Loving nepal news

Wednesday, September 8, 2010

एकताको महाधिवेशन बनाउन नेतात्रय प्रतिवद्ध

कुलचन्द्र न्यौपाने

काठमाडौं, भाद्र २३ - कांग्रेसका तीन शीर्ष नेताले पार्टीको १२ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सानेपास्थित पार्टी कार्यालयमा कार्यवाहक सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलले भावनात्मक रुपमा एक हुन नसकेको कांग्रेस महाधिवेशनपछि एक ढिक्का हुने बताए ।

एकताको सन्देशसंगै महाधिवेशनले परिवर्तनका उपलव्धिलाई संस्थागत गर्न पार्टीले शान्तिप्रकृया र संविधान निर्माणको नेतृत्व लिने समेत उनीहरुले बताए । कार्यबाहक सभापति सुशील कोइरालाले महाधिवेशनबाट कांग्रेसलाई विगतका विकृति विसंगतिलाई हटाएर नयाँ चुनौति र हाँक समाना गर्न सक्ने पार्टीको रुपमा अघि बढाउने बताए ।

कांग्रेस प्रचार प्रसार समितिले महाधिवेशनबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न शान्तिप्रकृया र लोकतान्त्रिक संविधान निर्माणलाई अघि बढाउनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँदै माओवादी शान्तिप्रकृयाप्रति गम्भीर नभएको बताए ।

शान्तिप्रकृयालाई पुरा गर्ने दिशामा माओवादीबाट एक कदम कार्य अघि नबढेको बताउँदै देउवाले लडाकुको समायोजन, वाईसीएलको अर्धसैन्य संरचना खारेज र कव्जा घरजग्गा फिर्ता नहुदा सम्म शान्तिप्रकृयाले गति नपाउने बताए ।

संसदीय दलका नेता पौडेलले अप्ठ्यारो परिस्थितीमा महाधिवशेन हुन गइरहेको बताउँदै परिवर्तनलाई संस्थागत गरी नयाँ युगको थालनी गर्न कांग्रेस महाधिवेशन एउटा कोशेढुंगा हुने बताए । उनले कांग्रेस इतिहास र अहिलेसम्म विचार र कार्यक्रममा द्धिविधा नराखी यहाँसम्म आइपुगेको बताउँदै दोधारे विचार र धारणा राख्ने दलले अहिलेको समस्या हल गर्न नसक्ने बताए । उनले आफू प्रधानमन्त्री निर्वाचनबाट पराजित नभएको बताउँदै भने-'म पराजित हुनलाई कसैले जित्नुपर्छ । अहिले कसैले जितेको परिस्थिति छैन ।' माओवादीले मुद्दामा भन्दा सत्ता प्राप्तीका लागेको उनले बताए ।

प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तयारीका बारेमा जानकारी गराए । उनले पाँच वटा जिल्लाका अधिवेशन हुन बाँकी रहेको बताउदै जिल्ला अधिवेशन सम्पन्न नभएपनि त्यसले महाधिवेशनलाई प्रभावित नपार्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks