Loving nepal news

Wednesday, September 15, 2010

महासभामा मन्त्रीको जम्बो टोली

अब्दुल्लाह मियाँ

काठमाडौ, भाद्र ३१ - चर्को विरोधपछि प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघ महासभामा जाने निर्णय रद्द गरे पनि वनमन्त्री दीपक बोहरा जम्बो टोली लिएर अमेरिका उड्ने भएका छन् ।

'सेभ द हिमालयज्/हिमाल बचाउ' कार्यक्रम गर्न भन्दै जम्बो टोली लिएर बोहरा असोज २ गते अमेरिका जान लागेका हुन् । कार्यक्रममा सहभागी हुनेको सूची बोहरा आफैंले तयार पारेका छन् । जसमा धेरैजसो बोहराका सहयोगी, व्यापारी र निकटका छन् ।

न्युयोर्कको 'ग्याग प्लाजा' मा हुने भनिएको हिमाल बचाउसम्बन्धी कार्यक्रममा सहभागी हुनेको नाम मन्त्रीले गोप्य ढंगले चयन गरेको भन्दै वन मन्त्रालयका अधिकारीले विरोध जनाएका छन् । पार्टीका कार्यकर्ताका साथै सहयोगीले कार्यक्रममा सहभागी गराउन बोहरालाई दबाब दिइरहेकाले टोलीको संख्या २५ पुग्न सक्ने स्रोतले बतायो । असोज ५ मा ग्याग प्लाजामा स्थानीय समयअनुसार दिउँसो १२ देखि ४ बजेसम्म प्रदर्शन गरिने कार्यक्रम तय भएको छ ।

त्यहाँ जाने खर्चका निम्ति बोहराकै निर्देशनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा कार्यरत दातृ निकायबाट आर्थिक सहयोग संकलन गरेका छन् । स्रोतअनुसार कार्यक्रमका लागि यूएसएड, विश्व वन्यजन्तु कोष नेपाल र नेपाल पर्यटन बोर्डले समेत सहयोग गरिसकेका छन् ।

कोषका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रम संयोजक सिद्धार्थबज्र बज्राचार्यले खर्चबारे भन्न नमिल्ने बताए । 'फन्ड संकलन भइरहेको छ,' उनले बुधबार कान्तिपुरसित भने, 'एक/दुई दिनपछि बताउँला ।' उनले कार्यक्रममा कालापत्थरको बैठक र कोपनहेगनमा जस्तै सरकारको एक पैसा पनि खर्च नहुने दाबी गरे । कार्यक्रमका लागि कोषकै रकमसमेत प्रयोग हुने मन्त्रालयका एक सहसचिवले बताए ।

एक वर्षदेखि मन्त्री बोहराले कोषमा मनोमानी गरेको आरोप लाग्दै आएको छ । उनले कोषमा मनपरी कर्मचारी भर्ना गरेको आरोप लागेको छ ।

वन मन्त्रालय स्रोतका अनुसार बोहराको नेतृत्वमा जाने टोलीमा बज्राचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङ, कोषका प्रशासन प्रमुख दीपककुमार सिंह, कर्मचारी शरद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल, सगरमाथा आरोहीहरू दावा स्टेभन शेर्पा, सोनाम शेर्पा, शेरब जाङ्बु शेर्पा, सगरमाथा आरोही संघका दिवस पोखरेल, एडभेन्चर टुर्स एन्ड अपरेटर्स एसोसिएसनका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी सुमन पाण्डेलगायत छन् । सगरमाथा आरोही संघका अध्यक्ष वाङ्चु शेर्पा र नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायत संघका अन्य पदाधिकारीसमेत टोलीमा रहनेछन् । राष्ट्रसंघीय महासभामा नेपालको नेतृत्व गरी जाने गृहमन्त्री भीमबहादुर रावल, प्रधानमन्त्रीका विशेष सल्लाहकार कुलचन्द्र गौतम, परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराई, सहसचिव दुर्गा भट्टराई, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि ज्ञानचन्द्र आचार्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईसमेत बोहराको कार्यक्रममा सहभागी हुनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्न लागिए पनि जलवायुको फोकल वातावरण मन्त्रालयलाई भने कार्यक्रमबारे जानकारी गराइएको छैन । 'हामीलाई कुनै जानकारी छैन,' वातवारण मन्त्रालयका सहसचिव पुरुषोत्तम घिमिरेले कान्तिपुरसँग भने ।

ब्ाोहराको सूचीमा परेका वन मन्त्रालयका सहसचिव रामप्रसाद लम्सालको भने अमेरिकी दूतावासले भिसा नदिएपछि मन्त्रालयको प्रतिनिधित्व नहुने भएको छ । दूतावासले बुधबार लम्सालको राहदानी फिर्ता गरेको थियो । अर्को प्रक्रियामा जाँदा समय अपुग हुने भएकाले आफू नजाने लम्सालले बताए । गत वर्ष डेनमार्कको कोपनहेगनमा भएको हिमाल बचाउ कार्यक्रममा पनि बोहराले श्रीमती, छोरा, नाति र नातिनीका साथै पिएहरूलाई सहभागी गराएपछि तीव्र विरोध भएको थियो ।

कार्यक्रममा अमेरिकामा रहेका गैरआवासीय नेपालीका साथै अन्य गरी झन्डै एक हजार जना सहभागी हुने संयोजक बज्राचार्यले जनाए । गत वर्षको डिसेम्बर ११ मा डेनमार्कको कोपनहेगनमा भएको 'सेभ द हिमालयज्' कार्यक्रमलाई निरन्तरता दिँदै यो पटक बोहराले त्यस्तै कार्यक्रम न्युयोर्कमा गर्न लागेका हुन् । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरसम्बन्धी प्रदर्शन तथा मार्चपास गर्ने कार्यक्रम छ । कार्यक्रमपश्चात् संयुक्त राष्ट्रसंघलाई ज्ञापनपत्रसमेत बुझाइनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks