Loving nepal news

Sunday, September 19, 2010

राष्ट्र बैंकले सुन बेचेपछि मूल्य घट्ने

योगेश खतिवडा

काठमाडौ, आश्विन ४ - राष्ट्र बैंकले सुन बिक्री गरेपछि स्थानीय बजारमा सुनको मूल्य घट्ने व्यवसायीहरूले बताएका छन् । हाल अन्तर्राष्ट्रिय बजारभन्दा तोलामा २ हजारभन्दा बढी मूल्यमा सुन बिक्री भइरहेको छ । राष्ट्र बैंकले बिक्री गरे तोलामा बढीमा १ हजार ५ सय रुपैयाँ बढी मूल्य कायम हुनेछ ।

'बैंकले अन्तर्राष्ट्रिय बजारको भन्दा तोलामा १ हजार १ सय ६६ (दस ग्राममा १ हजार) रुपैयाँ बढी राखेर बोलकबोलमा सुन बिक्री गर्ने भएको छ,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'यस आधारमा सुनको मूल्य केही घट्छ ।' अहिले जथाभावी मूल्य निर्धारण भएर कारोबार भइरहेको बजारलाई व्यवस्थित गर्न पनि नयाँ व्यवस्थाले सहयोग पुर्‍याउँछ ।

बैंकले गरेको अन्तर्राष्ट्रिय बजारमा भन्दा तोलामा १ हजार १ सय ६६ रुपैयाँ बढी निर्धारण गर्ने व्यवस्था र व्यवसायीले बोलकबोलमा गर्दा र कमिसन लिँदा अन्तर्राष्ट्रिय बजारमा भन्दा स्थानीय बजारमा तोलामा बढीमा १ हजार ५ सय रुपैयाँ भाउ पुग्छ । 'यस आधारमा अहिलेको भन्दा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्ने देखिन्छ,' उनले भने । केन्द्रीय बैंकले आफैं सुन बेच्ने सूचना जारी गरे पनि शुक्रबारको दाँजोमा आइबार स्थानीय बजारमा प्रतितोला सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा आइतबार प्रतितोला सुनको मूल्य ३७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो अन्तर्राष्ट्रिय बजारमा भन्दा २ हजार रुपैयाँ बढी हो । भन्सार र कमसिन जोड्दा पनि यो मूल्य ८ सय रुपैयाँ बढी हो । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

गत साता केन्द्रीय बैंकले आफूसँग भएको १ हजार किलो सुन र मागअनुसार चाँदी बिक्री गर्ने जनाएको थियो । सुनचाँदी आयातसम्बन्धी भन्सार दर बढाउने विधेयक पारित नभएको अवस्थामा बजारमा बढेको अभाव कम गर्न बैंकले यस्तो गरेको हो ।

बंैकले प्रत्येक साताको मंगलबार सवा १२ बजेको अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनमा प्रति दस ग्राम १ हजार रुपैयाँ र चाँदीमा प्रतिकिलो २ हजार ४ सय रुपैयाँ थप गरी न्यूनतम मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ । बैंकले सातामा १ सय किलो सुन र १ हजार किलो चाँदी बोलकबोलबाट बिक्री गर्नेछ । यसमा प्यान नम्बर भएका व्यवसायी मात्र सहभागी हुन सक्छन् ।

बोलकबोलमा सहभागी नभएका व्यवसायी सुनचाँदी किन्न इच्छुक भए उनीहरूले बोलकबोलबाट कायम उच्चतम मूल्य तिरेर कुल बिक्री कोटाको २५ प्रतिशत सुन किन्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । उनीहरूले खरिद गर्न चाहेको परिमाणसहित सुरुमै दरखास्त दिनुपर्छ ।

बोलकबोल प्रक्रिया प्रत्येक मंगलबार अपराह्न २ बजे सुरु भई ३ बजेसम्म चल्नेछ । ३ बजेपछि सुनचाँदी बिक्रीवितरण सुरु गरिनेछ । यस प्रक्रियामा न्यूनतम १ किलो सुन र ३० किलोग्राम चाँदी किन्ने बोलपत्र पेस गर्नुपर्छ ।

अध्यक्ष शाक्यले बैंकले २४ क्यारेटको सुन दिने बताएकाले व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिएको बताए । 'अहिले सुन बजार अस्तव्यस्त छ,' उनले भने, 'आयात रोकिएर बजारमा अभाव सिर्जना भएको अवस्थामा बैंकले दैनिक १५ किलोको दरमा सुन बेच्न लाग्नु सकारात्मक हो ।'

नेपालमा बोलकबोलबाट सुन बेच्ने अभ्यास पहिलोपटक भएको भन्दै पहिलो कारोबारपछि संघले मूल्य निर्धारण गर्नेबारे सोच्ने शाक्यले बताए ।

यसअघि राष्ट्र बैंकले अन्य संघलाई पनि बैंकबाट सुन लिन सिफारिस गर्न सक्ने अधिकार दिएपछि यस संघले सुनको मूल्य निर्धारण गरेको छैन । भारतबाट आएको सुनबाट मात्र अहिले बजार चलिरहेको अवस्थामा राष्ट्र बैंकले दैनिक १५ किलो सुन दिँदा बजार व्यवस्थापनमा धेरै सहयोग पुग्ने उनले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks