गोकर्ण अवस्थी
काठमाडौ, भाद्र २२ - संसारभर डेबिट/क्रेडिट कार्डलगायत इलेक्ट्रानिक माध्यमको प्रयोग बढेपछि नेपालमा अमेरिकी डलरको अभाव हुन थालेको छ । पर्यटकहरूले नगदको सट्टा क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्न थालेपछि डलर नोट अभाव भएको हो । नेपालमा अमेरिकी डलर आउने एक मात्र माध्यम पर्यटकले गर्ने खर्च हो ।
'पर्यटकले कार्डमार्फत भुक्तानी गर्न थालेपछि नगद डलरको अभाव हुँदै गइरहेको छ,' केन्द्रीय बैंकका एक अधिकारीले भने । नगद डलर अभाव भए पनि विदेशी मुद्राको सञ्चितिमा भने सुधार भइरहेको छ । विदेशी मुद्रा सञ्चिति ३ अर्ब अमेरिकी डलर पुगेको छ ।
सर्वसाधारणले पढाइ वा अन्य प्रयोजनका लागि डलर माग भएमा कानुनी व्यवस्थाअनुसार सीमासम्मको रकम सजिलै पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सर्वसाधारणले विदेश जाँदा दक्षिण एसियाली मुलुकमा १ हजार र अन्य देशमा २ हजार डलर लिएर जान पाउँछन् । पासपोर्टमार्फत पाइने यो रकम बैंकमा जम्मा गरेर कार्ड लिई विदेशमा कार्डमार्फत खर्च गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले जानकारी दिए । 'सर्वसाधारणले पासपोर्ट सुविधा अन्तर्गतको रकम पनि कार्डमार्फत लानु उपयुक्त हुन्छ,' काफ्लेले
भने । सबैतिर कार्डको प्रचलन भएकाले नगद डलर नक्कली पनि पर्न सक्नेतर्फ बैंकले सचेत गराएको छ । सबैभन्दा बढी नक्कली हुने मुद्रा अमेरिकी डलर हो । यसबाहेक पहिलेदेखि नै प्रचलनमा रहेको ट्राभलर्स चेक विदेश जाँदा रकम लाने माध्यम हो । विदेशी मुद्रामा आर्जन हुने व्यक्तिले भने आय स्रोत देखाई विदेशी मुद्रामा खाता खोल्न सक्छन् । सर्वसाधारणले कुनै स्रोतबिना विदेशी मुद्रामा खाता खोल्न पाइँदैन ।
पर्यटकले पनि नेपाल आउँदा ५ हजार डलरभन्दा बढी नगद आफूसाथ भए त्यसको घोषणा गर्नुपर्छ । कार्ड बोकेर आउँदा घोषणा गर्नु नपर्ने भएकाले पनि धेरैजसो पर्यटक नगद बोक्न चाहँदैनन् । यसैगरी भारतीय मुद्रा पनि नगद मात्र अभाव भएको केन्द्रीय बैंकले प्रस्ट्याएको छ । 'बैंकिङ माध्यमबाट लाने हो भने आवश्यकताअनुसार भारतीय रुपैयाँ दिन सकिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, '२६ अर्ब रुपैयाँको भारतीय मुद्रा मौज्दात छ ।' नेपाली बैंकले भारतमा स्वीकार्य हुने कार्ड सजिलै जारी गर्छन् । पछिल्लो समयमा भारु अभाव भएपछि एकपटकमा २५ हजार रुपैयाँ र महिनामा २ लाख रुपैयाँसम्म कार्डमार्फत खर्च गर्न सकिने व्यवस्था गरिएको काफ्लेले बताए ।
सर्वसाधारणले नगद बोक्न नै रुचाउने र अनधिकृत रूपमा भारतबाट हुने आयातका लागि नगद चाहिने हुँदा सीमा क्षेत्रमा भारतीय मुद्राको चर्को अभाव छ । १ सय भारतीय रुपैयाँ बराबर १ सय ६० नेपालीमा स्थिर विनिमय दर भए पनि गैरबैंकिङ संयन्त्रबाट गर्ने कारोबारका लागि १ सय ६५ सम्म तिरेर भारु खरिद भइरहेको छ ।
भारतीय मुद्रा महँगोमा बिक्न थालेपछि सीमा क्षेत्रमा कार्ड लिएर भारत गई भारु लिएर महँगोमा बेच्ने प्रवृत्तिसमेत बढेको सम्बद्ध अधिकारी बताउँछन् । केन्द्रीय बैंकले यसमा कडाइ गर्नुका साथै यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कारबाहीको प्रक्रिया पनि अगाडि बढाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks