श्यामसुन्दर शशि
जनकपुर, आश्विन ७ - झण्डै डेढ महिनादेखि बन्द मुलुककै ठूला उद्योगमध्येका जनकपुर चुरोट कारखानामा नयाँ महाप्रवन्धकको आगमनसंगै वुधवारदेखि पुनः उत्पादन सुरु भएको छ । उचित व्यवस्थापन तथा पूँजीको आभावमा साउन २४ गतेदेखि कारखानाको उत्पादन ठप्प थियो ।
कारखानाका नव नियुक्त महाप्रवन्धक श्यामकुमार महतोले यस डेढ महिनामा कारखानालाई करौंडो नोक्सानी भएको बताए । केही वर्ष अघिसम्म दैनिक एक करोड खिल्ली चुरोट उत्पादन गर्ने जचुकालि अचेल चरम आर्थिक संकटमा छ । कच्चा पदार्थको आभावमा अचेल उत्पादन घटेर दैनिक दश हजार खिल्लीमा झरेको छ । कुनै बेला तीन हजार अधिक कामदार रहेको यस कारखानामा अहिले ९ सय ३४ कामदारमात्र छन् ।
महाप्रबन्धक महतोले करीव एक अर्ब घाटामा रहेको यस कारखानालाई अझै पनि जोगाउन सकिने दावी गरे । उनको कथन थियो-यसको लागी ममजदूर , ब्यवस्थापन तथा सरकार मिलेर जानुपर्छ । महाप्रवन्धक महतोले पनि राजनीतिक हस्तक्षेपका कारण कारखाना नोक्सानमा पुगेको बताए । उनले कारखानासंग रहेको श्रोत साधनको सही प्रयोग गरेर पुनः नाफामा ल्याउन सकिने दृढता पनि व्यक्त गरे ।
कारखाना बन्द हुने आशंकामा चिन्तित मजदुरहरु पुनः उत्पादन सुरु भएको कुराले प्रसन्न छन् । निर्देशक ललित रौनियारले डेढ महिनापछि पुनः कारखाना संचालन भएकोमा प्रशन्नता व्यक्त गरे ।
दशैंको पूर्वसन्ध्यामा कारखाना सञ्चालनमा आएपछि कार्यरत मजदूरहरु उत्साहित हुनु स्वाभाविक रहेको प्रशासन शाखाका जयकिशोर मण्डलले जनाए । मजदूरहरु पुनः एकपटक जचुकालि बचाउ अभियानमा जुटेको उनले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks