बलराम बानियाँ/कुलचन्द्र न्यौपाने
काठमाडौं, भाद्र २६ - केही वर्षयता कांग्रेसमा दुईटामात्र समूह थिए, संस्थापन र देउवा पक्ष । यसचोटि भने महाधिवेशनको पूर्वसन्ध्यामा तेस्रो धार देखापर्यो, जसले पार्टीमा ठूलै संगठित ध्रुवीकरण भने ल्याउन सकेको छैन । देशभरबाट छानिएका ३ हजार ८८ महाधिवेशन प्रतिनिधि मुख्यतः संस्थापन र देउवा समूहमा ध्रुवीकृत हुँदैछन् ।
एउटा पक्षले अर्को समूहका नेता तथा महाधिवेशन प्रतिनिधिलाई तान्ने खेल सुरु भइसकेको छ । सभापतिका प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवा संस्थापन पक्षका नेता खुमबहादुर खडा, प्रदीप गिरी र पूर्णबहादुर खडालाई आफूतिर ल्याउन सफल भइसकेका छन् । पार्टीभित्र छुट्टै प्रभाव र समूह भएका खुमबहादुर फर्किएपछि देउवा समूह उत्साहित देखिएको छ ।
उनीहरू तीनैजना केही समयअघि देउवा समूह छाडेर संस्थापन पक्षतिर लागेका थिए । देउवाले आफूलाई छाडेर गएका चिरञ्जीवी वाग्ले, बलबहादुर केसीलगायत अरू नेतालाई पनि आफ्नो समूहमा ल्याउन खोज्दैछन् । वाग्ले र केसी भने कुन समूहमा लाग्दा फाइदा हुन्छ भन्ने विश्लेषण गर्दै रहेको निकटस्थ स्रोतले बतायो ।
सुशील कोइराला नेतृत्वको संस्थापन पक्ष पनि आफूसित असन्तुष्ट भई छुट्टै समूह बनाएर क्रियाशील महामन्त्री केबी गुरुङ, गोविन्दराज जोशी, विनयध्वज चन्द, सुनिल भण्डारी, लक्ष्मण घिमिरेलगायतका नेता आफ्ना समूहमा फर्किपछि उत्साहित छ । देउवा पक्ष गुरुङ नेतृत्वको समूह आफूतर्फ आउनेमा विश्वस्त थियो ।
गुरुङ नेतृत्वको समूहले महामन्त्रीका सवालमा लिएको अडानले भने संस्थापन पक्षलाई अप्ठेरोमा पारेको छ । उक्त समूहले नेतृ सुजाता कोइरालालाई महामन्त्रीमा समर्थन गरेपछि संस्थापन पक्ष समस्यामा परेको हो । संस्थापन पक्ष सुजातालाई फकाएर महामन्त्रीमा अर्कैलाई सर्वसम्मत उम्मेदवार बनाउन खोज्दैछ । गुरुङ समूहको समर्थनका कारण सुजाता महामन्त्री छाड्न तयार देखिन्नन् ।
देउवा समूहले चाहिँ महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादवलाई अगाडि सारेर संगठित प्रचार अभियान थालिसकेको छ । तर संस्थापन पक्षलाई महामन्त्री पद टाउको दुखाइ भइरहेको छ । महामन्त्रीका पाँच आकांक्षी प्रकाशमान सिंह, अर्जुननसंह केसी, रामशरण महत, कृष्ण सिटौला र सुजाताबीच सहमति गराउन नसकेपछि संस्थापन पक्षले सामूहिक रूपमा आफ्नो प्रचार अभियानसमेत सुरु गर्न सकेको छैन ।
सुजाता कोइरालाले आफूलाई उम्मेदवार नबनाए आफू स्वतन्त्र रूपमा लड्ने बताएपछि संस्थापन पक्षले शुक्रबार पनि निर्णय गर्न सकेन । संस्थापन पक्षधर नेताहरूले आफ्नो समूहबाट महामन्त्री र कोषाध्यक्षको उम्मेदवार तय गर्ने जिम्मा कोइराला र पौडेललाई दिएका छन् । उनीहरूले शनिबार बिहान उम्मेदवार तय गर्ने स्रोतले उल्लेख गर्यो ।
देशभरबाट महाधिवेशन प्रतिनिधिको परिणाम आउँदा संस्थापन पक्ष धेरै उत्साहित थियो । संस्थापनका नेता 'सभापतिमा कोइरालाको जित सुनिश्चित भयो' भन्थे । तर संस्थापनकै बौद्धिक र स्वच्छ मानिने भीमबहादुर तामाङ, नरहरि आचार्य, चक्रप्रसाद बाँस्तोला, सुप्रभा घिमिरेलगायतले तेस्रो धार बनाई छुट्टै उम्मेदवा दिई देश दौडाहामा लागेका छन् । त्यसबाट संस्थापन पक्षलाई धक्का पुगेको छ । तेस्रो धारमा देउवा समूहका अमरराज कैनीमात्र छन् । खुमबहादुर खडालगायतका नेताको बहिर्गमनले पनि संस्थापन पक्षलाई धक्का पुर्याएको छ ।
देउवा पक्ष आफूलाई थप मजबुत बनाउन संसदीय दलका नेता रामचन्द्र पौडेललाई सके आफ्नो पक्षमा ल्याउने, नसके तटस्थ बनाउने रणनीतिमा छ । पौडेलनिकट एक नेताका अनुसार केहीअघिसम्म तटस्थ बस्ने मनस्थितिमा रहेका पौडेल अहिले कोइरालाकै पक्षमा छन् ।
महाधिवेशन प्रतिनिधिको परिणाम हेर्दाचाहिँ सुदूर पश्चिम विकास क्षेत्रमा मात्र देउवा पक्ष बलियो देखिन्छ भने बाँकी चारवटामा संस्थापन । खडा देउवातिर आएपछि मध्यपश्चिममा देउवा पक्ष संस्थापनभन्दा बलियो हुन पुगेको छ । बाँकी तीन क्षेत्रमा समेत संस्थापन र देउवा समूहबीच 'दूरी' कम भएको छ । महाधिवेशन प्रतिनिधिमध्ये ८० प्रतिशतमात्र संस्थापन र देउवा समूह भनेर खुलेका छन् भने बाँकी २० प्रतिशत तटस्थ बसेका छन् ।
समावेशी कोटाबाट आएका छोटो राजनीतिक पृष्ठभूमिका र विभिन्न जिल्लाका स्वतन्त्र प्रतिनिधि महाधिवेशनमा निर्णायक हुने पार्टी नेताहरू बताउँछन् । प्रभावशाली नेता र केन्द्रीय सदस्यको संख्या संस्थापन पक्षसित बढी छ, त्यसले स्वाभाविक रूपमा बढी महाधिवेशन प्रतिनिधिलाई आकर्षण गर्न सक्छ ।
कोइरालाका पक्षमा मुख्यतः परिवारका सदस्यमात्र कार्यकर्ता भेटमा लागेकाले टिम व्यवस्थापन राम्रो हुन सकेको छैन । देउवासित कोइरालाको तुलनामा थोरै केन्द्रीय सदस्य छन् । तर देशभरका कार्यकर्तासित सम्पर्क भएका नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष धेरै छन् । उनले टिम व्यवस्थापनसमेत राम्र गरेका छन् ।
तीनवटै पक्षको तुलना गर्दा तेस्रो धारमा नयाँ विचार छ, तर त्यसमा लाग्ने नेता थोरै छन् । जति छन्, ती बौद्धिक र स्वच्छ छविका छन् । तर तेस्रो धारसित सांगठनिक आधार कमजोर छ । संस्थापन र देउवा समूह दुवैसित संगठनको बलियो आधार छ तर वैचारिक पक्ष भने फितलो छ ।
सभापतिका प्रत्यासीहरू कोइराला, देउवा र तामाङको तुलना गर्दा तीनैजनाको आ-आफ्नो विशेषता र कमजोर छन् । कोइराला र देउवाको पार्टीमा बलियो प्रतिबद्ध समूह छ, तामाङको छैन । तामाङ र कोइराला स्वच्छ छविका निष्ठावान मानिन्छन् तर देउवा तीनैपटक प्रधानमन्त्री हुँदा अनेक प्रकरण र विवादमा मुछिएका थिए ।
उता कोइराला २०५३ देखि पार्टीमा कहिले महामन्त्री त कहिले उपसभापतिका रूपमा क्रियाशील छन्, अझ २०६४ पछि कार्यवाहक सभापति नै रहे । उनीमाथि पार्टीमा गुटबन्दी बढाएको आरोप छ भने देउवा पनि त्यस्तो आरोपबाट मुक्त छैनन् ।
कांग्रेस नेताहरूका अनुसार कोइराला नेता तथा कार्यकर्तालाई सहज पहुँच दिन्छन् तर 'संरक्षण' दिँदैनन् । देउवामा पहुँच सहज छैन तर उनी आफ्नो पक्षका कार्यकर्ताको संरक्षण गर्छन् । देउवासित अनियमितताको आरोप लागेका नेता बढी छन्, कोइरालासित केही कम । कोइराला र देउवा दुवैमाथि लामो समय अवसर पाउँदा पनि नेतृत्व क्षमता देखाउन नसकेको आरोप पनि छ । तामाङको भने नेतृत्व क्षमता परीक्षण हुन बाँकी छ ।
तामाङ नीति र कार्यक्रमसाथ प्रचारमा जुटेका छन् । तर कोइराला र देउवाले विचार र कार्यक्रम अगाडि सार्न सकेका छैनन् । उनीहरूका चुनावी एजेन्डा भने समान खालका छन् । दुवैले पार्टीमा भावनात्मक एकता, समावेशी, संस्थागत र लोकतान्त्रिक निर्णय प्रक्रियासहितको निष्ठावान् पार्टी बनाउने एजेन्डा अघि सारेका छन् ।
संस्थापन पक्षका नेता अर्जुननसंह केसी पार्टीमा मूल्य र निष्ठाको राजनीति स्थापित गर्नु संस्थापन पक्षको एजेन्डा रहेको र त्यो नै आफ्नो समूहको जितको आधार भएको बताउँछन् । 'पार्टीमा संस्थागत निर्णय प्रक्रिया र सामूहिक नेतृत्वको पद्धतिलाई अघि बढाउने, समावेशी, न्यायपूर्ण पद्धति स्थापना गर्ने अभियान संस्थापन पक्षको निर्वाचन जित्ने मुख्य आधार हुन्,' केसीले भने, 'सँगसँगै युवा सहभागिता र लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सशक्त रूपमा अघि बढ्ने हाम्रो मुख्य एजेन्डा हुनेछ ।'
देउवा समूहका महामन्त्रीका उम्मेदवार विमलेन्द्र निधि सांगठनिक तथा वैचारिक रूपमा समेत आफ्नो पक्ष बलियो रहेको दाबी गर्छन् । 'हाम्रो पहिलो आधार भनेको मतदाताप्रतिको विश्वास र भरोसा हो, त्यसपछि समावेशी प्रणालीअन्तर्गत महिला, मधेसी, जनजातिको मुद्दालाई सम्बोधन गर्नेमा हामी अगाडि छौं,' उनले भने, 'परम्परागत रूपमा रहेको पार्टीलाई आदिवासी, जनजाति, दलितको बनाउनु हाम्रो वैचारिक पक्ष हो ।' उनले अग्रगामी परिवर्तनलाई नेतृत्व दिन सक्ने पार्टी बनाउनु नै आफ्नो टिमको अभियान रहेको समेत बताए ।
| कोइराला पक्ष सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, केबी गुरुङ, तारानाथ रानाभाट, अर्जुननसंह केसी, रामशरण महत, महेश आचार्य, कृष्ण सिटौला, आमोदप्रसाद उपाध्याय, दीपकुमार उपाध्याय, बलदेव शर्मा मजगैयाँ, सुजाता कोइराला, शेखर कोइराला, शशांक कोइराला, सुरेन्द्र चौधरी, पद्मनारायण चौधरी, डा. नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, गोविन्दराज जोशी, सुनिल भण्डारी, गोपाल पहाडी, विनयध्वज चन्द, दिलबहादुर घर्ती, फर्मुल्लाह मन्सुर, अर्जुन जोशी, लक्ष्मण घिमिरे, पूर्णकुमार शेर्मा, मानबहादुर विश्वकर्मा, रामकृष्ण ताम्राकार, शुक्रराज शर्मा, दीनबन्धु श्रेष्ठ, सिद्धराज ओझा, मीना पाण्डे, अम्बिका बस्नेत आदि । |
| देउवा पक्ष शेरबहादुर देउवा, खुमबहादुर खडा, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रदीप गिरी, पूर्णबहादुर खड्का, चित्रलेखा यादव, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मनमोहन भट्टराई, एनपी सावद, रमेश लेखक, रमेश रिजाल, जिपछिरिङ लामा, उमाकान्त चौधरी, महेन्द्र यादव, जीवनबहादुर शाही, जीवनप्रेम श्रेष्ठ, भीष्मराज आङम्बे, इन्द्रबहादुर गुरुङ, शिवचन्द्र मिश्र, आरजु देउवा, उमा रेग्मी, डिना उपाध्याय आदि । |
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks