानाकषिर्त गर्थे । तर सत्तारूढ कुर्सीका दाह्रीवाल मौन बसेरै समय कटाउँथे । आपत्ति र नियमापत्तिको फोहोरा छुट्थ्यो । उनी पान चपाएर बस्थे ।
७३ वर्षीय कोइराला अविवाहित छन् । सरल र सादगी जीवन बिताउँछन् । उनले सन् १९७० को दशकमा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए । तीसको दशकमा कांग्रेसका युवाहरूले विराटनगरबाट जहाज अपहरण गरेपछि भारतीय सरकारले उनलाई तीन वर्ष थुनेको थियो ।
सुशील २०१६ मा गठित कांग्रेसको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री बनेका तुलसी गिरीका स्वकीय सचिव थिए । तर गिरी पञ्चायत प्रवेश गरी राजकाजमा लागे भने कोइराला प्रवासी जीवनमा । उनले शैक्षिक योग्यतामा 'स्वअध्ययन' उल्लेख गरेका छन् । कांग्रेस नेताहरूका अनुसार सुशील पार्टीका आन्तरिक र औपचारिक बैठकमा अरूले बोलेका कुरा डायरीमा टिप्छन् । उनको गजबको स्वभाव के छ भने नेपालीमा बोलेका कुरालाई यथानुरूप अंग्रेजीमा अनुवाद गरिदिन्छन्, टिपोट गर्दा । कोइराला २०३४ मा केन्द्रीय सदस्य बनेर कांग्रेस केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । २०५३ मा भएको नवौं महाधिवेशनपछि कहिले महामन्त्री त कहिले उपसभापति रहे । लोकतन्त्र बहालीपछि उनी कार्यवाहक सभापतिकै जिम्मेवारीमा थिए । तर उनले सांसदबाहेक सरकारी लाभको पदीय जिम्मेवारी सम्हालेका छैनन् । उनको छवि स्वच्छ र निष्ठाको राजनीति गर्नेमा चित्रित हुन पुगेको छ । कोइरालाबाट संस्थागत पद्धतिको वकालत भएअनुरूप पार्टीलाई अघि बढाउने हो भने उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्छन्, कांग्रेस नेता दीपकुमार उपाध्याय । 'सानो कोठेरी घेरा त्याग्ने र संस्थागत पद्धतिमा अघि बढ्न तत्परता देखाएका छन्, त्यसलाई निरन्तरता दिनुपर्छ,' उनी भन्छन्, 'अब गुटको होइन, अत्यन्त ठूलो छाती बनाएर समग्र कांग्रेसको सभापति बन्नुपर्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks