काठमाडौ, आश्विन ११ - जग्गेमा घुम्नुअघि नै 'प्रि-हनीमुन' मनाउने संस्कारमा हुर्कैदै गरेकाहरुका लागि 'बिहा गर्दा झुक्किने' कुरा आश्चर्यलाग्दो हुन सक्छ । तर सिराहाका एक युवाका लागि भने यो एक पीडादायी घटना भइदिएको छ ।
सुखी संसारको सुरुवातमा भित्र्याइएकी नब बधुको 'मानसिक अवस्था ठीक नभएको' पाएपछि २८ वषर्ीय गोविन्द झा (नाम परिवर्तन) छानोबाट खसेजस्तो भए । आफूलाई लमी र दुलहीका आफन्तले झुक्याएर बिहा गरिदिएको भन्दै गोविन्दले त्यो बदर गरिदिन आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
'हाम्रो जातीय परम्परा अनुसार बिवाह हुनुअघि केटीसँग कुरा गर्न नपाइने भएकाले मैले निज (दुलही)सँग भेटघाट र कुराकानी गरेको थिइनँ' उनको जाहेरीमा उल्लेख छ,'बिहापछि गत असार १३ गते बेलुका आठ बजे सुहागरातमा (दुलहीसँग) भेट हुँदा निज विक्षिप्त किसिमको देखिएको र निजको कुराकानी तथा व्यवहार मलाई अनौठो लागेको थियो ।'
गोविन्दको जाहेरीमा सुहागरातमा भेट हुँदा २४ वर्षिया दुलही रुने, कराउने र आत्तिने गर्न थालेको लेखिएको छ । उनले यसबारे दुलहीका बाआमा र लमीलाई तत्कालै खबर गरेका थिए ।
उनीहरुले 'यसलाई भूत लागेको छ भनी मलाई ढाँटी धामी बोलाई झारफुक गरेका थिए' गोविन्दको जाहेरीमा छ ।
महोत्तरीका चन्द्रकान्त र उनकी पत्नी रुमा झाले गोविन्दलाई सर्लाहीकी निरा (नाम परिवर्तन) झासँग बिहा गर्न कुरा चलाएका थिए । असार १० गते उनीहरुको बिहा भएको थियो । परम्परा अनुसार तीन दिनसम्म दुलहीकै घरमा आफू बसेको गोविन्दले बताए ।
गोविन्दले दुलहीको अवस्था ठीक नभएको भन्दै बिहा अस्वीकार गरेपछि केटीका आफन्त र लमीले असार १८ गते शिक्षण अस्पताल महारागञ्जमा उपचारका लागि लगेका थिए । त्यहाँ निको नभएपछि उनलाई तिलगंगास्थित टेकबहादुर रायमाझी आरोग्य मन्दिरमा लगिएको थियो । त्यहाँ पनि उनलाई निको नभएपछि अहिले निरालाई उनकै बाबुले आफैंसँग राखेका छन् ।
गोविन्दले जाहेरीमा अस्पतालको रिपोर्ट पनि साथै पेस गरेका छन् । उनले लमी र केटीका बाआमासँग किन झुक्याएको भनेर सोधेका थिए ।
उनीहरुले 'बिहा गरेपछि ठीक हुन्छ की' भनेर ढाटेको गोविन्दले बताए । अदालतमा यस्तो प्रकृतीको मुद्दा विरलै पर्ने गरेका छन् ।
'अहिलेको समयमा केटी नहेरी बिहा गर्ने भन्ने कुरै अनौठो लाग्छ' काठमडाौं जिल्ला अदालतका एक कर्मचारीले भने,'परम्पराका नाममा केटी नहेर्ने र झुक्किने भन्ने कुरा पहिले धेरै थिए, अहिले पनि रहेछ भन्ने सुन्दा आश्चर्य लाग्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks