काठमाडौ, आश्विन ५ - कांग्रेसको महाधिवेशनको अन्तिम दिन मंगलबार सभापतिसहित पार्टीको ६४ सदस्यीय केन्द्रीय कार्यकारिणीका पदाधिकारी तथा सदस्यका लागि चुनाव हुँदैछ । सभापति, महामन्त्री र कोषाध्यक्ष तथा ६१ सदस्य छान्न राजधानीको प्रज्ञाप्रतिष्ठान परिसरमा मतदान बिहान ८ देखि ४ बजेसम्म हुने कार्यक्रम छ ।
भोट दिन र मतगणना गर्न सजिलो होस् भनेर सभापति, अरू पदाधिकारी, खुला २५, अञ्चलका १४ सिट, समावेशीका पाँच समूहका गरी नौवटा मतपत्रमा मतदान गराइनेछ । अपराह्न चार बजे मतदान सकिनासाथ सभापतिको मात्र मतगणना गरिने र तीन उम्मेदवारमध्ये एक जनाले कुल खसेको मतको ५० प्रतिशत कटाएमा विजयी उम्मेदवार घोषणा हुनेछ । कसैले पनि ५० प्रतिशत मत नपुर्याएमा बढी मत ल्याउने दुई जनाबीच बुधबार नै मतदान गराइने जानकारी निर्वाचन समितिका वासुदेव आचार्यले दिए । उनका अनुसार त्यसपछि सभापतिसहित सबैको मतगणना गरिनेछ । पहिला चरणमा सभापतिमा विजयी भएमा त्यसपछि अरू पदाधिकारी र सदस्यको मतगणता गरिनेछ ।
सभापतिका दुई प्रत्यासी सुशील कोइराला र शेरबहादुर देउवा पक्षधरले खुलातर्फ २५, अञ्चलका १४, महिला ६, दलित ५, आदिवासी जनजाति ५, मधेसी ५ गरी ६१ केन्द्रीय सदस्यमध्ये धेरैजसो सिटमा आ-आफ्नो प्यानल बनाएका छन् । पार्टीका महत्त्वपूर्ण व्यक्ति नहारून् भनेर दुवै पक्षले खुला, दलित, महिला, आदिवासी जनजाति र मधेसीका केही सिटमा प्यानल नबनाई खुला छाड्ने भएका छन् । मंगलबार बिहान मतदानअघिसम्म दुवै पक्षले प्यानलको अन्तिम सूची तयार गरी बाँड्ने तयारीमा छन् । दुवै पक्षका प्रभावशाली नेता बसेर आ-आफ्नो प्यानलको सूची तयार गरेका हुन् ।
सभापति, महामन्त्री र कोषाध्यक्षमा प्यानल बनाएका कोइराला र देउवा समूहले आफ्ना पक्षधरलाई बढी संख्यामा जिताउन सदस्यमा समेत आफ्नो प्यानल बनाएका हुन् । दुवै समूहतिर रहेका पार्टीका महत्त्वपूर्ण हस्तीले चुनाव जित्न सकुन् भनेर दुवै पक्षले खुलातर्फको २५ सिटमध्ये बढीमा २०/२० जनासम्म प्यानलमा राखेका छन्, दुवै पक्षले बाँकी सिट भने अर्को समूहमा रहेका महत्त्वपूर्ण व्यक्तित्वले जितुन् भनेर प्यानलमा खाली राखेका हुन् ।
सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्यलाई उम्मेदवार उठाएको तेस्रो धारले भने सदस्यमा प्यानल बनाएको छैन । तेस्रो धारबाट सदस्यमा चक्रप्रसाद बाँस्तोला र सुप्रभा घिमिरे -खुला सिटमा) मात्र केन्द्रीय सदस्यको उम्मेदवार छन् ।
दुवै पक्षले सबैजसो अञ्चलमा आफ्नो प्यानल बनाएका छन् । संस्थापन पक्षले मेचीमा सुधीर सिवाकोटी, कोसीमा आमोदप्रसाद उपाध्याय, जनकपुरमा आनन्द ढुंगाना, नारायणीमा राजेन्द्र अमात्य, वाग्मतीमा नवीन्द्रराज जोशी, गण्डकीमा रघुनाथ पौडेल, लुम्बिनीमा कृष्णचन्द्र नेपाली, धवलागिरिमा अर्जुन जोशी, भेरीमा हृदयराम थानी, राप्तीमा दीपक गिरी, कणर्ालीमा दीनबन्धु श्रेष्ठ, महाकालीमा दिलेन्द्र बडुलाई आफ्नो प्यानलमा राखेको छ ।
संस्थापन पक्षले जनकपुरका अर्का प्रमुख दाबेदार प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई मनोनीत केन्द्रीय सदस्यमा ल्याउने आश्वासन दिएर सम्झाउने प्रयासमा छ । कोसीका उम्मेदवार हरि अधिकारीले आमोदप्रसाद उपाध्यायलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएको घोषणा गरेका छन् । संस्थापन पक्षका नेताहरूले कोसीका अर्का उम्मेदवार अशोक कोइराला र मेचीका बेनुप प्रसाईंलाई समेत क्रमशः उपाध्याय र सिवाकोटीको समर्थनमा मनोनयन फिर्ता गराउने प्रयास गरिरहेका छन् ।
सेतीमा बद्री पाण्डे या सुनिल भण्डारी र सगरमाथामा रामकुमार चौधरी या शिव बस्नेतमध्ये एकलाई प्यानलमा राख्नेबारे छलफल भइरहेको छ ।
मंगलबार बिहानसम्म एउटालाई मनाएर दुवै अञ्चलमा अर्कोलाई प्यानलमा राख्ने निर्णय भइसक्ने जानकारी बैठकमा सहभागी एक नेताले दिए ।
देउवा पक्षले मेचीमा नरेन्द्र नेम्वाङ, कोसीमा उमेशजंग रायमाझी, सगरमाथामा सुवास पोखरेल या रामहरि खतिवडा, जनकपुरमा देवी न्यौपाने, नारायणीमा रमेश रिजाल, वाग्मतीमा ध्यानगोविन्द रञ्जित, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा भरतकुमार शाह, धवलागिरिमा किरण पौडेल, भेरीमा किशोरसिंह राठौर, राप्तीमा कृष्णकिशोर घिमिरे, कणर्ालीमा जीवनबहादुर शाही, सेतीमा अर्जुनजंगबहादुर सिंह, महाकालीमा रमेश लेखकलाई प्यानलमा राखेको छ । देउवा पक्षका नेता ती अञ्चलमा आफ्ना पक्षधर अरू प्रत्यासीलाई मनाउने प्रयासमा छन् ।
संस्थापन पक्षले मुस्लिम कोटामा आफ्ताव आलमलाई प्यानलमा राखेको छ । उक्त कोटामा उम्मेदवार बनेका फर्मुल्ला मन्सुरले मनोनयन फिर्ता लिएपछि आलमलाई प्यानलमा राख्न सजिलो भएको हो ।
देउवा पक्ष भने मुस्लिम कोटामा कसलाई प्यानलमा राख्ने निर्णयमा पुग्न बाँकी छ । देउवा पक्षको सोमबार राति अबेरसम्म बैठक जारी थियो ।
संस्थापन पक्षले खुला २५ सिटमा रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, सुजाता कोइराला, रामकृष्ण ताम्राकार, कृष्ण सिटौला, महेश आचार्य, शशांक कोइराला, नारायण खड्का, दीपकुमार उपाध्याय, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, शेखर कोइराला, तारानाथ रानाभाट, पूर्णकुमार शेर्मालगायतलाई प्यानलमा राखेको छ । युवाबाट उक्त समूहले चन्द्र भण्डारी, गगन थापालगायतलाई प्यानलमा राखेको छ । उक्त समूहले केबी गुरुङ, गोविन्दराज जोशी, विनयध्वज चन्दले खुलेर सभापतिमा सुशीललाई खुलेर समर्थन गरेमा उनीहरूलाई समेत प्यानलमा राख्ने मंगलबार बिहान नै निर्णय गर्ने तयारीमा संस्थापन पक्ष छ ।
देउवा पक्षले खुला २५ सिटमा खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रदीप गिरी, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, जीपछिरिङ लामा, जीवनप्रेम श्रेष्ठ, राजाराम कार्की, रणबहादुर रावल, खिलानाथ दाहाल, देवप्रकाश त्रिपाठीलगायतलाई प्यानलमा राखेको छ । देउवा पक्षले खुलातर्फको कोटामा २० जनासम्मलाई प्यानलमा राख्ने र अरू खुला छाड्ने भएका छन् ।
छ महिला सिटमा संस्थापन पक्षले मीना पाण्डे, उमा रेग्मी, कमला पन्त, अनिता देवकोटा, रुक्मिणी कोइराला तथा देउवा पक्षले महालक्ष्मी डिना उपाध्याय, अम्बिका बस्नेत, पुष्पा भुसाल, सुशीला स्वाँरलाई प्यानलमा राखेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा संस्थापन पक्षले आनन्द सन्तोषी राई, धनराज गुरुङ, सूर्यमान गुरुङ या प्रेमराज राईमध्ये तीनलाई, जनजातिको महिला सिटमा रत्ना शेरचन र सरस्वती बजिमयलाई प्यानलमा राख्ने सम्भावना छ, मंगलबार बिहान यी सिटमा अन्तिम निर्णय गर्ने भएको छ ।
देउवा पक्षले आदिवासी जनजातिमा भीष्मराज आङ्दम्बे, इन्द्रबहादुर गुरुङलाई प्यानलमा राख्ने भएको छ । दलित कोटामा संस्थापन पक्षले मानबहादुर विश्वकर्मा, जीवन परियार, प्रतापलाल लोहार तथा दलितको महिला सिटमा कविता सरदार र आशा विकलाई प्यानलमा राख्ने मनस्थितिमा छ, मतदानअघि प्यानल तय भइसक्ने जानकारी दुवै पक्षका नेताले दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks