Loving nepal news

Tuesday, September 14, 2010

हस्तीहरू पनि आरक्षित कोटाबाट उम्मेदवार

बलराम बानियाँ

काठमाडौं, भाद्र ३० - कांग्रेसमा पिछडिएका विभिन्न वर्गका नयाँ नेता तथा कार्यकर्तालाई पार्टीको मूलधारमा ल्याउन केन्द्रीय कार्यसमितिमा आक्षत कोटामा तिनै समुदायका पुराना हस्तीहरूले उम्मेदवारी दिने भएका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी र मुस्लिम समुदायका नयाँ अनुहारलाई केन्द्रमा पुर्‍याउन छुट्ट्याइएको सिटमा पार्टी विधानको भावनाविपरीत केन्द्रीय समितिमा धेरै वर्षदेखि रहँदै आएका नेताले उम्मेदवारी दिन लागेका हुन् ।

'पार्टीको केन्द्रीय कार्यकारिणीमा पिछडिएको वर्गका नयाँ नेता तथा कार्यकर्ता आऊन् भनेर ती समुदायका लागि २७ केन्द्रीय सदस्य पद आरक्षण गरिएको हो, ती सिटबाट पुराना आऊन् भन्ने संशोधित विधानको भावना होइन' पार्टीका एक नेताले भने । कांग्रेसमा यसपटकदेखि आरक्षण कोटाबाट महिला ६, दलित ५, आदिबासी जनजाति ५, मधेशी ५, मुस्लिम १ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ, त्यस अतिरिक्त ती पाँच समुदायबाट एक/एक जना महिला मनोनित हुनेछन् ।

कांग्रेस केन्द्रीय समितिको प्रत्यक्ष सिटमा चुनाव जितेका नेताहरूले समेत आरक्षित सिटमा उम्मेदवार दिने घोषणा गरेपछि ती समुदायबाट केन्द्रीय सदस्यका नयाँ आकांक्षीहरूले चिन्ता प्रकट गरेका छन् । उनीहरूले ती समुदायका पुराना नेतालाई आरक्षित सिटमा चुनाव नलड्न दबाब दिइरहेका छन् । 'आक्षत सिटबाट वास्तवमा केन्द्रीय सदस्य भइसकेका मान्छे आउनुहुन्न भन्ने विधानको भावना हो । यो -आक्षत सिट) नयाँ मान्छे केन्द्रीय समितिमा छिर्ने ढोका हो । पुराना हस्ती जति सबैजसोले यो सिटबाट उम्मेदवार हुने घोषणा गरेर नयाँ मान्छे छिर्ने ढोका छेकिदिएका छन्, यो दुःखद् कुरा हो' धनराज गुरुङले कान्तिपुरसित भने ।

खुल्ला २५ र अञ्चलका १४ सिटबाट चुनाव जित्ने प्रवल सम्भावना भएका नेतासमेत आरक्षित सिटबाट चुनाव लड्ने तयामा लागेका छन् । आरक्षित सिटबाट सजिलै चुनाव जित्न सकिने ठानेर उनीहरू खुल्ला र अञ्चलको सिटमा नगएको नेताहरूले उल्लेख गरेका छन् । नाम उल्लेख गर्न नचाहने कतिपय नेताले अरू वर्गका प्रतिनिधिले आरक्षण सिट हुँदाहुँदै खुल्लामा हाम्रो भाउसमेत खान आयो भनेर चुनाव हराइदिन सक्ने खतरा भएकाले आफूहरू कोटामा गएको बताए ।

कांग्रेसको अघिल्लो महाधिवेशनमा प्रत्यक्ष सिटबाट केन्द्रीय सदस्य जितेका नेता मानबहादुर विश्वकर्माले समेत दलित कोटाबाट चुनाव लड्ने भएका छन् । विश्वकर्मा पार्टीमा स्थापित र प्रभावशाली नेता मानिन्छन् । उनीसमेत आरक्षण सिटमा गएपछि दलितबाट खुल्ला र अञ्चल सिटबाट उम्मेदवा दिने व्यक्ति एक जना पनि हुने छैनन् ।

आरक्षित सिटमा गएका नेताहरूले भने आफूहरू नयाँको सिट खोस्नभन्दा पनि पिछडिएको वर्गको पार्टीमा पहुँच र प्रतिनिधित्व बढाउन आफूहरूले संघर्ष गरेर बनाएको बाटामा पहिलोपटक आफैं हिडेको दाबी गरे । 'पार्टीमा हामीले संघर्ष गरेर दलितसहित सबै पिछडिएको वर्गका लागि केन्द्रीय समितिमा सिट आरक्षण गरेका हौं । मैले आफूले बनाएको बाटामा पहिला आफैं हिड्छु भनेर आक्षत सिटमा उम्मेदवार दिन लागेको हो' विश्वकर्माले भने ।

बहालवाला चार जना महिला केन्द्रीय सदस्य मिना पाण्डे, उमा रेग्मी, महालक्ष्मी डिना उपाध्याय, अम्बिका बस्नेतसमेत आरक्षित सिटबाट चुनाव लड्ने भएका छन् । मन्त्रीसमेत भइसकेकी स्थापित अर्की नेतृ कमला पन्तसमेत महिला सिटबाटै चुनाव लड्ने भएकी छन् ।

कांग्रेसमा खुल्ला २५ सिटमा महिलाबाट जम्मा दुई नेतृ सुजाता कोइराला र सुप्रभा घिमिरेमात्र उम्मेदवार हुने भएका छन् । उनीहरू दुवै जना यसअघि पनि खुल्ला सिटबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अञ्चलका १४ सिटमा भने एक जना पनि महिला उम्मेदवार नहुने सम्भावना छ ।

स्थापित मधेशी नेताहरूसमेत आक्षत सिटबाट उम्मेदवार हुने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य रहिसकेका सुरेन्द्र चौधरी, उमाकान्त चौध र शिवचन्द्र मिश्रसमेत मधेशी कोटाबाटै चुनाव लड्ने भएका छन् । मधेशीबाट खुल्ला २५ सिटमा एक जना पनि नहुने सम्भावना रहेको नेताहरू बताउँछन् । पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरी भने सगरमाथाबाट उम्मेदवार हुने भएका छन् ।

स्थापित जनजाति नेताहरूसमेत खुल्ला सिट छाडेर आक्षत कोटाबाट चुनाव लड्ने भएका छन् । केन्द्रीय सदस्यद्वय भीष्मराज आङ्देम्बे र ईन्द्रबहादुर गुरुङसमेत आक्षत कोटाबाट उम्मेदवार हुने तयामा छन् । लामो समयदेखि केन्द्रीय सदस्य रहेका स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मासमेत जनजाति कोटाबाट चुनाव लड्न खोजेका थिए । जनजातिका युवाहरूले विरोध गरेपछि उनी खुल्ला सिटमा जान लागेका छन् । महामन्त्री केबी गुरुङ, ओमकार श्रेष्ठलगायतका सीमित जनजाति नेतामात्र खुल्ला सिटबाट उम्मेदवार हुने भएका छन् ।

मुस्लिम कोटाबाट समेत लामो समयदेखि केन्द्रीय सदस्य रहेका र मन्त्री भइसकेका नेता लड्ने भएका छन् । केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुर र श्रम तथा यातायात मन्त्री आफ्ताव आलमले कोटाबाट लड्ने घोषणा गरी प्रचार सुरु गरेका छन् ।

कांग्रेसका बहालवाला केन्द्रीय सदस्य तथा स्थापित नेतासमेत खुल्ला सिट छाडेर अञ्चलको सिटबाट चुनाव लड्ने भएका छन् । अञ्चल सिटबाट उम्मेदवा घोषणा गरेकामा एक दर्जनभन्दा बढी पूर्व र वर्तमान केन्द्रीय सदस्य छन्, कांग्रेसमा प्रत्येक अञ्चलबाट एक/एक केन्द्रीय सदस्य हुने व्यवस्था छ । कोसीबाट आमोदप्रसाद उपाध्याय, महाकालीबाट दिलेन्द्र बडु र रमेश लेखक, सेतीबाट सुनिल भण्डारी र चन्द्रसिंह भट्टराई, कर्णालीबाट दिनबन्धु श्रेष्ठ र जीवनबहादुर शाही, जनकपुरबाट लक्ष्मण घिमिरे र आनन्द ढुंगाना, धवलागिरीबाट अर्जुन जोशीलगायत छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks