जितेन्द्र साह
काठमाडौ, आश्विन २ - कांग्रेस महाधिवेशन उदघाटन समारोह । अस्तव्यस्त र हल्लाखल्लाको माहोल । झरीले रोपाइँ गर्न मिल्ने गरी हिलाम्य बनेको टुँडिखेलमा बस्ने ठाउँ छैन । यी सबसँग बेमतलब चितवन गीतानगरबाट आएका दम्पती ७० वर्षे मणिराज श्रेष्ठ र उनी पत्नी ६९ वर्षीया पूर्णमायाको ध्यान एकाग्र रूपमा सिंगारिएको मञ्चमै छ ।
'आमसभा हेर्न र सुन्न आएको हो,' आफ्नै खर्चमा दुई दिनअघि आएका उनीहरूले भने । छिर्न नपाइएला भनी उनीहरू दुई घन्टाअघि दिउँसो १२ बजे टुँडिखेल पुगेका थिए । गीतानगरका निवर्तमान गाविस अध्यक्ष श्रेष्ठले कांग्रेसप्रतिको आस्था र लगाबले काठमाडौंसम्म डोर्याएको बताए । 'कांग्रेसको जहाँ कार्यक्रम भए पनि जान्छौं,' उनले भने । कीर्तिपुरस्थित छोराबुहारीको घरमा बसेका श्रेष्ठ दम्पतीले भने, 'घरबाटै खाएर आएको हो, फेरि घरमा गएर खाने हो । पार्टीको खाँदैनौं ।' स्वदेशी र विदेशी नेताको भाषण उनीहरूले उभिएरै सुने । मौसमले साथ नदिए पनि यति ठूलो उपस्थिति देखेर उनीहरू छक्क थिए ।
श्रेष्ठ दम्पतीजस्तै जिल्लाजिल्लाबाट आएका हजारौं हिलोमा बस्न नसके पनि छाताको ओतमा, रूखमा चढेर र गाडीको हुटमा बसेर सहभागी भए । रातभरि अनिँदो भएर टँुडिखेल आइपुगेका कति त भुइँमै बसेर भाषण सुनिरहेका थिए । कतिपय लम्बेतान उद्घोषण र भाषणले गर्दा हाई काट्दै थिए । झरी र होहल्लाले भाषण बुझ्न नसकेकाहरू रेडियो कानमा टाँसेर प्रत्यक्ष प्रसारण सुनिरहेका थिए ।
चिनजान नभए पनि एक जनाको छातामा तीन जनासम्म ओत लिएका देखिन्थे । धेरै व्यक्ति झरीमा भिज्दै कार्यक्रम हेरिरहेका थिए । 'खुसियाली मनाउन आएको हो, महाधिवेशनले केही राम्रो सन्देश देला र केही गर्ला भन्ने आस पनि छ,' स्याङ्जा बिचारी चौतारा-१ का वृद्ध भानुभक्त पौडेलले भने, 'महाधिवेशन ठूलो महोत्सव हो ।' उनी कांग्रेसको गाउँ एकाइ कमिटीका सक्रिय सदस्य हुन् ।
उनी गाउँका १८ जना साथीसँगै राजधानी आएका हुन् । 'बिहीबार राति आएर बसमै सुतियो,' उनले भने, 'साथीहरूसँग खाना खाएर आजै (शुक्रबार) बसमा चढेर घरतिर लाग्ने हो ।' टुँडिखेलसँग जोडिएको रत्नपार्कभरि उत्तिकै संख्यामा हातमा झन्डा बोकेका कार्यकर्ता थिए । तराईदेखि हिमालसम्मका अनुहार देख्न सकिन्थ्यो । आमसभाको अन्त्यतिर झरी बढे पनि उनीहरू हतार र हतासमा थिएनन् ।
'उत्साह बढाउन आएको हो,' महोत्तरी पशुपतिननगर-९ का बौएलाल यादवले भने । उनले छोराको छातामा र उनका अन्य साथीहरूले गम्छामा मुख छोपेर मञ्चमा आँखा गडाएका थिए । गाउँका २० जना साथीसँग पशुपति गौशाला धर्मशालामा बसिरहेको उनले बताए ।
कति त प्रतिनिधिसँग भोट माग्नमा व्यस्त देखिन्थे । कसैको शरीरमा गिरिजाको तस्बिर र कसैले जीउभर कांग्रेसको झन्डा थियो । अधिवेशन सुरु हुनुअघि कार्यकर्ताहरूको बस, उपत्यकाका तीनै सहरबाट निकालिएको र्याली र झाँकीले सडक कब्जा गरेको थियो । सिंहदरबारको पश्चिम ढोकादेखि पुतलीसडक, शंकरदेव क्याम्पसको क्षेत्र, रत्नपार्क, न्युरोड गेट, महाबौद्ध र जमलसम्म महाधिवेशनको प्रभाव थियो । दिउँसो दुई बजेदेखि भद्रकालीतिर गाडी जान नदिँदा यातायात ठप्प थियो । राति आठ बजेसम्म उक्त क्षेत्र अस्तव्यस्त देखिन्थ्यो । पुरानो बसपार्कमा गाडी नभएर वरिपरिका जिल्लाबाट आएकाहरू झुन्डिएर र बस रिजर्भ गरेर गएको देखिए । कैयौं यात्रु सवारी नपाएर हिँडिरहेका थिए ।
आवास तथा भोजन व्यवस्थापन समितिका सदस्य लेखनाथ पोखरेलका अनुसार उपत्यकाको तीनवटै जिल्लाबाट ९ झाँकी र मुलुकभरिबाट ८० बसमा कार्यकर्ता आएका थिए । तीन हजार तीन सयका लागि प्रबन्ध मिलाइएको राजधानीको १ सय ३ होटलमा झन्डै ४ हजार ५ सय कार्यकर्ता बसिरहेको उनले जानकारी दिए ।
सञ्चारकर्मीसँग माफी
महाधिवेशन उदघाटन समारोहमा पत्रकारलाई पूरै बेवास्ता गरिएको थियो । दोस्रो ठूलो दल भएर पनि कांग्रेसले महाधिवेशन समाचार सम्प्रेषण गर्न र तस्बिर खिच्न आएका सञ्चारकर्मीको व्यवस्थापन गर्न सकेन । पत्रकारका लागि छुट्टयाइएको थोरै स्थानमा पनि गैरपत्रकारको जगजगी थियो । एकले अर्कालाई 'जय नेपाल' भनिरहेकाले मञ्चमा बस्ने पत्रकार हुन् कि कांग्रेस कार्यकर्ता छुट्टयाउन गाह्रो थियो । मञ्चमा उभिएकालाई बस्न भन्दै कार्यकर्ताले फालेको प्लास्टिकका बोतलले समेत पत्रकारलाई लागेको थियो । कार्यकर्ताको उच्छृंखल गतिविधिले फोटो पत्रकारलाई तस्बिर खिच्न हम्मेहम्मे परेको थियो । कतिपय पत्रकार मञ्च छाडेर जान लागेपछि आयोजकले माइकबाटै माफी मागेर उनीहरूलाई फर्काएका थिए ।
सञ्चालक फेरिए
कार्यक्रम सञ्चालनको जिम्मा पाएका पार्टी कार्यालयका मुख्य सचिव रामचन्द्र पोखरेलको लम्बेतान र पट्यारलाग्दो उद्घोषणका कारण मञ्चभित्र र बाहिर हुटिङ भएपछि कार्यक्रम चलाउन नेविसंघ अध्यक्ष प्रदीप पौडेललाई दिइएको थियो । कार्यक्रम आधी घन्टा ढिलो सुरु भएर राति आठ बजेसम्म चल्दा प्रकाश अभावमा पत्रकारले नेताको भाषण मोबाइलको लाइट बालेर टिपिरहेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks