Loving nepal news

Saturday, September 18, 2010

मातृ स्वास्थ्यमा नेपाल सम्मानित * आज न्युयोर्कमा पुरस्कार थाप्ने

महेश आचार्य

न्युयोर्क, आश्विन ३ - सहस्राब्दी विकास लक्ष्य प्राप्तितर्फ महत्त्वपूर्ण उपलब्धि हासिल गरेकोमा नेपाल यस वर्ष एमडीजी अवार्डबाट सम्मानित हुने भएको छ । मातृ स्वास्थ्य सुधारमा उदाहरणीय काम गरेको भन्दै नेपाललाई यस्तो अवार्ड प्रदान गर्न लागिएको हो ।

सहस्राब्दी विकास लक्ष्य -मिलेनियम डेभलपमेन्ट गोल(एमडीजी) ले निर्धारण गरेका विभिन्न आठ लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने सरकार, संस्था वा व्यक्तिलाई यस्तो अवार्ड प्रदान गरिन्छ । एमडीजीको लक्ष्य नम्बर ५ मा उल्लेख भएअनुसार सन् २०१५ भित्र मातृ मृत्युदर तीन चौथाइले घटाउनेतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाले नेपाल सम्मानित हुन लागेको हो । आइतबार न्युयोर्कस्थित बालडोर्फ एस्टोरिया होटलमा हुने विशेष कार्यक्रमबीच नेपाली अधिकारीहरूले उक्त अवार्ड थाप्नेछन् । कार्यक्रममा सहभागी हुन स्वास्थ्य सचिव सुधा शर्मा पनि न्युयोर्क आउँदै

छिन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा हाल प्रति एक लाखमा २ सय ३८ जना आमाले ज्यान गुमाउने गरेका छन् । सन् २००१ को तथ्यांकअनुसार उक्त दरप्रति एक लाखमा ५ सय ४० थियो । नेपालले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न उक्त संख्या २ सय १३ मा झार्नुपर्छ ।

राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि कार्यालयका अनुसार गर्भपतनलाई कानुनी मान्यता, सुरक्षित मातृत्व, दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई उत्प्रेरणा दिने तथा स्थानीय स्वास्थ्यकर्मी तथा सुडेनीलाई तालिम दिनेलगायत नेपालका कार्यक्रमलाई मातृ स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने महत्त्वपूर्ण कदमका रूपमा पहिचान गरिएको छ ।

यस्तै लंैगिक समानताको क्षेत्रमा सहस्राब्दी विकास लक्ष्य प्राप्तितर्फ महत्त्वपूर्ण कदम चालेको भन्दै बंगलादेशलाई पनि एमडीजी अवार्ड प्रदान गरिँदैछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks