काठमाडौ, भाद्र २२ - प्रधानमन्त्री निर्वाचनका लागि निर्णायक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजन भएपछि माओवादीको पक्षमा समर्थन बढेको छ ।
मधेसी जनअधिकार फोरमले माओवादीलाई समर्थन गर्ने बताएकाले उसको पक्षमा मत बढ्ने देखिएको हो । यसअघिका पाँच निर्वाचनमा तटस्थ र आइतबार भएको छैटौं निर्वाचनमा 'नो भोट' गरेको फोरमले सोमबार माओवादीलाई मत दिने जनाएको छ ।
'आगामी निर्वाचनमा हामीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल वा कांग्रेसका रामचन्द्र पौडेलमध्ये एकलाई मत दिनैपर्छ,' फोरम सहअध्यक्ष जेपी गुप्ताले सोमबार कान्तिपुरसित भने, 'हाम्रो पार्टीमा पौडेलजीलाई मत दिनुपर्छ भन्ने कोही नभएकाले दाहाललाई नै मतदान गर्छौं ।'
उनले तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । फोरम तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आइतबार अलग भएको थियो ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक दललाई 'विवेक पुर्याएर प्रधानमन्त्रीका लागि निर्णय गर्न' आग्रह गरेको बताए । 'हामीले विवेक पुर्याएर प्रधानमन्त्रीका लागि मत दिन आग्रह गरेका छौं,' उनले भने, 'मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त बनाउनुपर्छ भनेका छौं ।'
स्थायी समिति सदस्य देव गुरुङले मंगलबार नै सरकार बनाउने प्रयास भइरहेको जानकारी दिए । अर्का स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले पार्टीले सरकार बनाउने मात्र विषय अघि सारेको नभई राजनीतिक सहमतिका लागि सँगसँगै छलफल गरिरहेको बताए । 'राजनीतिक विषयमा सहमति भए सरकार बनाउने विषयमा कुरा मिल्छ,' उनले कान्तिपुरसँग भने, 'त्यसका लागि छलफल चलिरहेको छ, सहमतिका लागि स्पष्ट भइसकेको छैन ।'
माओवादी केन्द्रीय पदाधिकारी बैठकले विवेक पुर्याएर आफ्नो पार्टीलाई मत दिन आग्रह गरेको थियो ।
फोरमले माओवादीलाई मत दिएपछि उसलाई बहुमत पुर्याउन २९ मत आवश्यक पर्छ । यसअघि जनमुक्ति, एकीकृत, जनता दललगायत साना दलले बहुमत पुग्ने अवस्थामा समर्थन गर्ने आश्वासन माओवादीलाई दिएका छन् । उनीहरूको १० मत छ ।
माओवादीले पाँचौं चरणको निर्वाचनमा २ सय ४६ मत पाइसकेको थियो । २५ मत भएको फोरमले समर्थन गर्दा उसको पक्षमा २ सय ७१ हुन्छ । उसले आवश्यक १९ मत पुर्याउनका लागि मधेसी मोर्चाको फोरम लोकतान्त्रिक वा तमलोपा र सद्भावनामध्ये एक समूहले समर्थन गर्नुपर्छ ।
लोकतान्त्रिक फोरमका रामजनम चौधरीले तटस्थता तोड्न सभासदको दबाब बढेको बताए । 'आइतबार फोरम अलगिएपछि हाम्रोमा पनि निर्णय गर्न दबाब बढेको छ,' उनले भने, 'हामी निर्वाचनअघि निर्णय गर्छौं ।'
त्यही पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले भने पार्टी तटस्थ बस्ने पक्षमा भएको बताए । 'माओवादी वा कांग्रेसलाई समर्थन गर्ने आधार आइसकेको छैन,' उनले भने, 'मोर्चाको नयाँ निर्णय भएको छैन । मोर्चाको आधारपत्रअनुसार मोर्चा अघि बढ्छ ।'
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीका अनुसार संयुक्त तटस्थ नबस्ने भएको छ । 'औपचारिक निर्णय मंगलबार बिहान गछौर्ं,' उनले भने ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार बन्नमा आफ्नो पार्टी बाधक नबन्ने बताए । 'हाम्रो सहयोगले सरकार बन्ने भए तत्काल निर्णय गरी भोट हाल्छौं,' थापाले सोमबार कान्तिपुरसित भने । राप्रपा नेपालको ४ मत छ ।
पाँच सांसद भएको मजदुर किसान पार्टी, ४ सांसद रहेको माले समाजवादीले पनि माओवादीलाई समर्थन गरिसकेका छन् ।
माओवादीद्वारा हि्वप
माओवादीले मंगलबार हुने प्रधानमन्त्रीको चुनावका लागि साढे २ बजे नै संविधानसभा भवनमा पुग्न आफ्ना सांसदलाई हि्वप जारी गरेको छ । अघिल्लो चुनावमा १० सांसद अनुपस्थित भएपछि उसले अनिवार्य सहभागी हुन हि्वप जारी गरेको हो ।
सोमबारको संसदीय दलको बैठकमा उपस्थित नहुनेलाई स्पष्टीकरण सोधिएको थियो ।
आइतबारको चुनावमा दुर्गाकुमारी विक, हिसिला यमी, आङ्दावा शेर्पा, विश्वदीप लिङ्देन, सत्य पहारी, तारानारायण श्रेष्ठ, चुनबहादुर थामी र हेमबहादुर श्रेष्ठ सहभागी थिएनन् ।
मणि खम्बु उपस्थित भएर पनि अर्को सभासदलाई भोट हाल्न लैजाँदा आफैंले हाल्न बिर्सेका थिए । स्थायी समिति सदस्य देव गुरुङले नियमित रूपमा मतदानमा सहभागी नहुने सांसदलाई सचेत गराएको जनाए ।
अर्को चुनाव कांग्रेस महाधिवेशनपछि
सातौं चुनावबाट पनि प्रधानमन्त्रीको टुंगो नलागे अर्को चुनाव कांग्रेस महाधिवेशनपछि हुने भएको छ ।
मंगलबार हुने सातौं चुनावबाट प्रधानमन्त्री चयन हुने सम्भावना बलियो छैन । परिणाम ननिस्के आठौं चुनाव असोज १० गते ३ बजे गर्ने दलहरूबीच अनौपचारिक सहमति भएको छ ।
कांग्रेसले सातांै चरणको चुनाव महाधिवेशनपछि गर्न माग राखेकामा माओवादीले एक/दुई दिनभित्रै गर्नुपर्ने अडान राखेकाले सभामुख सुवासचन्द्र नेम्वाङले मंगलबारको मिति तोकेका थिए ।
आइतबार भएको छलफलमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले असोज १० पछि र माओवादी उम्मेदवार पुष्पकमल दाहालले २१ गते चुनाव गर्न प्रस्ताव राखेका
थिए । मतदानको मितिबारे विवाद भएपछि सभामुख नेम्वाङले मंगलबार ३ बजेका लागि चुनावको मिति तय गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks