Loving nepal news

Saturday, September 4, 2010

महामन्त्री ताक्दै सात जना

बलराम बानियाँ/कुलचन्द्र न्यौपाने


काठमाडौ, भाद्र १९ - महाधिवेशन तिथि नजिकिँदै गर्दा कांग्रेसमा दोस्रो महत्त्वपूर्ण पद महामन्त्रीका लागि पनि प्रतिस्पर्धा तीव्र भएको छ । महामन्त्री बन्न नयाँ/पुराना अनुहार गरी सात जना कस्सिएका छन् । सभापतिमा भने तीन जनाको मात्र उम्मेदवारी छ ।

सभापतिका प्रमुख दुई दाबेदार कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आ-आफ्नो समूहबाट महामन्त्रीको सर्वसम्मत उम्मेदवार बनाउने कसरत जारी राखेका छन् । संस्थापन पक्षबाट मात्र पाँच जना आकांक्षी देखिएकाले कोइरालालाई सर्वसम्मत उम्मेदवार बनाउन हम्मे परिरहेको छ । देउवाले भने महामन्त्री विमलेन्द्र निधिलाई नै फेरि पनि अघि सार्ने पक्कापक्की भएको छ ।

एक-दुई दिनमै पत्रकार सम्मेलन गरी निधिले आफ्नो उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।

कोइरालाका लागि आफ्नो पक्षबाट महामन्त्रीको उम्मेदवारी मिलाउनु फलामे चिउरासरह भएको छ । सर्वसम्मत उम्मेदवार बनाउन नसके उनको सभापति दौडमा पनि त्यसले असर पार्नेछ । संस्थापन पक्षबाट उपसभापति प्रकाशमान सिंह, सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसी, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला र परराष्ट्रमन्त्री सुजाता कोइराला महामन्त्रीका दाबेदार छन् ।

सुजाताले उम्मेदवारी घोषणा गरिसकेकी छन् भने अरूले कोइरालाको सहमतिमा औपचारिक घोषणा गर्ने भन्दै पर्खेका छन् । घोषणै नभए पनि सबैजसोले आ-आफ्नो पक्षमा प्रचार भने थालिसकेका छन् । संस्थापन पक्षकै नरहरि आचार्य तेस्रो धारबाट महामन्त्रीका प्रत्यासी छन् ।

संस्थापन पक्षबाट एक जना मात्र उम्मेदवार तय गर्न शेखर कोइराला, आमोदप्रसाद उपाध्याय र शशांक कोइरालालगायत लागिपरेका छन् । विधानअनुसार कांग्रेसमा एक महामन्त्री निर्वाचित र अर्को मनोनीत हुने व्यवस्था छ ।

आफूलाई तटस्थ बताउने प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलसमेत संस्थापन पक्षबाट यति धेरै दाबेदार देखिएकामा चिन्तित छन् । पौडेलसहित सहमहामन्त्री केसी, केन्द्रीय सदस्य उपाध्यायलगायत नेताले कार्यवाहक सभापति सुशीललाई भेटी संस्थापन पक्षबाट सबैसित परामर्श गरी महामन्त्रीको सर्वसम्मत उम्मेदवार तय गर्न दबाब दिएका छन् ।

उनीहरूले सुजातालाई महामन्त्रीमा उम्मेदवार बनाउने या पछि मनोनीत गर्ने हो कि भनी आशंका गर्दै कोइरालाबाट प्रस्ट जवाफ खोजेका थिए । जवाफमा कोइरालाले सुजातालाई आफूले महामन्त्रीको उम्मेदवार नबनाउने र मनोनीत पनि नगर्नेमा विश्वस्त हुन आग्रह गरेको स्रोतले जनायो ।

पहिला सभापति उठ्ने घोषणा गरेका र पछि देउवा समूहबाट महामन्त्रीमा उठ्ने चर्चामा रहेका नेता खुमबहादुर खड्का अन्तिम अवस्थामा आएर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् । पार्टीमा आफ्नो छुट्टै समूह भएका प्रभावशाली नेता खड्का देउवा समूहसित नजिकिएका छन् । देउवाले खड्कालाई आफूले सभापति जिते उपसभापति बनाउने आश्वासन दिएको स्रोतले जनायो ।

खड्कालाई संस्थापन पक्षमा तान्ने प्रयास पनि जारी छ । त्यसका लागि सहमहामन्त्री केसीले खड्काको नाममा संस्थापन पक्षबाट महामन्त्री उठाउने सहमति भए आफू पछि हट्न तयार रहेकोसमेत कार्यवाहक सभापति सुशीललगायत नेतालाई जानकारी गराएका थिए । तर सुशील त्यसमा सकारात्मक नदेखिएपछि खड्का देउवा समूहनजिक पुगेका हुन् ।

महामन्त्रीका दाबेदार सबैका आ-आफ्नै विशेषता र कमजोरी छन् । देउवा समूहबाट निधि निर्वाचित महामन्त्री हुने दौडमा छन् । कांग्रेसबाट महन्थ ठाकुर र विजयकुमार गच्छदारलगायत नेता बाहिरिएपछि निधि पार्टीमा मधेसको प्रतिनिधित्व गर्ने एकमात्र प्रभावशाली नेता हुन् । देउवा समूहको सर्वसम्मत उम्मेदवार र मधेसी नेता भएकाले उनी बलिया प्रतिस्पर्धी मानिएका छन् । उनी नेविसंघको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका हुन् । 'लोकतन्त्रका लागि विद्यार्थीकालदेखि निरन्तर संघर्ष र पार्टीप्रतिको लगाब नै मेरो चुनाव जित्ने बलियो आधार हो,' उनले भने, 'पार्टीको विश्वास र भरोसा जितेर म अघि आउनेछु ।'

संस्थापन पक्षका सबै उम्मेदवार आफ्नो समूह देउवा पक्षभन्दा बलियो भएकाले जित हुने दावी गरिरहेका छन् । तर दाबेदारबीच सहमति नभए जितको आधार कसरी बन्छ भन्ने उनीहरूसित कुनै जवाफ छैन ।

संस्थापन पक्षबाट महामन्त्रीका पाँचै दाबेदारका आ-आफ्ना विशेषता छन् । सिंह पार्टीमा प्रभावशाली र हक्की मानिन्छन् । केसी कार्यकर्ताबीच बढी भिजेका र मिलनसार छन् । पार्टीमा कार्यकर्तालाई सहजै पहुँच दिन सक्ने उनको स्वभाव छ भने महतचाहिँ बौद्धिक नेतामा गनिन्छन् । महत पार्टीमा आर्थिक उदारीकरणका प्रबल हिमायती हुन् । मिलनसार र सहिष्णु स्वभावका सिटौलाको शान्ति वार्तामार्फत माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन मुख्य भूमिका छ । पार्टीभित्र माओवादी पक्षधर भएको आरोप लगेकाले पछिल्लो समयमा उनले माओवादीको चर्को विरोध गर्न थालेका छन् ।

पिता गिरिजाप्रसादको बलमा राजनीतिमा आएकी सुजाताले पनि पार्टीमा आफ्नो उपस्थिति राम्रै बनाइसकेकी छन् । सबै दाबेदारलाई मिलाएर प्रभावशाली उम्मेदवार तय गर्न सकेन भने महामन्त्री पद देउवा पक्षको पोल्टामा पुग्ने संस्थापन पक्षकै नेता बताउँछन् । उनीहरूले चुनाव जित्न आवश्यक रणनीति बनाउनुपर्ने भन्दै चाँडै निर्णय लिन कोइरालालाई दबाब दिएका छन् ।

उपसभापति सिंहले चाँडै निर्णय लिन आग्रह गरेको उल्लेख गर्दै सहमतिमै उम्मेदवार तय हुने बताए । 'सहमति खोज्ने प्रक्रियामा रहेकाले मैले औपचारिक घोषणा नगरेको हो,' उनले भने, 'मभन्दा वरिष्ठ र जनपि्रय कुनै नेतालाई अघि सारे विचार गर्छु, नभए मैले उम्मेदवार हुने दृढ निश्चय गरिसकेको छु ।'

अर्का दाबेदार महतले पार्टीका साथीहरूको आग्रहमा महामन्त्री हुन चाहेको उल्लेख गर्दै आफू नै सबभन्दा उपयुक्त उम्मेदवार भएको दाबी गरे । 'साथीहरूको इच्छाले अघि बढेको हुँ । मेरो कुनै स्वार्थ छैन । दाबेदारमध्ये म सबभन्दा बलियो छु । समूहको समर्थन नभई एक्लै लड्ने कुरा हुन्न । म नै महामन्त्रीका लागि सबभन्दा उपयुक्त भएकाले मलाई नै संस्थापन पक्षले उम्मेदवार बनाउँछ,' उनले भने ।

महामन्त्रीमा सबभन्दा पहिला उम्मेदवारी घोषणा गरेका तेस्रो धारका आचार्य वैचारिक नेता मानिन्छन् । उनले पार्टीलाई संविधानसभा र गणतन्त्रको बाटोमा लैजान मुख्य भूमिका निर्वाह गरेका थिए । उनलाई तेस्रो धारका सभापति उम्मेदवार भीमबहादुर तामाङ, केन्द्रीय सदस्यहरू चक्रप्रसाद बाँस्तोलालगायतले समर्थन गरेका छन् । उनी अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । तेस्रो धारले पार्टीलाई नयाँ विचार र नीतिका साथ अघि बढाउने कार्यक्रम अघि सारे पनि उक्त समूहको संगठनमा अपेक्षित पकड छैन । आचार्य अहिले मत माग्दै पश्चिमाञ्चल पुगेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks