Loving nepal news

Sunday, September 19, 2010

काठमाडौं सवैभन्दा भ्रष्ट नगरपालिका

रासस

काठमाडौ, आश्विन ३ - काठमाडौं महानगरपालिका भ्रष्टाचारको मामिलामा एक नम्बर देखिएको छ । गोंगबु बसपार्क, पूर्व नगरउपप्रमुख तथा वडाध्यक्षबाट ४ करोड पेस्की उठाउन बाँकी सहितका आर्थिक अनियमितता देखाउँदै आइतबार राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरलाई 'एक नम्बर भ्रष्ट्रचारी' भएको उल्लेख गरेको हो।

केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गोङ्गबु नयाँ बसपार्कका ठेकेदार ल्होत्से बहुउद्देश्यीयले महानगरलाई वार्षिक रू ५२ लाख बुझाउने गरी विसं. २०५६ मा सम्झौता गरेकोमा विगत केही वर्षदेखि सो रकम नबुझाएको जानकारी दिइयो।

पूर्व नगर उपप्रमुख विदुर मैनालीसहित विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीहरूले करिव रू चार करोड ३२ लाख बराबरको पेस्की र सूचना तथा सञ्चार मन्त्रलयलगायत अन्य २२ सङ्संस्थाबाट पनि रू आठ करोड १२ लाख बराबरको पेस्की असुल नगरिएको बताइएको छ।

स्थानीय स्वायत्त शासन ऐन तथा नियमाबलीबमोजिम एउटा पनि आवधिक योजना नबनेको, नगरको वस्तुस्थिति देखिनेगरी स्रोत नक्सा तयार नगरेको, आर्थिक वर्ष सुरु हुनु अगाबै वजेट तर्जुमा नगरिएको र ७ सय ३१ आयोजनाको भौतिक र वित्तीय प्रगतिको अद्यावधिक अवस्था र तिनको कार्यान्वयन समीक्षा सार्वजनिक गरेको छ।

कुनै वर्षको पनि स्वीकृत केन्द्रीय खरिद योजना नबनाइएको, अनावश्यकरूपमा विभिन्न सङ्घ-संस्थालाई दिइएको पेस्की फर्छ्यौट नगरिएको र ती पेस्कीको अध्यावधिक लेखा पनि नराखेको, प्रत्येक वडादेखि केन्द्रसम्मको एकीकृत विवरण नराखिएको सार्वजनिक गरिएको थियो।

आन्तरिक लेखा परीक्षण शाखा भएरपनि आ.व. ०२६२।०६३ पछिको लेखापरीक्षण नगरिएको, धरौटी विवरण यथार्थपरक नभएको, कानुनी सीमा नाघि आर्थिक सहायता रकम वितरण गरिएको, वर्सेनि चार हजार ५ सय घर निर्माण हुने गरेकोमा अधिकांश घर स्वीकृत नक्सा र मापदण्डविपरित भएको र पार्किङस्थल र पार्किङदर तोकिए भन्दा बढी उठाउने गरिएको फेला पारिएको केन्द्रले उल्लेख गरेको छ।

उक्त केन्द्रका प्रमुख ताना गौतमले महानगरपालिका गतिविधिबारे अझ गहिरेर अध्ययन गर्नुपर्ने अवस्था आएको औंल्याए। उनले महानगरपालिकालाई सचेत गराउने, सम्बन्धित मन्त्रिको ध्यानाकर्षण गराउने र प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने जानकारी दिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks