Loving nepal news

Friday, September 17, 2010

राष्ट्र बैंकले हजार केजी सुन बेच्ने


कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन २ - राष्ट्र बैंकले आफैंले सुन र चाँदी बिक्री गर्ने भएको छ । उसले आफूसँग भएको एक हजार किलो सुन र मागअनुसारको चाँदी बिक्री गर्न लागेको हो । बैंकले बेच्न लागेको सुनले स्थानीय बजारको अढाइ महिनाभन्दा बढीको माग धान्नेछ ।

सुनचाँदी आयातसम्बन्धीको भन्सार दर बढाउने विधेयक पारित नभएकाले बजारमा बढेको अभाव कम गर्न बैंकले यस्तो गरेको हो । ६ महिनाअघि अध्यादेशमार्फत बढाइएको सुनचाँदीको भन्सार दरको म्याद भदौमै सकिएपछि सरकारले सुन आयातमा प्रतिबन्ध लगाएको छ ।

राजनीतिक दलबीच भएको असहमतिका कारण यसअघि नै संसदमा पेस भए पनि अहिलेसम्म सुनचाँदीको भन्सार बढाउने विधेयक पारित नभएको हो ।

बैंकको सूचनाअनुसार सुन तथा चाँदी प्रत्येक साताको मंगलबार मूल्य निर्धारण गरेर बिक्री गरिनेछ । मंगलबार सवा १२ बजेको अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनमा प्रतिदस ग्राम १ हजार रुपैयाँ र चाँदीमा प्रतिकिलोमा २ हजार ४ सय रुपैयाँ थप गरी न्यूनतम मूल्य निर्धारण गरिनेछ ।

'सातामा सय किलो सुन र १ हजार किलो चाँदी बोलकबोलबाट बिक्री गरिनेछ,' बैंकले शुक्रबार जारी गरेको सूचनामा भनेको छ, 'बोलकबोलमा प्यान नम्बर लिएका व्यवसायी मात्र सहभागी हुन पाउँछन् ।' बिक्री भएको सुनचाँदीको विवरण बैंकबाट लैजाने व्यवसायीले राख्नुपर्ने र बैंकले मागेको खण्डमा विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।

बोलकबोलमा सहभागी नभएका व्यवसायी सुनचाँदी किन्न इच्छुक भए उनीहरूले बोलकबोलबाट कायम उच्चतम मूल्य तिरेर कुल बिक्री कोटाको २५ प्रतिशत सुन किन्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्ता व्यवसायीले आफूले खरिद गर्न चाहेको परिमाणसहित सुरुमै दरखास्त दिनुपर्छ ।

'अप्रतिस्पर्धी व्यवसायीको भाग छुट्याइएको २५ प्रतिशतभन्दा बढी भए यसरी आउने व्यवसायीहरूलाई समानुपातिक रूपमा वितरण गरिनेछ,' बैंकले भनेको छ । अप्रतिस्पर्धी कम भए इच्छुक दोसं्रो/तेस्रो प्रतिपर्धीले खरिद गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

बोलपत्र प्रक्रिया प्रत्येक मंगलबार अपराह्न २ बजे सुरु भई ३ बजेसम्म चल्नेछ । ३ बजेपछि सुनचाँदी बिक्रीवितरण सुरु गरिनेछ ।

सुनचाँदी खरिदको बोलकबोल पत्र र प्रक्रियामा भाग लिने व्यवसायीले कबुल गरेको मूल्य बैंकको थापाथली कार्यालयको हिसाब नं. १० मा माछापुच्छ्रे बैंक र बालुवाटारस्थित सुनचाँदी हिसाब खातामा जम्मा गरी भौचर बोलकबोल पत्रसाथ पेस

गर्नुपर्नेछ । यस प्रक्रियामा न्यूनतम १ किलो सुन र ३० किलोग्राम चाँदी किन्ने बोलपत्र पेस गर्नुपर्छ ।

सुन आयात नभएको र चाडबाडको सिजन भएकाले बजारमा बढेको सुनको मागका कारण व्यवसायीहरूले हाल धेरै मूल्य लिएर सुन बिक्री गरिरहेका छन् । उनीहरूले भारतीय बजारबाट तस्करीमार्फत आएको सुन तोलामा ३८ हजार रुपैयाँभन्दा बढीमा बेचेको छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks