Loving nepal news

Tuesday, September 21, 2010

सुशील सभापति * महामन्त्री, कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका मतगणना आज


बलराम बानियाँ/कुलचन्द्र न्यौपाने

काठमाडौ, आश्विन ६ - कांग्रेसको १२ औं महाधिवेशनबाट सुशील कोइराला सभापति निर्वाचित भएका छन् । पार्टीभित्र महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भइसकेका कोइरालाले निकटतम प्रतिस्पर्धी वरिष्ठ नेता शेरबहादुर देउवालाई ३ सय ३५ मतले पराजित गरेका हुन् ।

कोइरालाले १ हजार ६ सय ५२ मत प्राप्त गरे भने देउवाले १ हजार ३ सय १७ मत पाए । तेस्रो धारको प्रतिनिधित्व गर्दै सभापतिका प्रतिस्पर्धी बनेका भीमबहादुर तामाङले ७८ मत ल्याएका छन् । कुल ३ हजार ८८ मध्ये ३ हजार ६२ मत मात्रै खसेको थियो । मतदानमा २६ जना अनुपस्थित थिए । १५ मत बदर भएको थियो ।

नेतृत्वमा चुनिएपछि कोइरालाले पार्टीभित्र विभाजन हुन नदिन सक्षम र योग्य सबैलाई समेटेर लैजाने बताएका छन् । गिरिजाप्रसाद कोइरालापछि सामूहिक छलफल र निर्णय प्रक्रियाको अभ्यास सुरु भइसकेको स्मरण गर्दै कोइरालाले भने, ँपार्टीलाई मूल्य मान्यताका साथ संस्थागत रूपमा अघि बढाउने प्रणालीको विकास गर्ने मेरो योजना हुनेछ ।’ उनले विगतमा देखिएका कमीकमजोरी र विकृति पार्टीमा आउन नदिने बताए ।

'निर्वाचन लोकतान्त्रिक अभ्यास हो । एकजना मात्रै भए निर्वाचन नै हुँदैन,' उनले भने, 'निर्वाचनमा जो जता भएपछि अब हामी एउटै हौं । पार्टीलाई एकढिक्का बनाएर लैजाने मेरो प्रयास हुनेछ ।'

राति ८ बजे सुरु हुने भनिएको मतगणना मध्यराति १२ बजेबाट मात्रै थालिएको थियो । मतगणनाको आचारसंहिताबारे विवाद भएपछि ढिलो गरी थालिएको हो । कस्ता-कस्ता मत बदर गर्ने भन्नेबारे कोइराला र देउवा पक्षबीच मत नमिलेपछि विवादले लामो समय लिएको थियो । बाहिर कार्यकर्ताहरूले मतगणना तत्काल थाल्न माग राख्दै नाराबाजी गरेका थिए । मतगणनास्थल प्रज्ञा भवनबाहिर ठूलो संख्यामा उपस्थित कार्यकर्ताले दुवै नेताको पक्षमा नाराबाजी गरिरहेका थिए । मत परिणाम घोषणा भएलगत्तै कोइराला पक्षका कार्यकर्ता खुसीले नाराबाजी गर्न थालेका थिए भने देउवा पक्षका चुपचाप देखिन्थे ।

महामन्त्री, कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका मतगणना भने बुधबार सुरु हुने छ । पहिलो चरणमा सभापति उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा दोस्रो निर्वाचनमा जानुपर्ने र त्यसको प्रभाव पर्ने सक्ने भन्दै निर्वाचन समितिले सभापतिको निर्णय भएपछि मात्रै महामन्त्री, कोषाध्यक्ष र सदस्यको मतगणना सुरु गर्ने निर्णय लिएको हो । पदाधिकारी र केन्द्रीय सदस्यमा कोइराला र देउवाले प्यानल खडा गरे पनि केन्द्रीय सदस्यमा भने मिश्रति परिणाम आउने सम्भावना छ ।

१२ औं महाधिवेशनले कांग्रेस नेतृत्व विधिवत पहिलोबाट दोस्रो पुस्तामा हस्तान्तरण भएको छ । विधानतः कोइराला ३ वर्षसम्म कांग्रेस नेतृत्वमा रहनेछन् । उनले यसअघि नै एक कार्यकालका लागि मात्र सभापति हुने घोषणा गरिसकेका छन् । पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक-पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए ।

०४६ को जनआन्दोलनपछि ०४८ र ०५६ मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए । ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक-पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास (भारत) मा बिताएका छन् । २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए ।

समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । कोइरालाले आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्यमान्यताको संस्कार सुरु गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने बताए ।

कांग्रेस र तत्कालीन कांग्रेस -प्रजातान्त्रिक) बीच ०६४ असोज ७ मा एकता भएपछिको यो पहिलो महाधिवेशन हो । नेताहरूले यसलाई एकता महाधिवेशनको रूपमा लिँदै आएका छन् । महाधिवेशनमा संस्थापन र देउवा पक्षबीच विभाजनको रेखा भने प्रस्ट देखिएको थियो । कोइराला र देउवाले आ-आफ्ना प्यानल खडा गरी निर्वाचनमा उत्रिएका कारण मतदातासमेत दुई खेमामा विभक्त भएका थिए ।

तटस्थ भूमिकामा रहने मनस्थिति बनाएका संसदीय दलका नेता रामचन्द्र पौडेलसमेत कोइरालालाई सघाउन पुगेका थिए । उनी कोइरालाका प्रस्तावकसमेत हुन् । देउवाको प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका कारण उनले तटस्थ बस्ने मनस्थिति बनाएका

थिए । स्रोतका अनुसार प्रधानमन्त्रीको निर्वाचनमा देउवाले असहयोग गरेका कारण देखाउँदै कोइरालालाई सघाउन पुगेका हुन् । कोइराला प्यानलमा महामन्त्री हुन नपाएकामा असन्तुष्टि जनाएका प्रवक्ता अर्जुननरसिंह केसीसमेत अन्तिम अवस्थामा कोइरालालाई जिताउन लागेका थिए । केसी उपसभापति प्रकाशमान सिंहलाई महामन्त्रीमा उठाएपछि असन्तुष्ट देखिएका थिए ।

बिहान ८ बजेबाट हुने भनिए पनि मतदान साढे दसबाट सुरु भई साढे ५ बजे सकिएको थियो । मतदान अवधिभर सभापतिका प्रत्यासी देउवा हात जोड्दै मत मागिरहेका देखिन्थे । कांग्रेस संसदीय दलका नेता पौडेल, प्रवक्ता केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, रामशरण महतलगायत नेताहरूले पनि हात जोड्दै मत मागेका थिए । कार्यवाहक सभापति कोइराला थकाइले गलेको भन्दै मत हालेर आराम गर्न सीधै निवास गएका थिए । उनी दिनभरसमेत स्वास्थ्यका कारण देखाउँदै मतदानस्थलमा आएनन् । उनको पक्षमा संस्थापन पक्षका नेताहरूले मत मागेका थिए ।

कोइराला र देउवा पक्षले प्यानलमा परेका सदस्यको सूची आफ्ना विश्वासिला नेता र मतदातालाई बाँडेका थिए । दुवैले खुलातर्फका २५ सिटमा पूरै प्यानल बनाएका थिएनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks