Loving nepal news

Tuesday, September 28, 2010

दसैंमा भोकै बस्नुपर्ने भो !

जयबहादुर रोकाया

सिमकोट (हुम्ला), आश्विन १३ - जति-जति दसैं नजिकिँदो छ, त्यति-त्यति हुम्लीको चिन्ता बढ्दो छ, 'यो दसैंमा भोकै बस्नुपर्ने भो !' दसैं सुरु हुन करिब एक साता मात्र बाँकी छ । तर खाद्य संस्थानको सिमकोटस्थित गोदाम रित्तो छ । हुम्लीले खाद्यान्न पाउन सकेका छैनन् । 'केही चामल थियो, भदौ २८ गते एक पटक वितरण गर्न नपाई सकियो,' प्रमुख जिल्ला अधिकारी रामुप्रसाद उपाध्यायले भने, 'त्यसपछि ढुवानी नहुँदा दसैंको मुखमा गोदाम रित्तै छ । हुम्लीले दसैंमा भात खान होइन, चामल देख्नसमेत नपाउने स्थिति छ ।'

दसैंअघि खाद्यान्न ढुवानी नभए भोकभोकै दसैं गुजार्नुपर्ने चिन्ताले हुम्ली आक्रोशितसमेत हुन थालेका छन् । जिल्ला खाद्य व्यवस्था समितिले दसैंअगाडि कम्तीमा पाँच हजार क्विन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी गर्न नेपाल खाद्य संस्थानसँग माग गर्दै आए पनि उपलब्ध हुन सकेको छैन । जिल्ला प्रशासनले पहल भइरहेको जनाएको छ । 'मैले पत्राचार र टेलिफोनबाट बारम्बार ताकेता गरिरहेको छु,' प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, 'पछिल्लोपल्ट संस्थानको अञ्चल कार्यालयमा सम्पर्क गर्दा सरकारबाट निर्णय हुनेबित्तिकै हेलिकप्टरबाट पठाउने तयारी गरिसकेको जवाफ आएको छ ।' सरकारले निर्णय गर्न चासो नदिएकाले हुम्लीले खाद्यान्न पाउन नसकेको उनले बताए ।

'तत्काल विमानबाट ढुवानी नभए दसैंका लागि खाद्यान्न समस्या थप चर्कने छ,' उनले भने, 'राष्ट्रिय चाडमा भोकै बस्न विवश हुने हुम्लीलाई के भनेर चित्त बुझाउने ? माथि बस्नेहरू गम्भीर नभए शान्ति सुरक्षामा समेत बाधा हुने स्थिति छ ।' आर्थिक वर्षको बजेट नआउँदा यो वर्षको कोटा पनि निर्धारण हुन सकेको छैन । संस्थानले ढुवानीका लागि ठेक्का स्वीकृत भने गरिसकेको छ । संस्थानको शाखा कार्यालयका अनुसार जिल्लामा खाद्यान्न ढुवानी गर्ने ठेक्का सीता एयरले लिएको छ तर काम भने थालेको छैन । एयर काष्ठमण्डपले बेलाबखतमा ढुवानी गर्दै आएको छ । तर एकपल्टमा दस क्विन्टल मात्र यो जहाजबाट आउने खाद्यान्न विमानस्थलमै लुछाचुँडी हुन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks