काठमाडौ, आश्विन १३ - संयुक्त अरब इमिरेट्सको दुबईस्थित मेट्रो टे्रन स्टेसनमा काम गर्न गएका ८२ जना कामदारलाई कम्पनीले करार अवधि अगाडि नै फिर्ता पठाएको छ ।
ट्रान्स युरोपियन लेबर सप्लाई कम्पनीअन्तर्गत गएका कामदारलाई तीन महिनामै स्वदेश पठाइएको हो । उनीहरूलाई काठमाडौंको वसुन्धरास्थित जबट्रयाक म्यानपावरले दुई वर्षको करारमा लगेको थियो । 'हामीलाई स्टेसनको यात्रुलाई नियन्त्रण गर्ने काममा पठाइएको थियो,' फिर्ता भएका सर्लाही बथुवाका देवबहादुर रानाले कान्तिपुरलाई भने, 'कामदार आपूर्ति केन्द्रले कामको ठेक्का नपाएको भन्दै हामीलाई आकस्मात स्वदेश फिर्ता पठायो ।'
कामदारका अनुसार नियमित काम भइरहे पनि स्वदेश फिर्ता पठाउनुको कारणबारे विमानस्थलमा आएर कम्पनीका अधिकारीहरूले जानकारी दिएका थिए । त्यस काममा जान उनीहरूले १ लाख १० हजारदेखि १ लाख ५० हजार रुपैयाँ जब ट्रयाकलाई बुुझाएको बताए । यो रकम बुझाएका रसिद धेरैजसो कामदारसँग साथमै छ । पीडित कामदारले क्षतिपूर्ति दिन म्यानपावरसमक्ष अनुरोध गरे पनि सुनुवाइ भएको छैन । पीडितले न्यायको लागि वैदेशिक रोजगार विभागमा सामूहिक उजुरी दिएका छन् । 'विभागले हाम्रो उजुरी सामूहिक रूपमा कार्यान्वयन गर्न मानेको छैन,' बागलुङका चक्रबहादुर रायमाझीले भने, 'एउटै म्यानपावरमार्फत एउटै कम्पनीमा काम गर्न गएका हाम्रो समस्या एउटै हो । सामूहिक रूपमै प्रक्रिया अगाडि बढाउनुपर्छ ।' वैदेशिक रोजगार विभागका अनुसार सबै प्रमाण पुर्याउन गाह्रो हुने हुँदा व्यक्तिगत रूपमा उजुरी माग गरिएको हो । पीडितहरू भने सामूहिक रूपमा श्रम स्वीकृति दिने विभागले उजुरी पनि सामूहिक रूपमा लिई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको बताएका छन् । विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले यो घटनाको छानबिन हुने बताए । 'यसमा कुन पक्षको गल्ती भएको हो भन्ने अनुसन्धान गर्छौं,' उनले भने, 'कामदारको कमजोरी नभई फिर्ता पठाएको रहेछ भने कम्पनी जिम्मेवार हुन्छ ।'
पीडितसँग जबट्रयाकका प्रमुख आशा लामाले छलफल गरेका छैनन् । मंगलबार जबट्रयाकको कार्यालय खुलेन । पीडितहरू दिनभर कार्यालय अगाडि धर्ना बसेका थिए । 'जबट्रयाकका कुनै व्यक्ति हाम्रो सम्पर्कमा आएका छैनन्,' पीडित विष्णु बर्तौलाले भने, 'हाम्रो समस्या छिटोभन्दा छिटो समाधान गरी घर पठाइदिन विभाग र व्यवसायीसमक्ष अनुरोध गरेका छौं ।' उनीहरूसग वैदेशिक रोजगार व्यवसायी संघले बुधबार त्रिपक्षीय वार्ता गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । जबट्रयाकका सञ्चालक लामासँग यसबारे प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks