Loving nepal news

Saturday, September 18, 2010

हुने-खाने नेता, बाँकी सबै कार्यकर्ता

जितेन्द्र साह

काठमाडौ, आश्विन ३ - खुट्टामा छालाको चप्पल । पैंतालासम्म पनि नपुग्ने सेतो पाइजामा, लामो कुर्ता, पातलो शरीर र सेतै कपाल । कांग्रेस महाधिवेशनको बन्दसत्र चलिरहेको भृकुटीमण्डप परिसरमा शनिबार बारा तेलकुवा-४ का बंगाली हजरा पासवान भेटिनेसित मत मागिरहेका थिए । उनी दलित आरक्षण कोटाबाट केन्द्रीय सदस्य उम्मेदवार छन् ।

सञ्चारकर्मीसित आफ्नो कुरा पनि बाहिर ल्याइदिन आग्रह गरिरहेका थिए । 'सबै चिल्ला अनुहार र राम्रो लुगा लगाएकाको मात्रै कुरा सुन्छन्,' उनले भने, 'मसँग दिनलाई केही छैन, मित्रजनसँग चन्दा उठाएर पर्चा छपाएको छु ।'

२००७ देखि कांग्रेसमा लागेका पासवानले २०२५ चैत १८ मा तत्कालीन कार्यकारी सभापति सुवर्णशमशेरले लेखेको पत्र देखाउँदै हात जोडेर मत मागिरहेका थिए । त्यतिबेला प्रवासमा रहेका पासवानलाई सुवर्णशमशेरले तत्कालीन गृह पञ्चायत मन्त्रालयको निर्णयअनुरूप स्वदेश र्फकन पत्र लेखेका थिए । त्यतिबेला सरकारले सम्पत्ति जफत नभएको र दण्ड सजाय नपाएकालाई शान्ति नागरिक बनेर स्वदेशमा बस्न दिने निर्णय गरेको थियो । 'कांग्रेस हुने-खानेको पार्टीर् बनेको मलाई राम्ररी थाहा छ,' लामो राजनीतिक जीवनमा पहिलो पटक केन्द्रीय सदस्यका उम्मेदवार भएका पासवानले भने, 'म विचारको लडाइँ लड्छु र जित्ने विश्वास छ ।'

उम्मेदवारले मनोनयन दिएको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय र भोजन व्यवस्था गरिएको भृकुटीमण्डप वरिपरि बिहानदेखि चुनावी रौनक देखिन्थ्यो । उम्मेदवारमा महाधिवेशन प्रतिनिधिसँग भोट माग्ने प्रतिस्पर्धा चलेको थियो ।

बन्दसत्र स्थल भृकुटीमण्डप क्षेत्रलाई प्रहरीले माखेसाङलो बनाएर घेराबन्दी गरेको थियो । पास बाहेककालाई प्रवेश निषेध थियो । चिल्ला गाडी चढ्ने र चिटिक्कका पहिरन लगाउनेहरू दलबलसहित सडकमा भोट मागिरहेका थिए । कोही श्रीमती त कोही श्रीमान्का लागि र घरमा काम गर्नेहरूसमेत मालिक, मालिक्नीका पर्चा बाँडिरहेका भेटिए ।

पासवानजस्तै सिरहा धनगढी-१ का रामदयाल यादव पनि पहिलोपटक मधेसी कोटाबाट केन्द्रीय सदस्यमा भिड्दै छन् । कांग्रेसमा १४ वर्षको संघर्ष गरेका उनले पनि साथीहरूसँग आर्थिक सहयोग सस्तो खाले ६/७ हजार पर्चा छापेका छन् । उनी ती पर्चा एक्लै बाँड्दै मत मागिरहेका छन् । यो सिद्धान्तको लडाइँ भएकाले मतदाता खरिदबिक्रीमा लाग्नेको जित नहुने यादवले बताए ।

'कांग्रेसका लागि महाधिवेशन एक अग्नि परीक्षा हो,' उनले भने, 'मुलुकको भविष्य पनि कांग्रेसको भावी नेतृत्वले तय गर्ने हुनाले पैसा र गाडीवालाको हालीमुहाली होलाजस्तो लाग्दैन, ।' यादवले बीपीकै सिद्धान्तअनुरूप आफूजस्ता झुपडीमा बस्नेको जित र तडकभडकको बलमा उम्मेदवारी दिएकाको पराजय हुने विश्वास व्यक्त गरे ।

धेरैजसो उम्मेदवार भड्किलो र खर्चिलो प्रस्तुतिका साथ मैदानमा उत्रे पनि सरलताका साथ मैदानमा उत्रेकाको मनोबल पनि कमी आएको देखिएन । बाजुराको सबैभन्दा पिछडिएको रुगिन-२ बाट आएर केन्द्रीय सदस्य उठेका ३७ वषर्ीय बद्री पाण्डे पनि एक्लै सामान्य हिसाबमै मत मागिरहेका थिए ।

'अहिलेको सांगठनिक ढाँचामा कांग्रेसमा हुने-खाने नेता छन्, बाँकी सबै कार्यकर्ताझैं छन्,' उनले भने, 'त्यागवादी सोचभन्दा भोगवादी चिन्तन हावी भएर यस्तो भएको हो, पद, प्रतिष्ठा र पैसाको दौडले यस्तो भएको हो ।' नेविसंघका पूर्वमहामन्त्री उनले कीर्तिपुरबाट राजनीतिशास्त्रमा एमए र वाल्मीकि क्याम्पसबाट बीए गरेका छन् । 'यो अपसंस्कृतिलाई सकारात्मक मोड दिएर विचार, सिद्धान्त र निष्पक्षताको राजनीतिमा जोड दिनुपर्छ,' पाण्डेले भने । उनले बिर्सिसकिएको लोकतान्त्रिक समाजवाद पुनःस्थापित गर्न र पार्टीलाई पद्धतिप्रधान बनाउन उम्मेदवारी दिएको बताए ।

कतिपय नेता र कार्यकर्तालाई भृकुटीमण्डपको खुला चौरमा बनाइएको भोजन स्थलमा सामान्य र साधु पहिरनमा मत मागिरहेका तर्फ हेर्ने र कुरा सुन्ने फुर्सदसमेत थिएन । योगीको झैं रातो पोसाकमा मत माग्दै हिँडिरहेका जन्मैदेखि अपांग ४२ वषर्ीय भरत बिडारीले आफूहरूसँग कतिपय नेता, कार्यकर्ता बोल्नसमेत हिच्किचाउने गरेको सुनाए । 'यो सब राजनीतिक चेतना र ज्ञानको कमीले गर्दा हो,' उनले भने । भृकुट- मण्डपदेखि ११ किमि उत्तरस्थित काठमाडौं झोरमहाकांल-५ का बिडारी खुलाबाट केन्द्रीय सदस्यमा उठेका हुन् ।

बीपीको समाजवादी चिन्तनबाट प्रभावित भएर प्रजातन्त्रको पुनर्बहालीपछि २०४६ देखि उनी राजनीतिमा लागेका हुन् । 'यो अधिकारको लडाइँ हो, आर्थिक हैसियतसँग यसलाई दाज्नु हुन्न,' प्रयोगात्मक योगगुरुसमेत रहेका बिडारीले भने, 'पार्टीलाई लोकतान्त्रीकरण गर्न समावेशी गराउनैपर्छ ।' मुलुकमा ३० लाख नागरिक अपांग भए पनि पार्टीले अपांगलाई चाहिने जति महत्त्व नदिएको उनले गुनासो गरे । केन्द्रीय सदस्यमा उनीसहित दुई अपांग लड्दै छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks