काठमाडौ, भाद्र २४ - मुलुकमा गत आर्थिक वर्ष १० प्रकारका सामग्री खरिदमा झन्डै २ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च भएको छ । २०६६/६७ को कुल आयातमा यी १० वस्तुको हिस्सा आधाभन्दा बढी छ । धेरै आयात गर्ने वस्तुको सूचीमा सबैभन्दा अगाडि पेट्रोलियम पदार्थ छ । गत वर्ष ५३ अर्ब २४ करोड रुपैयाँको आयात भयो । अघिल्लो वर्षको भन्दा पेट्रोलियम आयात १२ प्रतिशत बढेको छ ।
यसअघि निकै कम रहेको सुनको आयात गत वर्ष १ सय ५१ प्रतिशतले बढेको छ । यस अवधिमा मुलुकले ४१ अर्ब रुपैयाँ सुन आयातमा खर्चेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिना अत्यधिक मात्रामा सुन आयात
बढेपछि भुक्तानी सन्तुलनमा समेत चाप परेको थियो । पुससम्ममा सुनको आयातमा खर्च भएको रकम र ५० वस्तुको निर्यातबाट प्राप्त हुने आय बराबर थियो ।
त्यसयता सुन आयातमा परिमाणात्मक बन्देज लगाइएकामा हाल आएर पूरै रोकिएको छ । निर्यात निरन्तर १० प्रतिशत घट्नुका साथै आयात ३५ प्रतिशतले बढेपछि गत वर्ष ऐतिहासिक दरले व्यापार घाटा बढेको थियो । व्यापार घाटा ४७ प्रतिशतले बढेर ३ खर्ब १७ अर्ब पुगेको छ ।
यसअघि व्यापार घाटालाई पूर्ति गर्दै आएको रेमट्यान्सले गत वर्ष धान्न नसकेपछि २६ वर्षपछि नेपालले उच्च भुक्तानी सन्तुलन घाटा बेहोर्नुपर्यो ।
फागुनमा उक्त घाटा २३ अर्ब ५३ करोड रुपैयाँ पुगेकामा असार मसान्तमा २ अर्ब ६२ करोडमा झरेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो २ वर्ष औसत ४० प्रतिशतले बढेको रेमिट्यान्स गत वर्ष करिब १० दशमलव ५ प्रतिशत मात्र बढेर २ खर्ब ३१ अर्ब भित्रिएको छ ।
सबैभन्दा धेरै आयात भएका १० वस्तुका लागि मात्र रेमिट्यान्सको ८६ प्रतिशत खर्च भएको छ । सबैभन्दा धेरै आयात हुने वस्तुको तेस्रो स्थानमा सवारी साधन तथा तिनका पार्टपुर्जा छन् । २३ अर्ब ७७ करोड रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा आयात भयो । यस अवधिमा गाडी र पार्टपुर्जाको आयात ४७ प्रतिशतले बढेको छ । बैंकहरूले सवारी कर्जा केही कम गरेपछि हाल आयातमा केही कमी आएको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको सूचीअनुसार अन्य मेसिनरी र पार्टपुर्जा खरिदमा १५ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । फलामे छडको कच्चा पदार्थका रूपमा प्रयोग हुने एमएस बिलेटको आयात पनि गत वर्ष उल्लेख्य भएको छ । यस अवधिमा १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको बिलेट आयात भयो ।
कच्चा पदार्थका रूपमा आयात भएको बिलेटले आन्तरिक फलामे छड उद्योगको उत्पादन सन्तोषजनक रहेको संकेत गरेको छ । गत वर्षमा विशेषगरी निजी कम्पनीले तीव्रता पाएपछि फलाम छडको उत्पादन स्वदेशमै बढेको हो ।
टेलिकम उपकरण पनि ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाल टेलिकमलगायत मेरो मोबाइलको सेवा विस्तार र ग्रामीण भेग लक्षित स्मार्ट र एसटिएमले सेवा सुरु गरेपछि उपकरणको माग बढेको हो ।
गत वर्ष नेपालले ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको औषधि आयात गरेको छ । स्वदेशमै झन्डै ४० उद्योगले औषधि उत्पादन गरे पनि उच्च मात्रामा भइरहेको औषधि आयातले परनिर्भरता नघटेको देखाएको छ ।
यसैगरी ६ अर्ब ८१ करोड कोल्ड रोल्ड सिट, ६ अर्ब १ करोड एमएस वायर, ५ अर्ब ७८ करोड रुपैयाँको पोलिथिन ग्रान्युल्स र ४ अर्ब ११ करोड रुपैयाँको हट रोल्ड सिट आयात भएको छ ।
४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल पनि आयात भयो । सिमेन्टको आयातमा केही कमी आए पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा यसैको आयातमा खर्च भएको छ । अघिल्लो वर्ष ४ अर्ब २२ करोड रुपैयाँको सिमेन्ट आयात भएको थियो । देशभित्र सिमेन्ट उद्योग बढ्न थालेपछि बिस्तारै आयात प्रतिस्थापन गरिरहेको संकेत यसले गरेको छ ।
गत वर्ष ३ अर्ब २२ करोड रुपैयाँ बराबरको चाँदी आयात भयो । व्यापार घाटा बढाउनुमा हिस्सा राख्ने चाँदीको अयात चैतमा मात्रै करिब १ अर्ब २० करोड रुपैयाँको भएको थियो । गत वर्ष औपचारिक माध्यमबाट मात्रै १ अर्ब ६१ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।
औपचारिक सूचीमा नदेखिएको करिब १५ अर्ब रुपैयाँ बराबरको कुखुराबाहेकको मासु आयात भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले मासु, तरकारी र सिमेन्टमा लगानी बढाई दुई वर्षभित्र करिब २५ अर्ब रुपैयाँको आयात प्रतिस्थापन गर्ने योजना बनाएको छ । तर समयमा बजेट नआउँदा यो योजना अलपत्र परेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks