काठमाडौ, आश्विन ९ - एमालेसँग सहमति भएको केही घन्टापछि कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको दौडबाट बाहिरिएको घोषणा गरे । सातौं पटकसम्म कसैले नजितेको प्रधानमन्त्री दौड सहमतिका लागि छाडेको उनले जनाए । रणनीति जे भए पनि दुईतिर फर्किएका माओवादी र एमाले कम्तीमा सहमति खोज्न तयार देखिए ।
पहिलो सहमति भएको एक सातापछि शुक्रबार दुई पार्टीबीच अर्को सहमति भयो । त्यसको जोड थियो, 'नयाँ शिराबाट राष्ट्रिय सहमतिको आधारमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, अवरुद्ध संविधान निर्माण प्रक्रिया तत्काल अघि बढाउने र माओवादी सेनाका लडाकुको समायोजन तथा पुनःस्थापना प्रक्रियालाई तीव्रता दिने ।'
सरकारको नेतृत्व गरिरहेको एमालेसँग दोस्रो सहमति भएकै दिन माओवादीका नेताहरू लडाकुको विचार बुझ्न शिविरतिर लागे ।
आखिर लामो छलफलपछि दुई पार्टीबीच भएको सहमतिको मुख्य उद्देश्य के थियो ?
मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन माओवादी जिम्मेवार भएर सहमति गरेको उपाध्यक्ष बाबुराम भट्टराई बताउँछन् । 'कसैले नजित्ने प्रक्रियाले प्रतिगमनको आधार तयार गर्ने काम भयो । त्यसबाट गणतन्त्र र संविधानसभाविरोधी शक्तिहरूले फाइदा लिने खतरा बढेर गयो,' उनले कान्तिपुरसँग भने, 'त्यसलाई मध्यनजर गर्दै जिम्मेवार भएर सहमति खोज्न लागेका हौं ।'
सहमतिलाई धेरैले दुई पार्टीको गठबन्धन सरकार बनाउने रणनीतिका रूपमा बुझेका छन् । तर माओवादी र एमालेले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
'कतिपयले माओवादी र एमाले मिलेर कांग्रेसलाई अलग्याउन खोजेका हुन् कि आशंका गरेका छन्,' उनको भनाइ छ, 'कुनै दुई पक्ष मिलेर अर्कोलाई बाइपास गरे फेरि उस्तै द्वन्द्व हुन्छ । समाधान भनेको प्रमुख राजनीतिक दलबीच सहमति नै हो ।'
दुई पार्टीबीचको सहमति कांग्रेसलाई एक्ल्याउनजस्तो नदेखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको बुझाइ छ । 'दुई पार्टीबीच कांग्रेसलाई एक्ल्याउन सहमति भएको जस्तो लाग्दैन,' उनले कान्तिपुरसँग भने, 'दुई पार्टी मिलेर कांग्रेसलाई सहमतिमा ल्याउने पहल देखिन्छ ।'
श्रेष्ठका अनुसार सेना समायोजन तथा पुनःस्थापना विशेष समितिलाई सक्रिय बनाउनु र लडाकुलाई त्यसअन्तर्गत ल्याउन माओवादी तयार हुनु सकारात्मक विकासक्रम हो । यसअघि माओवादीले लडाकु समायोजन र संविधान निर्माण प्रक्रिया सँगसँगै हुनुपर्ने अडान राख्दै आएको थियो ।
'माओवादी चार महिनामा आफ्ना सेनालाई समायोजन गर्न तयार हुनु सकारात्मक विकास मान्न सकिन्छ,' श्रेष्ठले भने, 'दुई पार्टीले सारेको प्रस्तावमा कांग्रेस सहमत भए सहमतिको नयाँ ढोका खुल्ने छ ।'
तर दुई पार्टीबीच सहमति हुँदैमा राष्ट्रिय सहमति बनिहाल्छ भन्ने हैन । 'माओवादी, कांग्रेस, एमाले र मधेसवादी दल मिलेर सहमति खोज्नुपर्छ,' भट्टराईको भनाइ छ, 'चारै पक्ष संयुक्त रूपमा बस्न जरुरी छ । सरकारको नेतृत्व सामूहिक ढंगले चयन गर्नुपर्छ । शान्ति र संविधान केन्दि्रत हुने गरी राष्ट्रिय सरकार बनाउनुपर्छ ।'
तर भट्टराईले भनेजस्तो कांग्रेसको आशंका मेटाउन दुई दलको पर्याप्त मेहनत आवश्यक पर्नेछ । किनकि दुई ठूला वाम मिलेर एक्ल्याउन खोजेको आशंका उसलाई परेको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले यो सहमतिलाई 'स्वार्थी' भनिसकेका छन् । त्यही बुझेर होला शुक्रबार दुई पार्टीले कांग्रेससित यथाशीघ्र वार्ता गर्ने निर्णय गरेका छन् ।
'कांग्रेसले हलो अड्काउने काम गर्नु हुँदैन,' भट्टराईको भनाइ छ, 'राजनीतिक सहमति भए चार महिनाभित्र सेना समायोजन र पुनःस्थापना हुनसक्छ ।'
मुलुकलाई डरलाग्दो स्थितिबाट जोगाउन दलहरूले विगतका गल्ती सच्याउने प्रयत्न गर्नुपर्ने माओवादी उपाध्यक्ष भट्टराई बताउँछन् । 'संविधानसभा सरकार बनाउने र गिराउने संसद्जस्तो भएको छ,' उनले भने, 'सबभन्दा ठूलो गल्ती त्यही भएको हो । गल्ती सच्याउनुपर्छ । सच्याइएन भने अर्को भयावह लडाइँ हुन्छ ।'
अवरुद्ध संविधान निर्माण प्रक्रियामा दल र तिनका नेताहरू गम्भीर नहुनु मुख्य समस्या देखिएको छ । 'नेताहरू अहिलेसम्म अवरुद्ध संविधान निर्माण प्रक्रियामा छलफल गर्न गम्भीर रूपमा बसेका छैनन्,' उनको भनाइ छ, 'दुवै पक्षले मान्ने बाटो खोज्नुपर्छ ।' उनले १२ बुँदे सहमति गरेका दल र मधेसवादी दल 'नयाँ राजनीतिक मूलधारमा नआएसम्म पछि समस्याको समाधान नहुने' बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks