काठमाडौ, आश्विन ९ - पर्यटन वर्ष सचिवालयले २०११ को प्रवर्द्धनका लागि विश्वकै सबैभन्दा होचा खगेन्द्र थापा मगरलाई 'गुडविल' राजदूत बनाएको छ । विभिन्न कारणले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा ढिलाइ भएकाले बाँकी रहेको समयमा विश्वका मान्छेको ध्यान नेपालतर्फ तान्न खगेन्द्रलाई चयन गरिएको हो । यसअघि सचिवालय र पर्यटन मन्त्रालयले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीलाई 'गुडविल' राजदूत बनाइसकेको छ । 'सबैभन्दा अग्लो शिखर सगरमाथा भएको देशबाट सबैभन्दा होचा व्यक्तिले तपाईलाई नेपालका निमन्त्रणा गर्दछ' भन्ने नारासहित उनलाई प्रवर्द्धनका लागि लगिनेछ ।
त्यस्तै मिस नेपाल सदिच्छा श्रेष्ठलाई २०११ को अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि ब्रान्ड एम्बेसडर बनाइएको छ । श्रेष्ठले मिस वल्र्डका लागि बेइजिङलगायत स्थानमा जाँदा पर्यटन वर्षको प्रचारप्रसार र नेपालबारे जानकारी दिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठले बताए । '२०१० को डिसेम्बरसम्म १२ वटा देशमा ब्रान्ड र गुडविल एम्बेसडरलाई लिएर अन्तर्राष्ट्रियस्तरमा हुने पर्यटन सम्बन्धी कार्यक्रममा भाग लिइने लक्ष्य छ,' उनले भने ।
विश्व पर्यटन दिवसमा विभिन्न छुट
विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते आउने पहिलो पर्यटकलाई विभिन्न छुट दिइने भएको छ । पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र होटललगायत सम्बद्ध सबै पर्यटकीय संघसंस्थाले संयुक्त रूपमा मनाउने कार्यक्रमअनुसार हवाईमार्गबाट आउने पर्यटकको सम्मान गरिनेछ । त्यस्तै होटलको शुल्कमा छुट दिनुका साथै विभिन्न पुरातात्त्विक स्थान प्रवेशमा समेत छुटको व्यवस्थ्ाा हुनेछ । स्थलमार्गबाट आउने पहिलो पर्यटकलाई एक दिनका लागि खाने/बस्न पूर्ण छुट हुने श्रेष्ठले जानकारी दिए । तारागाउँ विकास बोर्डका सदस्य होटलहरूले पर्यटकलाई खानमा २० प्रतिशत र अन्य शुल्कमा ६० प्रतिशत छुट दिने बताइएको छ ।
दिवसका अवसरमा ३४ संघसंस्थाले सेप्टेम्बर १७ (असोज १ गते) देखि नै कार्यक्रम गरिरहेका छन् । यसपटक दिवस 'पर्यटन र जैविक विविधता' को नारामा विश्वभरि मनाइँदै छ । होटल संघ नेपालका सदस्य होटलले दिवसका दिन लक्की ड्र गरी पाँच जना पर्यटकलाई ४ रातको निःशुल्क बस्ने सुविधा दिनेछ । त्यस्तै संघका सदस्य होटलले खानामा सबै पर्यटकलाई २५ प्रतिशत छुट दिने कार्यक्रममा जानकारी दिइयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks