Loving nepal news

Wednesday, September 1, 2010

क्यासिनोको व्यापार घट्यो * कामदार कर्मचारीलाई तलब दिन पनि समस्या


सुजित महत

काठमाडौ, भाद्र १७ - व्यापार घटेको भन्दै केही क्यासिनोले कामदारलाई समयमा तलब दिन छाडेका छन् । प्रहरीले नेपालीको प्रवेशमा कडाइ गर्न थालेपछि क्यासिनोको व्यापार घटेको सञ्चालकको दाबी छ । याक एन्ड यतीस्थित क्यासिनो रोयल र सोल्टीस्थित क्यासिनो नेपालका कामदारले समयमा तलब पाउन छाडेका छन् । केही क्यासिनोमा मजदुरहरूले समयमा तलब नपाएको गुनासो आएको अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव रमेशराज पन्तले जनाए ।

'हामी यसबारेमा बुझ्दै छौं,' उनले भने । क्यासिनो रोयलमा व्यवस्थापन परिवर्तन भएपछि कामदार समस्यामा परेको क्यासिनोका ट्रेड युनियन अध्यक्ष खिलबहादुर खनाल बताउँछन् । क्यासिनो रोयलको व्यवस्थापन ६ महिनाअघि नेपाल रिक्रियसन सेन्टरबाट गिल्ड इन्टनरनेसलले लिएको थियो । 'व्यवस्थापन समस्याको सुनुवाइ गर्न तयार छैन,' उनले भने, 'केही दिनमा समस्या नभए विकल्प खोज्छौं ।'

चार महिनाअघि काठमाडौं जिल्ला प्रहरी प्रमुखमा एसपी रमेश खरेल आएयता नेपाली ग्राहकको प्रवेशमा कडाइ गरिएकाले ग्राहक संख्या ७० प्रतिशत घटेको सम्बद्ध कर्मचारीहरू बताउँछन् । 'भर्खरै प्रहरीले छापा मार्‍यो,' होटल मल्लस्थित क्यासिनो भेनसका एक कामदारले सोमबार साँझ भने, 'प्रहरी आएपछि भारतीय ग्राहक पनि भागे ।' ग्राहक संख्याको अनुपातमा व्यापारमा कमी नआएको क्यासिनो रोयल सम्बद्ध एक कामदार बताउँछन् ।

अधिकांश नेपाली ग्राहक सानोतिनो खेल खेल्ने तथा कतिपय हेर्न मात्र आउने भएकाले भीड बढी थियो । 'अहिले थोरै भए पनि असली जुवाडे आउने भएकाले व्यापार २५ प्रतिशतले मात्र घटेको छ,' तिनले

भने । ठूलो खेल खेल्नेहरूलाई क्यासिनोहरूले प्रवेश गराइरहेका छन् । 'छापा मार्न लागेमा भगाउने गरिएको छ,' र्‍याडिसनको क्यासिनो सांगि्रलासम्बद्ध एक कामदारले भने । छापा मार्न लागेको अगि्रम सूचना पाउन स्थानीय प्रहरीलाई मिलाइएको तिनले बताए ।

मुलुकमा जुवा खेलाउन नमिल्ने भए पनि पर्यटन मन्त्रालयबाट पाएको अनुमतिको आधारमा विदेशी नागरिकले क्यासिनो प्रवेश गर्न पाउँछन् । राजधानीका सोल्टी, अन्नपूर्ण, सांगि्रला, र्‍याडिसन, याक एन्ड यती, एभरेस्ट, ह्यात र मल्ल होटलमा क्यासिनो सञ्चालित छन् । यसबाहेक पोखराका फूलबारी रिसोर्ट र ग्य्रान्ड होटलमा पनि क्यासिनो चलेका छन् । क्यासिनोमा ८ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

क्यासिनोहरूले सरकारलाई ३० करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ । मुलुकमा सञ्चालित १० मध्ये क्यासिनो भेनसबाहेक सबैको बक्यौता छ । आन्तरिक राजस्व कार्यालयहरूले बक्यौता असुल गर्न नसकेपछि हालै विभागले त्यसको जिम्मा राजस्व अनुसन्धान विभागलाई दिएको छ । विभागले बोलाएर छलफल गर्दा क्यासिनो सञ्चालकहरूले लामो समयको किस्ता सुविधा माग गरेको विभाग स्रोतले जनाएको छ । एक वर्षअघि राजस्व अनुसन्धान विभागले क्यासिनोहरूबाट २५ करोड रुपैयाँ असुल गराएको थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनाल क्यासिनोको इजाजतसम्बन्धी सम्पूर्ण काम पर्यटन मन्त्रालयअन्तर्गत पर्ने भएकाले कारबाहीमा समस्या परेको बताउँछन् । उनका अनुसार रोयल्टी नतिर्ने क्यासिनो बन्द गराउने बाहेकका कारबाही गर्न सकिने अवस्था छैन । सबैभन्दा बढी रकम तिर्न बाँकी सोल्टी होटलमा सञ्चालित क्यासिनो रोयलको आर्थिक वर्ष २०६२/६३ देखिको बक्यौता छ । यसको १० करोड ९ लाख ६२ हजार रुपैयाँ बक्यौता छ । पोखराको फूलबारी रिसोर्टमा सञ्चालित क्यासिनोसँग ६ करोड रुपैयाँभन्दा बढी असुल्न बाँकी छ ।

क्यासिनोले वाषिर्क २ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्छ । आर्थिक ऐनअनुसार प्रत्येक वर्षको भदौ मसान्तभित्र रोयल्टी बुझाउनुपर्छ । नत्र १५ प्रतिशत ब्याजसहित असुल गरिने प्रावधान छ । कुनै पनि क्यासिनोले एकमुष्ठ रोयल्टी बुझाउँदैनन् । आन्तरिक राजस्व कार्यलय क्षेत्र-३ का प्रमुख कर प्रशासक शिशिर ढुंगानाका अनुसार बुझाइरहेका क्यासिनोले पनि २ करोडलाई १२ महिनाले भाग गर्दा हुने १६ लाख ६६ हजार रुपैयाँ बुझाउने गरेका छन् ।

मुलुकमा पहिलो क्यासिनो सन् १९६८ मा होटल सोल्टीमा खुलेको थियो । नेपाल रिक्रियसन सेन्टरले यसको सञ्चालन गरेको थियो । त्यसपछि प्रजातन्त्र पुन:स्थापना पछिको निर्वाचित सरकारले थप क्यासिनोको अनुमति दिएको थियो ।

होटलमा रहने क्यासिनोको सञ्चालन अरूले नै गरेका छन् । सात वटा क्यासिनो नेपाल रिक्रियसन सेन्टरले सञ्चालन गरेको छ । भेनस र ग्य्रान्ड क्यासिनो भ्याली लिंकअन्तर्गत सञ्चालित छन् । क्यासिनो रोयलको स्वामित्व गिल्ड इन्टरनेसनल नामको कम्पनीले लिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks