Loving nepal news

Sunday, September 12, 2010

अनमिनको म्याद थप्ने सहमति

फणिन्द्र दाहाल

काठमाडौं, भाद्र २७ - सरकार र माओवादीबीच राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद अहिलेकै कार्यादेशमा थप्ने सहमति भएको छ ।

आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा अहिलेकै कार्यादेशमा म्याद थप्ने सहमति भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । 'अहिलेकै म्याण्डेटमा अनमिनको म्याद ६ महिना थप्ने सहमति भयो,' छलफलपछि श्रेष्ठले सञ्चारकर्मीसित भने, 'आजै हस्ताक्षर हुन्छ ।'

गृहमन्त्री भीम रावलले भने अझै केही बुँदामा सहमति हुन बाँकी रहेको जानकारी दिए । रावलका अनुसार सेना समायोजन विशेष समितिलाई तत्काल क्रियाशील बनाउने, माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनर्स्थापना सम्बन्धि विशेष समितिको कार्याविधि तथा आचारसंहिता विशेष समितिबाट पारित गर्ने सहमति भएको छ ।

संस्कृति मन्त्री मिनेन्द्र रिजालले पनि म्याद थप्नेबारे सहमति भइनसकेको बताए । 'प्रधानमन्त्री र माओवादी अध्यक्षबीच नमिलेका विषयमा छलफल भएपछिमात्र म्याद थपबारे निर्णय हुन्छ,' उनले ईकान्तिपुरसित भने । अनमिनको म्याद कति समयका लागि थप्ने, सेनाको अनुगमनबाट मुक्त लगउनेलगायतका विषयमा सरकार र माओवादीबीच विवाद छ ।

आइतबारको छलफलमा लडाकु समायोजनको काम तत्काल सुरु गर्न पनि सरकार-माओवादीबीच सहमति भएको छ । सरकार लडाकु समायोजन ४ महिनाभित्र गर्ने तयारीमा छ ।

छलफलमा गृहमन्त्री भीम रावल र संस्कृति मन्त्री मिनेन्द्र रिजाल तथा माओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र जनार्दन शर्मा सहभागी थिए । छलफलपछि केही विषयमा परामर्स गर्नुपर्ने भन्दै गृहमन्त्री र संस्कृति मन्त्री प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न बालुवाटार गएका थिए ।

सेनाको अनुगमनबाट अलग गरेर अनमिनको म्याद थप्न सरकारले राष्ट्रसंघलाई पत्र पठाएलगत्तै माओवादीले पनि राष्ट्रसंघलाई छुट्टै पत्र लेखेको थियो । छुट्टाछुट्टै पत्र पठाउँदा नराम्रो सन्देश जाने भन्दै साझा पत्र तयार गर्न सरकार-माओवादीबीच छलफलहरु चलिरहेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks