Loving nepal news

Saturday, September 11, 2010

चिनियाँ टोली भेटघाटमा व्यस्त * दलहरूलाई मिलेर जान सुझाव

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २७ - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सचिवालयका सचिव हु याङ नेतृत्वको २१ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार काठमाडौं आएलगत्तै उच्च राजनीतिक भेटवार्ता सुरु गरेको छ । वार्तामा चिनियाँ पक्षले सबै राजनीतिक दल मिलेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सुझाव दिएको छ ।

नेपालका मुख्य तीन दलको निमन्त्रणा आएको भनिएको टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालालाई सोल्टी होटलमा भेटी नेपालको पछिल्लो विकासक्रमबारे चासो राख्नुका साथै चिनियाँ सरकारको धारणासमेत सुनाएको थियो ।

नेपालमा प्रधानमन्त्री निर्वाचनका क्रम जारी रहेका बेला र माओवादी नेता कृष्णबहादुर महराको चिनियाँ अधिकारीसँग सांसद खरिदका लागि ५० करोड मागेको भनिएको अप्रमाणित टेप सार्वजनिक भएलगत्तै उपप्रधानमन्त्रीसरहको याङ टोली आएको हो । स्रोतका अनुसार चिनियाँ पक्षबाट भ्रमणका लागि दुई महिनाअघि नै यो समय छानिएको हो ।

भेटवार्तामा अध्यक्ष दाहालसँग उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र स्थायी समिति सदस्य देव गुरुङ थिए । महराले चिनियाँ टोलीले शान्ति प्रक्रिया र संविधान निर्माणमा चासो र चिन्ता व्यक्त गरेको भेटपछि संवाददातालाई बताए ।

'उहाँहरूले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणबारे चासो राख्नुभयो, हामीले त्यसमा आफ्नो धारणा राख्यौं,' महराले भने, 'दुई देशको पार्टीगत सम्बन्धका आधारमा पनि छलफल भयो ।'

कोइरालाले चिनियाँ पक्षले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुगोस्, स्थायित्व कायम होस् र नयाँ संविधान निर्माण होस् भन्ने धारणा राखेको बताए । 'उहाँहरूले सबै राजनीतिक दल मिलेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्ने धारणा राख्नुभयो,' उनले भने । कांग्रेसको १२ औं महाधिवेशनमा चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई पठाएको निमन्त्रणाबारे पनि छलफल भएको थियो ।

याङले आइतबार राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले अध्यक्ष झलनाथ खनाल भेट्ने कार्यक्रम छ । सोमबार पोखरा र लुम्बिनी भ्रमणमा टोली जानेछ भने बिहीबार स्वदेश र्फकने छ ।

याङ चिनियाँ उपप्रधानमन्त्री सरहका अधिकारी हुन् । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार संविधानसभा निर्वाचनयता नेपाल भ्रमणमा आउने उच्च चिनियाँ प्रतिनिधिमण्डलमा याङ २१ औं नम्बरमा पर्छन् । 'यसबाहेक सानातिना र औपचारिक/अनौपचारिक भ्रमण प्रशस्तै भएका छन्,' परराष्ट्र स्रोतले भन्यो, 'पछिल्लो चरणमा चिनियाँ पक्षको चासो बढ्नाले भ्रमण संख्या पनि बढेको छ ।'

भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत श्याम शरणको ठीक एक महिनापछि चिनियाँ टोलीको नेपाल भ्रमण भएको हो । विमान चार्टर गरेर आएका याङका प्रतिनिधि मण्डललाई स्वागत गर्न माओवादीका महरा, एमालेका विदेश विभाग प्रमुख केपी ओली र कांग्रेसका उपसभापति प्रकाशमान सिंह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सञ्चारमाध्यमलाई कुनै प्रतिक्रिया नदिएको याङको टोली सोल्टी होटलमा बसेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks