Loving nepal news

Friday, September 10, 2010

विमान जुध्नबाट बच्यो * ठूलो दुर्घटनाबाट धन्न बचियो: यात्रु

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २६ - नेपाली आकाश गम्भीर विमान दुर्घटनाबाट जोगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको थाई एयरवेज र काठमाडौंबाट उड्ने तयारीमा रहेको यती एयरलाइन्सको जहाज बिहीबार दिउँसो पौने एक बजे आकाशमै जुध्ने अवस्थाबाट बचेका हुन् ।

विमानस्थल टावरले थाई एयरलाई अवतरणको अनुमति दिइसकेको अवस्थामा यतीलाई पनि उड्ने अनुमति दिएको थियो । यती उत्तरबाट दक्षिण उड्न ठिक्क परेको थियो भने थाई दक्षिणबाट उत्तरतर्फ अवतरणको क्रममा थियो ।

विमानस्थलबाट ३ नटिकल माइलमा आइपुग्दा यती एयरको जहाज धावनमार्गमा देखेपछि थाईका चालकले आपतकालीन रूपमा जहाजलाई उचाइ दिएर दुर्घटना टारेका थिए । १० नटिकल माइलनजिक आइपुगेको जहाजलाई टावरले अनुमति दिन्छ । उक्त जहाज अवतरण गरेर पार्किङ वेमा नछिरेसम्म अरू जहाजको उडान र अवतरणको अनुमति दिनु हुँदैन । 'थाईलाई अवतरण गर्न आदेश दिएपछि यतीलाई पनि धावनमार्गमा किन जान दिइयो ? बुझ्न सकिएन,' सम्बद्ध स्रोतले भन्यो ।

अवतरण गर्न लागेका बेला जहाजलाई पुनः उचाइमा लैजानुपरेपछि थाईको चालक दलले जहाज सुरक्षित उचाइमा पुगेपछि यात्रुलाई माइकबाट यसबारे जानकारी दिएका थिए । अवतरण गर्ने धावनमार्गमा अर्को जहाजसमेत जहाजभित्रैको मोनिटरमा देखेको यात्रुले बताए । 'ठूलो दुर्घटनाबाट धन्न बचियो,' एक यात्रुले घटना सम्झँदै कान्तिपुरलाई बताए ।

विमानस्थल व्यवस्थापनले बिहीबार साँझसम्म यसबारे औपचारिक जानकारी पाएको थिएन । टावरको दैनिक प्रतिवेदनमा पनि 'थाई एयरको जहाज मिस एप्रोच' भएको मात्र उल्लेख छ । विमानस्थल व्यवस्थापनले दुर्घटना टरेकोबारे ढिलो सूचना पाए पनि उक्त घटना कसको लापरबाहीले भएको हो भन्नेबारे छानबिन थालेको छ ।

स्रोतका अनुसार विमानस्थल प्रशासनले टावरमा उक्त दिन बस्ने अधिकारीसँग स्पष्टीकरण सोधेको छ । 'यस्तो अवस्था आउनु हुँदैन,' उच्च स्रोतले भन्यो, 'यसमा दोषी देखिएको व्यक्तिलाई कारबाही गरिने छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks